निषेधाज्ञामा यौनकर्मीको प्रश्न : जाने हो ?

काठमाडौंँ । देशभर फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गरेको ढेड महिना पुगेको छ । असार ७ सम्म निषेधाज्ञा घोषित छ । लामो समयसम्म निषेधाज्ञा लम्बिँदा त्यसको प्रत्यक्ष असर बिहान काम गरी बेलुकी छाक टार्नु पर्ने बाध्यतामा रहेकाहरूलाई परेको छ ।
दैनिक ज्याला मजदुरी गर्नेहरूलाई छाक टार्ने समस्या छ । सडकका विभिन्न पेटीमा सामाजिक संघ-संस्थाले कोही भोकै नपरुन भनेर खाना खुवाउँदै गरेको देखिन्छ । यो सडकमा साँझ-बिहान देखिने चित्र हो ।
तर, यही सडकका विभिन्न गल्लीहरूमा यौनकर्मीका आफ्नै कथा छन् । उनीहरू कोरोनाको जोखिम तथा निषेधाज्ञामा वेप्रवाह गर्दै यौनकर्ममा लागेको भेटिएका छन् ।
दृश्य १ :
गत बिहीबार रिपोटिङको क्रममा रत्नपार्क जाँदै गर्दा न्युरोड गेटमा प्रहरीको जाँच भइरहेको थियो । वीरेन्द्र सैनिक अस्पतालअगाडि केही सामाजिक संघ-संस्थाले मजदुरहरूका लागि खाना वितरण कार्यक्रम चलिरहेको थियो । त्यसैको केही मिटर अगाडिको दृश्य भने फरक थियो ।
हेर्दा, अलि पुरानो, पहेलो कुर्ता सुरवालमा निलो रंगको सलले अनुहार छोपेकी एक यौनकर्मी सडक पेटीमा उभिइरहेकी थिइन् । उनको छेउमा पुग्ने मानिसहरूलाई उनी एकटकले नियाल्थिन र भन्थिन्, ‘जाने हो ?’

खुल्ला मञ्च र टुँडिखेल सैनिक मञ्चको बिचमा एउटा गल्ली छ । त्यो गल्ली छिर्ने मुखमा अन्दाजी २०–२५ वर्ष उमेरकी एक युवती उभिरहेकी थिइन् । अलि पुरानो पहिरन थियो । पहेलो कुर्ता सुरवालमा निलो रंगको सलले आफ्नो अनुहार छोपेकी थिइन । बाटोमा हिड्ने पुरूषहरूलाई नियाल्दै थिइन् । उनको मुखमा अलि धेरै ‘मेकअप’ थियो । हिड्ने प्रायः पुरूषहरू उनीसँग केही बेर कुरा गरिराखेकै हुन्थे । यसै क्रममा कुरा बुझ्न मसँगै रहेका पुरूष साथी उनको नजिक पुगे ।
साथीबीच भएको संवादको केही अंश :
युवती : जाने हो ?
पुरूष : कहाँ जाने ?
युवती : बागबजार म नै हो, दैनिक जाने गेष्टहाउस छ ।
पुरूष : कति हो ?
युवती : दुई हजार मात्र ।
पुरूष : महँगो भएन ?
युवती : होटलको पनि त्यसैमा मिलाउँला नि !
पुरूष : अनि रोग लागेको त छैन नि ? कोरोना टेष्ट गरेको हो ?
युवती : छैन । डर लागे मुख छोपाैँला नि ।
पुरूष : रेट महँगो भयो ।
युवती : १५०० दिनु न त ।

उनीसँग केहीबेर कुरा गरेपछि मेरो साथीले धेरै बार्गेनिङ गर्न थालेको महसुस गरिन् । त्यसपछि उनले नजाने देखिएपछि हामीसँग तर्किदै गइन् ।
दृश्य २
त्यसपछि, हामी खुल्ला मञ्चबाट पुरानो बसपार्कतिर लाग्यौँ । पुरानो बसपार्क, हाल भ्यूटावर वरिपरिको वातावरण अलिक भिन्न थियो । हामी स्कुटर रोकेर वरिपरि निहाल्न थाल्यौँ । सडकपेटी हिँड्दै गर्दा १५ वर्षको उमेरदेखि अधबैँसे उमेरसम्मको यौनकर्मी समूहमा नै थिए । समूहमा बस्ने सबै यौनकर्मीले मास्क लगाएका थिए ।
हामी फोटो सञ्चारकर्मी भन्ने कुरा कतिले परबाटै थाहा पाएर भाग्दै थिए । कोही आफ्नै सुरमा ग्राहकको पर्खाइमा थिए । ग्राहकसँग कुराकानी तथा बार्गेनिङ भने सडकपेटी तथा बाइक छेउमा राखेर गरिराखेका हुन्थे ।

कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुनी सजायको प्रावधान छ । ठाउँठाउँमा जाँच गर्दै बिना काम हिड्नेहरूले सजाय पाइराखेका छन् । रिपोटिङ गर्दा प्रहरी बिट हामीबाट करिब सय मिटरको दुरीमा पनि थिएन । यौनकर्मीलाई ग्राहकसँगको मोलमोलार्ईमा कुनै छेकबार थिएन । प्रहरीकै आँगनअगाडि उनीहरू निर्धक्क मोलमोलाई गरिरहेका भेटिए ।
दृश्य ३
शुक्रबार साँझ पुनः हामी ६ बजे त्यही क्षेत्रमा हामी पुग्यौँ । अवस्था उस्तै थियो । दृश्यहरू उस्तै थिए । सधैँ जस्तो सोही ठाउँमा अन्दाजी उमेर ३० वर्षकी महिलासँग हाम्रो संवाद भयो ।

संवाद उस्तै थियो :
युवती : जाने हो ?
पुरूष : कति हो ?
युवती : १५ सय मात्रै ।
पुरूष : कता ?
युवती : बागबजार गेष्टहाउसमा ।
पुरूष : अनि, यो कोरोनामा किन काममा निस्केको ?
युवती : काम नगरी पेट कसरी पाल्नु ? कोरोनाको त डर लाग्दैन । यसरी काम गरिरहेको बानी परिसक्यो ।
पुरूष : विवाहित कि अविवाहित ?
युवती : विवाह त १४–१५ वर्षको उमेरमै भएको हो । एउटा छोरी पनि छिन् । गाउँमा आमासँग राखेको छु ।
पुरूष : अनि, श्रीमान ?
युवती : त्यही श्रीमानकै गतिले म यो पेशामा छु । सुरुमा होटलमा भाडा माझ्ने काम लगाएको थियो । श्रीमान आफै गायब भयो । त्यसपछि म यो पेशा गर्न बाध्य भएँ । न त पढाइँ थियो न त कुनै सिप । उनकै भरमा काठमाडाैँ बसेका थियाैँ ।
अन्तमा हामीले उनको कुरा धेरै खोतल्न थालेपछि उनी आफै हामीसँग टाढा भइन् ।


जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
प्रतिक्रिया