आइतबार, फागुन १७, २०८२

सर्लाहीमा २० करोड लगानीमा गाईपालन

मेरोन्यूज २०७८ साउन १५ गते १६:२०

सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गरेकी छन् । उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरेकी सिलवालले अहिले १५० गाई पालेकी छन् । जमिन आफैँले खरिद गरेर शुरुमा १० लाख लगानी गरेकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाएकी छन् । तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिइन् । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उनले बताइन्। उनका अनुसार गाईपालनमा जग्गासहित २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उनको भनाइ छ ।

सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खौली पेशा पण्डित्याइमा व्यस्त रहेका छन् । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खौली पेशा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उनको भनाइ छ । गाईपालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताए । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उनको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उनले बताइन् । फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उहाँले जानकारी दिइन् ।

“बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्नुहुन्छ”, सिलवालले भनिन्, “शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउनुहुन्छ ।” अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यकपर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यकपर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताइन् । गाईका लागि दैनिक करीब चार हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ । कम्पनीले उत्पादन गरेको साइलेज करीब ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवालले बताइन् ।

हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उनको भनाइ छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ । एक हजार गाई पाल्ने योजनाका साथ शुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । विभिन्न छ प्रजातिका गाई पालिएको फार्ममा एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दुध दिने गरेको सञ्चालकको भनाइ छ । फार्ममा पालिएका गाई नवलपरासी तथा वीरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन, जर्सी, जर्सी क्रस, साइवाल, गिर तथा हरियाणालगायतका प्रजातिका गाई हाल फार्ममा रहेका सञ्चालकले बताएका छन् ।

फार्ममा पशु सेवा प्राविधिकको समेत व्यवस्था गरिएको सञ्चालक सिलवालले बताइन् । फार्ममा दुई जनासहित पशु सेवा प्राविधिक २४सैँ घण्टा रहने गरेका छन् । अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फाराम भरे पनि अहिलेसम्म कोही पनि अनुगमन तथा निरीक्षणका लागि नआएको उनले बताइन् । गाईबाट कम्पोष्ट मल बनाउने र ग्यास प्लान्ट निर्माण गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिइन् । उनी अहिले दूधबाट मासिक करीब १० लाख ५० हजार रकम सङ्कलन गछिन् । सिलवालले विसं २०६८ देखि गाई फार्म शुरु गरेकी हुन् । अन्तरराष्ट्रिय मोडलमा शुरु गरिएको गाई फार्म थप व्यवस्थित पार्दै अन्य गाई फार्मको तुलनामा फरक र व्यवस्थित बनाउँदै लैजाने तयारी गरेको सिलवालले बताइन् ।

हाल उन्नत जातका गाई पालिएको भए पनि अबका केही समयपछि लोकल प्रजातिका गाई पनि पाल्ने उनको योजना छ । गाईपालन र गोठ सुधारका लागि सिलवालले दुई पशु सेवा प्राविधिक राखेर गाईको हेरचाह गर्ने गरेका छन् । आफ्नै गाईले जन्माएका बाच्छीबाट नै भोलिका दिनमा गाई फामलाई थप व्यवस्थित पार्दै लैजाने योजना रहेको सञ्चालक सिलवालले बताइन्। रासस

प्रतिक्रिया