बालविवाहका घटनामा आएन कमी

हेटौंडा । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ ।
वागमती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको छ ।
मन्त्रालयका अनुसार वागमती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ ।
सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
वागमती प्रदेशकै काठमाडौँमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या पनि उत्तिकै छ ।
बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन ।
सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अभिभावक समूहका अध्यक्ष हरिबहादुर प्रजा बन्दाबन्दीको समयमा बालबालिकाको अध्ययनभन्दा अन्यत्र ध्यान केन्द्रित हुने र सो अवधिमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम हुन नसक्दा बालविवाहका लागि बल पुगेको बताउँछन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ ।
उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ ।
वागमती प्रदेश सरकारले पनि प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरिसकेको अवस्था देखिन्छ ।
मकवानपुरमा बालविवाह रोक्नका लागि कार्यक्रम सञ्चालन गरिरहनुभएकी अस्मिता नेपालका अध्यक्ष आरती पाठकले बालविवाह रोक्नका लागि स्थानीय सरकारले बालविवाह रोकथामका लागि बनेका ऐन कानूनको विषयमा वडा–वडामा सुसूचित गराउनुपर्नेमा जोड दिए ।
उनका अनुसार बालबालिकालाई विद्यालयस्तरमा विषयगतरूपमा नै यसका बारेमा पढाइ हुनुपर्ने छ । एसइईपछि पनि उच्च शिक्षा साथै रोजगार वा स्वरोजगारको व्यवस्था गर्न सक्नुपर्ने अध्यक्ष पाठकको भनाइ छ ।
बालबालिका आफैंमा बालविवाह गलत हो भन्ने चेतना वृद्धि गर्नका लागि बाल क्लब, किशोरी समूहलगायतलाई सक्रिय बनाउँदै यस्ता गतिविधि भएका कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष पाठकको निष्कर्ष छ ।
मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न संघसंस्थाको पहलमा अभियान चलाउँदै आइएको छ ।
बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् ।
यता कम उमेरमा आमा भएका तथ्याङ्कहरुले पनि बालविवाह कायमै रहेको सङ्केत गरिरहेको छ । हेटौंडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन् ।
यो अवधिमा हेटौंडा अस्पतालमा आमा बनेका २५६ मध्ये २० वर्षभन्दा कम उमेरका ४५ जना छन् । तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको सङ्ख्या नौ छ ।
किशोरावस्थामै आमा बन्नेमध्ये अधिकांश मकवानपुरका छन् । अस्पतालको तथ्याङ्कअनुसार मकवानपुरका ४०, बाराका तीन र सर्लाहीका दुई जना किशोरावस्थामै आमा बनेका हुन् ।
कलिलै उमेरमा विवाह गर्ने किशोरी र उनीबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ ।
ग्रामीण भेगका मात्रै होइन, बजार क्षेत्रकै पनि धेरै किशोरीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । आमा बन्ने तथ्याङ्क हेर्दा पनि अवस्था फरक देखिँदैन ।
पछिल्लो डेढ महिनामा २० वर्ष नपुग्दै सन्तान जन्माउने सबैभन्दा बढी हेटौँडा उपमहानगरका २३ जना छन् । तीमध्ये छ जना दोस्रोपटक आमा बनेको अस्पतालले जनाएको छ ।
त्यसैगरी मकवानपुरगढीका पाँच, बकैया र मनहरिका तीन÷तीन, भीमफेदी र बागमती गाउँपालिकाका एक÷एक जना उमेर नपुग्दै आमा बनेका हुन् ।
हेटौंडा अस्पतालका महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ डा राघवेन्द्र ठाकुरका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहने गर्दछ ।
किशोरीको शारीरिक विकास नै हुने क्रममा रहेको अवस्थामा स्वयं आमा बन्दा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उनको भनाइ छ ।
कम उमेरमा गर्भवती हुनेको सन्तान जन्माउने, स्याहार गर्ने र अभिभावकत्व निर्वाह गर्ने कुनै योजना नै नहुने गरेको पाइएको महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ ठाकुरको भनाइ छ ।

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
प्रतिक्रिया