बुधबार, मंसिर ३, २०८२

एमालेको केन्द्रीय कमिटीको दशौं बैठक आज पनि, नेपाल समुहको छुट्टै भेला

मेरोन्यूज २०७८ साउन ६ गते ८:२३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा दिउँसो ३ बजे बस्ने बैठकमा यसअघि पेश भएका एजेन्डामाथि नै छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले केन्द्रीय कमिटीको दशौं बेठकका लागि विभिन्न ९ वटा एजेन्डा तय गरकेो छ । सोमबार पहिलो दिनको बैठकमा पार्टीको ह्वीप उलङ्घन गरी संसदमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यद्धपी हिजोको बैठकमा भने सो स्पष्टिकरणका बारेमा थप निर्णय हुने सकेन । २४ घण्टा नपुगको भन्दै थप निर्णय नभएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले केन्द्रीय कमिटीको दशौं बैठकका लागि समसामयिक विषयमा अध्यक्षको सम्वोधन, पार्टीमा उत्पन्न समस्या समाधानका सम्वन्धमा गठित कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन, अनुशासनहीन कार्यमा संलग्नहरुसँग स्पष्टिकरण, १० बुँदे कार्यान्वयनको सन्दर्भमा हालको अवस्था सम्वन्धी जानकारी भन्ने विषय छलफलको एजेन्डा बनाएको छ ।

यस्तै प्रदेशको पार्टी अवस्थाबारे संक्षिप्त जानकारी, सर्वोच्च अदालतको फैसला सम्वन्धी पार्टीको दृष्टिकोण, नेकपा एमाले नेतृत्वमा सञ्चालित सरकारको सम्वन्धमा पनि छलफल जारी छ ।

पार्टीको आगामी भूमिका अन्तर्गत राजनीतिक (प्रतिपक्ष/सत्तापक्ष भूमिका), संगठनात्मक (सदस्यता नविकरण, विधान महाधिवेशन र अधिवेशनहरु, जनसंगठन व्यवस्थापन), शुद्धिकरण अभियान, निर्वाचनको तयारी र विविध विषयमा छलफल हुँदै छ ।

यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठक सञ्चालन गरिरहँदा असन्तुष्ट माधव कुमार नेपाल समूहले भने छुट्टै भेला आयोजना गरेको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग मंगलबार छलफल गरेको नेपाल समूहले आज आफु निकटका केन्द्रीय सदस्य र सांसदसँग छलफल गर्दैछ । छलफल १२ बजे अर्याल होटलमा हुने नेपाल समुहका एक नेताले बताए ।

प्रतिक्रिया