बुधबार, फागुन २०, २०८२

अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले कोरोना जाँच्ने सामान दिँदैन

मेरोन्यूज २०७८ साउन १९ गते १३:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का शंकास्पद र आकस्मिक उपचार गर्नु पर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपुर अस्पताल’लाई सरकारले उपलब्ध गराउनु पर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् ।

जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनु परेको उनको भनाइ छ । उनले दुई हजार रुपैयाँ पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताइन् । अस्पतालले अहिलेसम्म पिसिआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ ।

अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पतालाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनु पर्ने भए विगतमा पटकपटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो ।

स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उनले बताइन् । अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गरे ।

अस्पतालले कोरोनाका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पिसिआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको मेसु गौतमले बताइन् । अस्पतालले अहिलेसम्म १४ हजार ८७६ को पिसिआर परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया