बाँदर भुलाउन जंगलमा फलफूल खेती

तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले फलफूलका बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गरेका छन् । जङ्गलमा बाँदरको आहारा पाइन छाडेपछि त्यसको खोजीमा बाँदर मानव वस्ती छेउ आउने गरेका छन् । मानव वस्ती छेउमा आउन बाँदरले कृषकले उत्पादन गरेको खेतीबाली नष्ट गरिदिने गरेको छ । बाँदर आतङ्कका कारण यहाँका कृषक हैरान छन् ।
बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उनका अनुसार यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको प्रमुख रानाभाटको भनाइ छ । “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौं”, उनले भने ।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । “बुट्यान जङ्गलमा बाँदरले मन पराउने वर्षेनी उत्पादन हुने खालका बिरुवा लगाउन शुरु गरेका छौ, दुई तीन दिनमा सबै क्षेत्रमा बिरुवा रोपेर सकिन्छ,” उनले भने । उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिली लगायतका बिरुवा उत्पादन गरिनेछ । दुई तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । “म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो,” प्रमुख रानाभाटले भने, “विगतमा धेरै पटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।”
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले फलफूलका बिरुवा उत्पादन भएपछि सर्वसाधारणले बाँदर आतङ्कबाट मुक्ति पाउने बताउँदै फलफूलका बिरुवा रोपणका लागि गाउँपालिकाका तर्फबाट रु दश हजार सहयोगको प्रतिबद्धता व्यक्त गरे । स्थानीयवासी इन्द्र अधिकारीले फलफूल खेतीले बाँदर आतङ्क न्यूनीकरणका साथै आयआर्जन पनि गर्न सकिने बताए ।
उमाचोक सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर नआउने भएकाले फलफूलका बिरुवा रोपिएको जानकारी दिए । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो,” श्रेष्ठले भने, “फलफूल खेतीले बाँदर आतङ्कबाट छुटकारा पाइएला भन्ने आशा छ ।” कृष्ण न्यौपाने रासस


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया