शनिबार, माघ १२, २०८१

ट्याक्सी ड्राइभरको कथा

‘मोडर्न हुनु पर्छ, पुरानो मान्यताले जीवन चल्दैन’

नरेन्द्र रौले २०७८ साउन २५ गते १४:४९

लमजुङ मध्य नेपाल नगरपालिका १ का विष्णु पौडेलले ट्याक्सी चलाउन थालेको २० वर्ष भयो । ०४५ सालमा मंगला उच्च मावि सोती पसलबाट एसएलसी दिएका पौडेल तेस्रो डिभिजनमा पास भए ।

Advertisement

उनलाई गणित सबैभन्दा सजिलो विषय लाग्थ्यो । गणितमा ७० नम्बर आयो । अंग्रेजीमा २८ नम्बर मात्र आयो । ४ नम्बर ग्रेस दिएपछि पास भए । एसएलसी दिँदा दिँदै २ महिना आफ्नै स्कुलमा पढाए । पढाईमा राम्रो गर्न पाएनन्, किनकी बिहान बेलुका घाँस काट्दै पढ्नु पथ्र्यो ।

एसएलसीपछि पौडेल थप अध्ययन गर्न पोखराको राष्ट्रिय उमाविमा भर्ना भए । अंग्रेजी विषयमा फेल भए । त्यही पीडाले परीक्षा दिएनन् । त्यसपछि उनी फर्केर कलेज गएनन् । तर, अरु विषय राम्रो नम्बर आएको थियो ।

उडे कतार

०५० साल वैशाख २७ गते । पूर्णिमाको दिन । उनी कतार उडे । ठ्याक्कै मिति याद छैन, उनलाई ।

‘जीवनको महत्वपूर्ण अंश कहाँ बिर्सन सकिन्छ र ?’ मनमा एक प्रकारको उल्लास थियो । उनले हाँस्दै भने, ‘त्यो पहिलो विदेश यात्रा ।’

घरको आर्थिक अवस्थाका कारण विष्णु विदेसिएका थिए । त्यसमा थोरै आफ्नो रहर, बढी बाध्यता थियो ।

सात वर्ष कतारमा संघर्षका दिन गुजारे । कतार एग्रिकल्चर प्रोडक्सन कम्पनीको ग्रिन हाउस प्रोजेक्ट थियो । यसले काँक्रा, टमाटर उत्पादन गथ्र्यो । यसै कम्पनीमा काम गरे ।

कम्पनीले आफ्नै पैसामा ड्राइभिङ्ग लाइसेन्स निकालिदियो । विष्णुको खर्च लागेन । तीन वर्ष कम्पनीको गाडी चलाए । कतारमा लाइसेन्स लिन यहाँ जस्तो गार्‍हो भएन । गाडी चलाउन कठिन छैन ।

‘आफ्नो लेनमा हिँडेपछि, लेन अनुशासन मानेपछि सवारी चलाउन गार्‍हो हुन्न,’ विष्णु भन्छन्, ‘लेन मिच्ने हो भने ५ हजार रुपैयाँ जरिवाना तिर्नु पर्छ, हरेक क्षेत्रमा अनुशासन चाहिन्छ नै ।’

कतारमा विष्णुको पहिलो कमाई ६ सय रियल थियो । ड्राइभिङ गर्न जान्ने भएपछि तलब १ हजार रियल (२७ हजार रुपंयाँ) पुग्यो । यता घर खर्च राम्ररी चल्न थाल्यो । एक वर्ष जति कम्पनीमा गाडी चलाए ।

कम्पनीको एरिया यति ठूलो हुन्थ्यो कि लम्बाई नै ७ किलोमिटर । ग्रिन हाउसभित्र गाडी छिराउनु पथ्र्यो । गाडी चलाउन हात बसिसकेको थियो । त्यसैले लाइसेन्स निकाल्न गार्‍हो भएन । कम्पनीले उत्पादन गरेका सामानहरु बजारसम्म पुर्‍याउने काम गर्थे, उनी ।

दैनिक ८ घन्टा खट्थे । ओभर टाइमको बेग्लै पैसा आउँथ्यो । कतारपछि अरु देश जान मन लागेन । सिकेको सीप आफ्नै देशमा प्रयोग गर्न मन लाग्यो, उनलाई ।

कतारबाट फर्केर

सात वर्ष लामो कतार यात्रालाई टुंग्याउँदै स्वदेश फिरे । ०५८ सालदेखि उनी निरन्तर ट्याक्सी चालकको काम गर्दै आएका छन् । कतारमा बस्दा अन्तिम वर्षको कमाईबाट उनले ट्याक्सी किने ।

त्यो बेला टोयोटाको ट्याक्सी २ लाख रुपैयाँमा किनेका थिए । पछि त्यो बेचेर सन् २०१५ मा हुन्डाइ यियोन किने ।

लकडाउनको ४ महिनाअगाडि २० लाख ७० हजार रुपैयाँमा किनेको यही ट्याक्सीकै भरमा उनले परिवार पालिरहेका छन् ।

विष्णु ०६४ सालदेखि काठमाडौँमा नियमित ट्याक्सी चलाउन थाले । योभन्दा अगाडि उनी पोखरामा ट्याक्सी चलाउथे । बिहान ६ देखि राति ९ बजेसम्म उनको दैनिकी उस्तै छ । ‘मलाई थकानको महशुस हुँदैन, उनी भन्छन्, ‘सधैँ एउटै काम, रुटिनमा भएपछि थाकिदैन ।’

पठाओले आम्दानी बढ्यो

विष्णु गत चैत १ गतेदेखि पठाओमा जोडिए । ४ दिनमा २० ट्रिप गरेपछि हजार रुपैयाँ बोनस खान पाइन्थ्यो । ‘हामी अब अलि मोडर्न हुनुपर्छ, पुरानो मान्यताले जीवन चल्दैन,’ उनी भन्छन् ।

ग्राहकलाई भगवानका रुपमा लिन्छन्, उनी । आफूले राम्रो व्यवहार गर्दा अर्को चोटी ग्राहक खोजी खोजी आउनेमा ढुक्क छन्, उनी । ‘हामीलाई ग्राहक चाहिएको हो,’ उनी भन्छन्, ‘जमाना र समय अनुसार चल्नु पर्छ ।’

ट्याक्सीमा मिटरको १४ रुपैयाँ छ । पठाओको न्युनतम १ सय ५० रुपैयाँ छ । पठाओले १५ प्रतिशत राखेर ८५ प्रतिशत चालकलाइ दिन्छ ।

पठाओमा जोडिएपछि उनको कमाई बढेको छ । दैनिक ३–४ हजार कमाई गरेका उनी ५ हजार रुपैयाँभन्दा बढी कमाइए गर्दै आएका छन् ।

‘हामीले बल्छि थापेका हौँ,’ विष्णु भन्छन्, ‘कहिले पर्छ, कहिले पर्दैन ।’

जाँदै गर्दा…

विष्णुले जाँदाजाँदै पठाओलाई केही सुझाव दिए । कसैले सवारी बुक गरेपछि कुनै बेला रिङ टोन सुनिदैन । पठाओले तीन वटा राइड उठाएन भने १० मिनेट सस्पेन्ड राख्छ । त्यो कुरा उनलाई चित्त बुझेको छैन । त्यो सुधार गर्न उनी सल्लाह दिन्छन् ।

‘कुनैबेला राइड क्यान्सिल भएपछि मात्र रिङ टोन बज्छ । यस्तो प्राविधिक समस्या बेहोर्नु परेको छ । इन्टरनेट छिटो हुँदैन । त्यसमा अलि विचार पु¥याए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन् ।

ड्राइभिङप्रति उनको बेग्लै प्रेम छ । दसैँमा एकै दिन १० हजार रुपैयाँसम्म कमाई गरेका छन्, उनले । बाँकी जीवन यसै पेशालाई निरन्तर दिने उनको चाहना छ ।

प्रतिक्रिया