बिहीबार, चैत २६, २०८२

गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो चार वटा भ्यान र एउटा बस

मेरोन्यूज २०७८ साउन ८ गते ७:५९

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गरे ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रहरीलाई चुस्तदुरुस्त, सङ्गठित र सक्षम बनाउन सबलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताए ।

उनले भने, “सरकारको सफलता र असफलताको आधारनै शान्ति सुव्यवस्था र सुशासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिवद्ध छ ।”

प्रहरी नायब महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रणलगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराएका थिए ।

उनले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहमा साधन स्रोतको अभाव रहेको उल्लेख गरे ।

प्रतिक्रिया