गिरी र मीन दाजुभाइको लोभलाग्दो उद्यम

गलकोट । बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् ।
यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्किएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए ।
मीन रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए । विसं २०६८ मा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे ।
फर्निचर उद्योग स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँ सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी–पिसानी मिलसमेत छ ।
दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन बताउँछन् ।
“सुरुमा हामी दुवै शिक्षक थियौं, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेसा गर्दै आए, उहाँ गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौं भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म बिहान–बेलुका समय दिन्छु”, उनले भने, “बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौं, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौं ।”
अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक तीनदेखि चार लाख कमाउने गरेको गिरीले बताए ।
“फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौं तर अहिले बँदेल र बङ्गुर व्यावसायिकरूपमा पालेका छौं”, उनले भने, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ, अहिले थोरै भए पनि वार्षिक १०/१२ लाखको कारोबार हुँदै आएको छ ।”
दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् ।
अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री भएको छ । फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ ।
मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाद्वय बताउँछन् । उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ ।
कुटानी–पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको दाजुभाइको भनाइ छ । त्यसबाहेक फर्निचरमा दुईजना युवाले रोजगारीसमेत पाएका छन् ।
बङ्गुरको मासुका लागि ४०० रुपैयाँ प्रतिकेजी र पाठापाठीलाई पाँच हजारमा बिक्री गर्दै आएका उनीहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर ल्याएर पाल्दै आएका छन् ।
बङ्गुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री गर्ने गरेको गिरीको भनाइ छ । बँदेलको मासु प्रतिकेजी ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई छ हजारमा बिक्री गर्दै आएका छन् ।
दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया