बिहीबार, मंसिर ११, २०८२

लगातार घट्दै शेयर बजार

मेरोन्यूज २०७८ असार २३ गते १६:०९

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार नेप्से १६ दशमलब ९७ अंकले घटेर २ हजार ८ सय १ दशमलब १३ बिन्दूमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनमा शुन्य दशमलब ६ प्रतिशतले कम हो । गत महिना जेठ ३१ गते ३ हजार २५ बिन्दूमा पुगेको शेयर बजार त्यसयता निरन्तर ओरालो लागेको छ । बुधबार कुल २ सय २२ कम्पनीको ४६ हजार १ सय ८३ कारोबारबाट ४ अर्ब ५८ करोड ५८ लाख १ हजार ९ सय ७६ रुपैयाँबराबरको १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

यसैबिच, सरकारको बहुमत स्वामित्व रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा कर्मचारी सञ्चय कोषलगायतका अन्य संस्थापक संस्थानको स्वामित्व घट्ने भएको छ । सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले हकप्रद सेयरमा थप लगानी नगरेपछि एचआईडीसीएलमा उनीहरुको सेयर स्वामित्व घट्ने अवस्था आएको हो ।

यी संस्थाको अहिले एचआईडीसीएलमा ३० प्रतिशत स्वामित्व रहेको छ । हकप्रद सेयर नकिनेपछि उनीहरुको स्वामित्व १५ प्रतिशतमा झर्ने छ । सञ्चय कोष, लगानी कोष र बिमा संस्थाले हकप्रद सेयर नकिनेपछि बिक्री नभएको ३ करोड ३० लाख कित्ता लिलामीबाट बेच्ने एचआईडीसीएलले जनाएको छ । नेपाल धितोपत्र बोर्डसँग छलफल गरेर बाँकी सेयर बोलकबोलबाट बेच्ने उनले स्पष्टपारे । कम्पनीमा सञ्चय कोष, लगानी कोष र बिमा संस्थानले थप लगानी नगर्ने निर्णय गरेका छन ।

यस्तै सेयर बजारलाई प्रत्यक्ष असर पार्ने मौद्रिक नीतिले कस्तो दिशा लिन्छ भन्ने आम चासो रहँदा सेयर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेका छन् । मौद्रिक नीतिले सेयर बजारलाई नियन्त्रण गर्छ भन्ने अफवाह फैल्याएर बजारलाई घटाउने प्रयास भइरहेको लगानीकर्ता नवराज अधिकारी बताउँछन् ।

मौद्रिक नीतिले बजारलाई प्रभावित बनाउने आँकलन गर्न थालेसँगै नयाँ र साना लगानीकर्ता बढी आत्तिएका छन् । अब के हुने हो भन्ने अन्योलता पनि उनीहरुमा बढेको छ । सोही कारण बजार थप सुस्त हुन गएको हो ।
कर तिर्नुपर्ने, बैंकको साँवा र ब्याज भुक्तानीको दबाबले पनि बजारले सुस्त बनाउन सहयोग गरेको हो । लकडाउन सहज हुँदा पनि कतिपय आकलझुकल आउने लगानीकर्ता आफ्नै कामतिर लाग्दा कारोबार रकममा केही असर गरेको अनुमान गरिएको छ ।

सेयर बजार सकारात्मक हुन आम लगानीकर्ताको मनोबल सुधार हुनैपर्छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । बजार लामो समयदेखि सुस्त बन्दा सेयर मूल्य भने निकै सस्तो भइसकेको छ । सबल कम्पनीहरुको समेत भाउ निकै सस्तो भएकाले सर्वसाधारण लगानीकर्तालाई छानीरोजी किन्ने अवसर प्राप्त भएको छ । सस्तो भएका बेला किन्ने रणनीति बनाउने लगानीकर्तालाई यो राम्रो अवसर पनि हो ।

प्रतिक्रिया