सोमबार, वैशाख ८, २०८२

महोत्तरीमा घरमुलीलाई गोली हानी लुटपाट

मेरोन्यूज २०७८ जेठ २५ गते १५:५३

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चाररपाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।
राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले बताएको छ । लुटेराले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना, मङ्गलसूत्र–६ आना, सामसुङ्ग मोबाईल थान–२ र नगद रु २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।


यसैबीच प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताएको छ । रासस

प्रतिक्रिया