रोपिसकेको खेत बगरमा परिणत, किसान भन्छन् – ‘फेरि रोपाइँ गर्न न बीउ छ, न त खेत नै’

दमौली । अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् ।
असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताए । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उनले जानकारी दिए ।
धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उनले भने, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी २० हजारभन्दा बढी खर्च भएको उनले बताए ।
उत्पादन भएको धान बेचेर गुजारा टार्दै आएका भण्डारीले यस वर्ष आफैंलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गरे ।
खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमीन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका १०० बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।
अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताए । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ”, उनले भने ।
खोलाले कटान गरेको खेत बिगाएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । “अब धानको बीउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन”, उनले भने ।
उनका अनुसार रोपाइँमा करिब १० हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उनको खेत बगर बनेको छ ।
तटबन्ध तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रूपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार म्याग्दे, व्यासलगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ ।
मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
प्रतिक्रिया