के एमाले एक ढिक्का होला त ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको अडानमा लचिलो बन्दै आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने प्रतिबद्धता व्यक्त गरे । तर उनले त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर खनाल–नेपाल समूहले फिर्ता लिनुपर्ने सर्त अगाडी सारे ।
नेपाल समुहकै दोस्रो तहका कतिपय नेताहरुसँगको अनौपचारिक छलफलका आधारमा ओलीले खनाल नेपाल समुहलाई सम्वोधनका लागि त्यस्तो प्रस्ताव अगाडी सारेको बताइएको थियो । तर नेपाल पक्षले ओलीको प्रस्तावमा सकारात्मक जवाफ दिएन ।
खनाल – नेपाल समूहले ओलीको वक्तब्य भ्रमपूर्ण भएको प्रतिक्रिया दियो । । खनाल-नेपाल समूहले गत वैशाख ७ र २६ गते आफूहरूले बुझाएको ६ बुँदे मागमा ओली गम्भीर नभएको आक्षेप लगाउँदै ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरू केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय देखिएको टिप्पणी गरेको छ ।
एमाले एकताका लागि भनेर हिडिरहेका बामदेव गौतमले पनि ओली र नेपाल समुहको धारणा सार्वजनिक गरेपछि मंगलबार आफ्नो धारणा सार्वजनिक गरे । उनले जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न गौतमले प्रस्ताव गरे । ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन गौतमले आग्रह गरे ।
ओलीको वक्तब्यमा २०७५ जेष्ठ ३ गतेपूर्व अवस्थामा फर्काउने भनेका छन् । नेपाल समुहले भाषा प्रष्ट नआएको भन्द्यै जेष्ठ २ मा फर्किनुपर्ने बताएको छ ।
एक दिनको अन्तरका कारण पनि एमालेभित्रको एकतामा ओली र खनाल – नेपालका आ–आफ्ना अडान देखिएका छन् । यसले ओलीको प्रस्तावमा पनि खनाल नेपाल समुह लचिलो देखिएका छैनन । ओली अझै एकतामा गम्भीर नभएको आक्षेप खनाल नेपाल समुहको छ ।
के छ , ०७५ जेठ २ र ३ मा फरक
सर्वोच्चले २३ फागुनमा नेकपाको एकता बदर गदै पूर्ववत अवस्थामा एमाले माओवादीलाई फर्काइदिएपछि खनाल नेपाल समुहले त्यसबेला देखि नै अव पार्टीलाई ०७५ जेष्ठ २ मा फर्काउनुपर्ने बताउँदै आएको छ ।
तर ओलीले त्यो मागलाई सुने / नसुनेझै गरेका थिए । पार्टी धेरै अगाडी बढिसकेकोले अव ०७५ जेष्ठ २ मा फर्किन नसक्ने भन्दै ओली समुहले आफु पक्षका नेताहरुको मात्र बैठक राखेर नवौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए ।
माओवादी छोडेर आएका रामवहादुर थापा (बादल) सहितका २३ नेतालाई आयोजक समितिमा मनोनित गरे । स्थायी समिति पनि त्यही अनुसार बनाए । नेपाल पक्षका नेताहरुका जिम्मेवारी पनि खोसियो ।
त्यसमा नेपाल पक्षले निरन्तर आपत्ति जनाउँदै आए । तर ओलीले त्यसलाई अटेर गरेरै अगाडी बढे । अहिले ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका छन् । यसलाइृ नेपाल पक्षले शंकाले हेरेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका डा राजन भट्टराईले जेठ ३ पूर्व भन्नु र जेठ २ भन्नु एउटै रहेकोले त्यसमा शंका गरिरहनु पर्ने विषय नै नभएको बताउँछन् । ‘प्रधानमन्त्रीको ६ बुद्धे प्रस्तावमा शंका गरिरहनु पर्ने अवस्था नै छैन । विषय सबै प्रष्ट छन्,’ डा भट्टराईले भने,–‘उहाँहरु खनाल ( नेपाल समुह) भित्र एमाले फुटाउनै पर्ने पक्षमा केही नेताहरु हुनुहुन्छ, उहाँहरुको अनेक तर्क छ, तर त्यहाभित्र पनि प्रधानमन्त्रीको अपिल पछि सकारात्मक भन्ने साथीहरु पनि हुनुहुन्छ ।’
ओलीले २०७५ जेठ २ भन्दा पनि नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका व्यक्तिहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भनेकोमा नेपाल पक्षको आपत्ति छ ।
नेपाल समुहको भनाईमा ओलीको यो अभिव्यक्ति
२०७५ जेठ ३ अवस्थामा माओवादी केन्द्रसँग एकता गर्दाका एमालेतर्फका २४१ र माओवादी छोडेर आएका २३ केन्द्रीय नेतासम्मको अर्थ लाग्ने बताउँदै आईरहेको छ । त्यसो गर्दा ओलीले आफनो समुहको वलियो उपस्थिती भएको कमिटि बनाउन चाहेको आरोप खनाल नेपाल पक्षको छ ।
खनाल नेपालपक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जेष्ठ २ र ३ गतेमा धेरै अन्तर भएको बताइन् । उनका अनुसार जेठ २ भनेको एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित भएर आएको कमिटी भएको र जेठ ३ भनेको एमाले माओवादी केन्द्र एकताहुँदाको जस्तै कमिटी हो ।
उनले ३ मा जाँदा माओवादीबाट आएका रामबहादुर बादल सहितका नेतालाई समेटेर बनाउन खोजेको बताइन् ।
तर ओली पक्षका नेता कर्ण थापाले भने नेपाल पक्षका नेताहरुको वुझाईमै अन्तर देखिएको बताए ।
‘जेष्ठ २ र जेष्ठ ३ पूर्व भन्नु एउटै होइन र रु’ नेता कर्णले भने, ‘उहाँहरु (खनाल नेपाल समुह) को वुझाईमै अन्तर देखिएको छ । ’
नेपाल समुहले भने नवौं महाधिवेशनले निर्वाचत गरेको २०३ जनाको केन्द्रीय कमिटिलाई भनेको छ । त्यसमध्ये एक जनाको निधन भएकोले अहिले २०२ जना रहेको कमिटिको कुरा गरेको हो । त्यसमा खनाल नेपाल पक्षका ९२ जना नेता थिए ।
तर जेष्ठ ३ पूर्व र नेकपा हुँदा एकता पक्षधर रहेको भन्दा माओवादी केन्द्रसँग एकता गर्दा थपिएका ४० नेतामा ८ जना मात्र नेपाल पक्षका रहेका र त्यसमा पनि ३ जना नेता ओली समुहमै लागिसकेका र माओवादी छोडेका २३ नेतासम्म समेटिने कुरा ओलीले गर्न खोजेको नेपाल पक्षको भनाई छ । त्यसलाई अहिले मानेर जान नसकिने खनाल नेपाल पक्षको भनाई छ ।
पटक –पटक वार्ता तर निस्कदैन निश्कर्ष
एमालेभित्रको विवादमा मिलाप खोज्ने उदेश्यले दुई पक्षका नेताहरुका वीचमा औपचारिक / अनौपचारिक बार्ता निरन्तर हुँदै आएका छन् । ओलीको ६ वुँदे प्रस्ताव र नेपाल पक्षको जवाफी प्रस्ताव पछि पनि अनौपचारिक रुपमा ओली पक्ष र खनाल नेपाल पक्षका दोस्रो तहका नेताहरुका वीचमा मंगलवार साझ कुपन्डोलस्थित होटल समिटमा वार्ता भयो ।
सुवास नेम्वाङ् , प्रदीप ज्ञवाली लगायतका ओली पक्षका नेता र गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेपाल पक्षका नेताका बीचमा मंगलवार पनि होटल समिटमा अनौपचारिक वार्ता भएको हो । तर ठोसमा निश्कर्ष निस्केको छैन ।
त्यसभन्दा अगाडी पनि होटल ‘र्याक एण्ड यति’ मा पनि दुई पक्षका युवा नेताहरुको मध्यरातसम्म समेत पार्टी विवाद मिलाउने प्रयास सहित औपचारिक बार्ता भएका हुन् । माधव नेपाल र प्रधानमन्त्री ओलीका वीचमा बैशाख अन्तिम साता वान टु वान बार्ता भएपछि दुवै पक्षका ५/ ५ जना रहेको कार्यदल पनि बन्यो । कार्यदल स्तरमा पनि छलफल भयो । तर निश्कर्ष निस्कन सकेको छैन ।
विवादले निश्कर्ष निस्कन नसक्दा एमाले उम्मेदवार रामबहादुर थापा र माधव नेपाल पक्षको असहयोगकै कारण निर्वाचनमा राष्ट्रि«य सभाको उपचुनावमा पराजित बने । लुम्विनी प्रदेशमा पनि त्यही रोग दोहोरियो ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा माओवादी मुख्यमन्त्री एमालेकै माधव नेपाल पक्षको सहयोगका कारण जोगिएका छन् । नेपाल पक्ष ओलीको चाहना विपरित माओवादीका मुख्यमन्त्रीको कुर्शी जोगाउन ढाल बनेर उभिईदिएका छन् । यसले पनि विवादलाई साघुर्याउने भन्दा झन टाढा – टाढा बनाउँदै लगेको छ ।
यस्तो छ दुईपक्षबीचको वार्ता श्रृंखला
वैशाख ८– ओली र नेता योगेश भट्टराई भेटवार्ता
वैशाख ९– ओली र माधव नेपालको भेटवार्ता
वैशाख २७– नेता नेपाल, सुवास नेम्वाङ र विष्णु पौडलबीचको वार्ता ।
वैशाख २७– ओली र नेपाल पक्षका नेताहरुको वार्ता ।
वैशाख ३०–ओली र नेपालको वार्ता ।
वैशाख ३१– ओली र नेपालपक्षबीचको वार्ता । वार्तामा ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ९बादल० र अर्थमन्त्री विष्णु पौडेल थिए भने नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी ।
वैशाख ३१–ओली र नेपालको वार्ता ।
जेठ १– ओली र नेपालको वार्ता ।
जेठ २–ओली र नेपालको वार्ता ।
जेठ २– एमाले भित्रको विवाद समाधानको प्रस्ताव तयार पार्न कार्यदल गठन
जेठ १७ गते– विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, नेपालप क्षका घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टबीचझण्डै ५ घण्टा भन्दा लामो समयसम्म छलफल ।
जेष्ठ २५ गते : सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका दोस्रो तहका नेताका वीचमा छलफल ।
अनौपचारिक सम्वाद पनि यसवीचमा धेरै पटक नेताहरुका वीचमा भईरहेको ।
अब हुन्छ के ?
ओलीले नेता नेपाल, खनाल , भीम रावल सहित ११ नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरिएको अवस्था छ । १२ अन्य थप नेतालाई स्पष्टीकरण सोधिएको छ । प्रदेश तहमा पनि अन्य कतिपय नेतालाई स्पष्टीकरण सोधिएको छ ।
तर स्पष्टीकरण सोधिएका नेतामाथी के गर्ने निर्णय ओलीले नलिदे अहिले एकताका लागि अपिल छ । ओलीको अपिलको जवाफ नेपाल पक्षले सकारात्मक रुपमा दिएन । यसले नेपाल समुहमा भने तरंग छ । नेपाल समुहमा यसले विभाजनको रेखा कोर्ने सम्भावना बढेर गएको नेताहरुकै तर्क सुनिन्छ ।
नेपाल पक्षका नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीले पार्टी एकताको लागि गरेको आह्वान राम्रो भएपनि त्यसमा झुटा र भ्रम छर्ने गरी आएको बताइन् । उनले भनिन्,–‘हामीले पटक पटक पार्टी एकताको लागि जोड दियौं । पार्टीलाई ०७५ जेठ २ को अवस्थामा लगे एकता हुन्छ, झुक्याउने मात्र गर्न खोजे हुदैन । हामी एमालेको एकता चहान्छौ । विभाजन, टुकराउन चाहदैनौँ । पार्टीमा रगत पसिना बगेको छ । यो पार्टी निमार्णको लागि जेल नेल खाएका छौं ।”
उनले पार्टीलाई चटक्क छोड्दा कस्तो पिडा होला ? भनेर प्रश्न गरेकी छिन् ।
ओली पक्षका नेता कर्ण थापाले पार्टी एकता नहुने भन्ने प्रश्न नै नरहेको बताए । उनले माधव नेपाल पक्षले पार्टीका विरुद्धमा सम्पूण गतिविधि गर्दा पनि पार्टी अध्यक्षका तर्फबाट नेकपा एमालेमा रहेका मान्छेलाई एमालेमा नै रहन अन्तिम प्रयत्न गरेको बताए । उनले पार्टी संवैधानिक र कानुनी रुपले पनि फुट्न नसक्ने भन्दै नेपाल समूह पार्टीबाट हट्ने काम गर्दै आएको बताए । उनले भने, “माधव नेपालका पछि मान्छे नजाउन भनेर अध्यक्षले हदैसम्म लचकता अपनाएर पार्टीको एकताको आह्वान गर्नु भएको हो । पार्टी एक ढिक्का रहन्छ । सुद्धिकरणको अभियान हुन्छ । पहिला एमालेको पदमा रहेका केही मान्छे पार्टीमा रहदैन ।”
राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार ओली आफ्नो समूहभित्रबाट नै घेराबन्दीमा पर्दै आएका छन् । उनले नेपाल पक्षमा रहेका योगश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेतालाई लगेर नेपाल समुह भित्र विभाजनको प्रयास ओलीले गरेको बताए ।
उनले भने, “नेपाल समूह छुटेर अर्को पार्टी गठन गरेर १०÷१५ वर्ष मेहनत गर्नुपर्ने भन्दापनि पार्टी भित्रबाट अन्र्तसंघष गरेर ओलीको बर्हिगमन गर्ने , पार्टीको चुनाव चिन्ह, झण्डाप्रति मोहो उनीहरुमा पनि देखिएको छ । पार्टीमा वैचारीक द्धन्द्ध नभई पदीय द्धन्द्ध भएकाले यो जे जस्तो भएपनि को पदमा रहने भन्ने कुरा हो । त्यसकारण यो त्यती ठुलो हो भन्ने लागदैन ।” उनले सबैले पार्टी एकतामा नै जोड दिएको बताए । ओली समूहपनि मथ्थर भएको, ओलीपक्षमा पनि अन्तरकलहभएकाले नेपाल समूहले सहज स्थितिको अनुमान गर्दै गएकाले पार्टी एक हुने उनले बताए ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया