ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।
आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।
रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् । बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया