उज्यालो भित्र्याउने अभियन्ता
१० महिना २७ दिनपछि विधुत प्राधिकरणमा यसरी फर्किए कुलमान
कुलमान घिसिङले नै भने : आज म पदबहाली गर्दैछु
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्ति गरेको छ । घिसिङ १० महिना २७ दिनपछि फेरि विदुत प्राधिकरणकै कार्यकारिणी निर्देशकको जिम्मेवारीमा फर्किएका हुन् ।
२०७७ भदौ २९ गतेदेखि अहिलेसम्म कुनै संस्थामा आबद्ध नभएका घिसिङलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि ४ वर्ष सोहि पदमा कार्य गर्दा उनले चामत्कारिक र आक्रामक काम गर्दै ‘उज्यालो साँझ’ (१८ घण्टा लामो लोडसेडिङको अन्धकारयुक्त दैनिकीको अन्त्य) बनाएका थिए । जसकाकारण पनि उनी लोडसेडिङले वाक्वदिक्क भएका नेपालीहरुको ढुकढुकी बन्न सफल भएका थिए ।
तर उनलाई अघिल्लो केपी ओली नेतृत्वको सरकारले पूनः नियुक्तिका लागि अवसर दिएको थिएन । उर्जामन्त्रालयले प्रस्ताव लगेपनि त्यसवेला प्रधानमन्त्री रहेका ओलीले नरुचाएका कारण कुलमानको पूननियुक्ति रोकिएको थियो । तर अहिले ओली नेतृत्वको सरकार हटेर कांग्रेस माओवादी लगायतका राजनीतिक दलको गठबन्धन सरकार बनेपछि उर्जामन्त्री रहेकी पम्फा भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पून नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेकी थिइन ।
सोमबार मन्त्रीपरिषद्को बैठकले घिसिङलाई नियुक्तिको निर्णय गरेपनि त्यसलाई सार्वजनिक नगरी लुकाएर राखिएको थियो ।
घिसिङले मंगलवार सिंहदरवारस्थित उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा पुगेर नियुक्तिको पत्र वुझेर हिडिसकेका छन् । उनले आजै पदवाहाली गर्न लागेका छन् । यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यले प्राधिकरणबाट हिजै (मंगलबार) बिदा लिइसकेका छन्।
तमसोमा ज्योतिगर्मय कुलमान
तमसोमा ज्योतिगर्मय भन्नाले अध्यारोबाट उज्यालोको प्रस्थान भन्ने अर्थ हुन्छ । काठमाण्डौ आएर बिजुली देखेका कुलमानले उज्यालो सबैतिर लैजाने अठोट गरेका थिए सानैमा । विद्युत प्राधिकरणकै कार्यकारी निर्देशक भएपछि उनले आफनो सानै देखिको अठोट पूरा मात्र गरेनन, अन्धमुष्ठीमा बस्नुपरेका काठमाडौंबासी र अन्य भूभागका जनतालाई लोडसेडिङ मुक्त गराएर एनी एकाएक चर्चामा आए ।
चिलिमेवाट तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीले प्राधिकरणमा तानेर जिम्मेवारी समेत नदिईकन थन्काईएका घिसिङलाई त्यसवेला पनि माओवादी केन्द्रका नेता जर्नादन शर्मा उर्जामन्त्री हुँदा प्राधिकरणको कार्यकारी निर्देशको जिम्मेवारी दिने प्रस्ताव मनित्रपरिषद्मा लगेर निर्णय गराएका थिए । त्यसवेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री थिए ।
प्राधिकरणले अब विद्युत खपत बढाउन विद्युतीय गाडी, विद्युतीय चुल्हो, सिँचाइ, कृषिजन्य वस्तुको शीत भण्डारण, रसायनिक मल फ्याक्ट्री, डाटा सेन्टर औद्योगिक क्षेत्रको विद्युतीकरणलाई प्राथमिकतामा राखेर पूर्वाधार बनाइरहेको छ । देशभरमा ५० वटा चार्जिङ स्टेसन राख्ने प्रक्रिया अघि बढेको छ ।
तामाकोशी ५ (९९ मेगावाट) र दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट) को विस्तृत डिजाइन सकेर स्रोत व्यवस्थापनको काम हुँदैछ । माथिल्लो अरुण (एक हजार ६० मेगावाट) को सम्भाव्यता अध्ययन पुरा हुने चरणमा छ । अपर मोदी ‘ए’ र अपर मोदी गरी ६० मेगावाट र चैनपुर सेती जलविद्युत आयोजना (२१० मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत डिजाइनको लागि परामर्शदाता छनोट गरिँदैछ ।
प्राधिकरणले छुट्टै डाटा सेन्टर स्थापना गरी हरेक सबस्टेसन र विद्युत् गृहलाई स्वचालितरुपमा सञ्चालन गर्न सक्ने बनाउन लागेको छ । देशभरका ग्रिड एसेटको व्यवस्थापनका लागि एसेस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गर्न प्रक्रिया अघि बढेको छ ।
प्रणालीलाई अटोमेसन र संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्रथमिकता दिने प्राधिकरणको नीति छ । ‘डिजिटल एनईए’ अवधारणाअनुरुप प्राधिकरणका हरेक पक्षलाई अनलाइन प्रविधिमा रुपान्तरण गर्ने काम अघि बढेको छ । अब इन्टरप्राइजेज रिसोर्स प्लानिङ, एकीकृत बिलिङ र आय संकलन प्रणाली लागू गर्ने योजना छ । जुन १० महिनामा सुस्त गतिमा छन् ।
तर उज्यालोका पर्याय घिसिङलाई धेरै नेपालीले धेरै नामले पुकार्छन् । एकछिन विद्युत आपूर्ति बन्द भएमा ‘कुलमान दाइ जानुभयो’ भन्ने नारा सहित सम्मान पाएका घिसिङको पर्नूनियुक्तिले भने फेरि एकपटक विद्युत प्राधिकरणमा नयाँ हुने आशा जनताले लिएका छन् ।
प्राधिकरणमा फेरि कुलमान नै किन ?
प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारिणी निर्देशकका रुपमा काम गरिरहेका थिए । तर सरकारले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गरिरहादा शाक्यलाई पनि प्राधिकरणभित्रै स्थान दिएको छ । शाक्यलाई कार्यकारी निर्देशकबाट जिम्मेवारी खोसेर फेरि कुलमानलाई नै ल्याएपछि कतिपयले उनलाई नै किन फेरि ल्याउनुप¥यो भन्ने प्रश्न पनि उठाएका छन् ।
तर विधुतको चुवाहट वढन थालेको बेला कुशल ब्यपस्थापक वाट मात्र कार्यसम्पादन गर्नु राम्रो हुने भन्दै उर्जामन्त्री भूसालले कुलमान लाई फेरि दोहाराउने प्रस्ताव प्रधानमन्त्री शेरवहादुर देउवासमक्ष राखेकी थिइन । देउवाले पनि घिसिङलाई ल्याउन ग्रिन सिग्नल दिएपछि भुसालले सोमबारको क्याविनेट बैठकमा प्रस्ताव लगेकी थिइन् । प्रस्ताव लाँदा उनले प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई पनि सम्मानजनक हुने गरी सेवा सुविधा पहलिे पाउँदै आएकोमा कुनै कटौती नहुने गरी अर्काे स्थानमा जिम्मेवारी दिने गरी प्रस्ताव लगेकी थिइन् ।
विधुतको चुवहावट बढेर पछिल्ला दिनमा १७ प्रतिशतमा पुगेको थियो । जवकी प्राधिकरणले १४ दशमलव ५ मा सिमित गर्ने योजना बनाएको थियो । प्राधिकरणको खुद नाफा पनि कुलमान रहँदा भन्दा अहिले घटेको थियो । ट्रान्समिसन लाइनहरु निर्माण गर्ने लक्ष्य राखिएपनि त्यसअनुसारको काम गर्न शाक्य चुकिरहेका थिए ।
ट्रान्समिसन लाइन बनाउन नसक्दा नेपालमा उत्पादित विधुत खेर जाने र छिमेकी मुलुक भारतबाट भने चर्काे मूल्यमा विधुत खरिद गरेर ल्याउनु पर्ने अवस्था निम्तेको थियो । त्यसैगरी शाक्यको ब्यवस्थापकिय क्षमतामा पनि गम्भिर प्रश्न उठदै आएको थियो । त्यही वेला मन्त्री भुसालले प्राधिकरणको सुधारका लागि घिसिङको फेरि एकपटक आवश्यकता ठानेर प्राधिकरणमा ल्याउने निधोमा पुगेकी थिइन ।
त्यसपछि घिसिङको प्राधिकरणको सिइयो दोहोरिने अवस्था निम्तेको हो ।
२०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । त्यसकाम कुलमान घिसिङ विधुत प्रँधिकरणको कार्यकारी निर्देशक भएका बेला सम्भव भएको हो ।
उनी यस अगाडी प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा घाटा होइन, प्राधिकरणको मुनाफा नै करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता घिसिङ कार्यकारी निर्देशक हुँदा नै पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।
रुन्चे कुलमान !
यसअघि प्राधिकरणमा चार वर्षे अवधि पूरा गरेर फेरी नियुक्त पाएका घिसिङका केही स्वभाव भने रुन्चे खालका छन् । काठमाडौंमा लोडसेडिङ हटेको घोषणा गरेलगत्तै उनी एलईडी बल्ब खरिदको विवादमा मुछिन पुगेका थिए । त्यससम्बधि समाचार आउँदा पत्रकार सम्मेलनमा रोएर आफ्नो गल्ती नभएको प्रष्टिकरण उनले दिएका थिए ।
उनले पत्रकार सम्मेलनमै रोएर सबैलाई आफूतिर तान्न खोजेका थिए । भारतको सरकारी कम्पनीबाट एलईडी बल्ब खरिद गरेर बाँड्ने र हिँउदमा बिजुली खपत घटाएर आपूर्ति सहज गर्ने उनको योजना विवादमा परेको थियो । मन्त्रिपरिषदबाट निर्णय गरेर जीटुजी प्रक्रियाबाट एलईडी खरिद गर्न लाग्दा कमिसन खान लागेको आरोप लागेपछि कुलमानले भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिएर मर्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
उनी डेडिकेटेड र ट्रंकलाइन विवादमा केही उद्योगीहरुसँग आमने–सामने हनुपरेको थियो । उनी प्राधिकरणमा नआउँदै सुरु भएको प्रिमियम दरको डेडिकेटेड लाइनको महसुल तिर्न उद्योगीले अस्वीकार गरिरहेका थिए, त्यसबखत पनि रोएर आकर्षित गरे । यसैगरी, परियोजनामा भएका अप्ठ्यारा फुकाउन फिल्डमा नै जाने घिसिङको कार्यशैलीका कारण पनि उनी कतिपय मुद्दामा मुछिन पुगे । नुवाकोटको पैरीबेंसीमा बनिरहेको सबस्टेसनमा अवरोध हटाउन पुग्दा उनले स्थानीय नेता तथा दलका कार्यकर्तासँग वादविवाद गरे । कतिपयले घिसिङको यस्तो शैलीको विरोध गर्दा ऊनी रोए ।
कर्मचारी संगठनहरुको विरोध कुलमानले सुरुदेखि नै सामना गर्नुपरेको थियो । प्राधिकरणमा वर्षौंदेखि हुन नसकिरहेको नियमित सरुवाको क्रम सुरु गर्दा उनी विवादमा तानिए । मिलेमतोमा आफैंले ग्राहकको मिटर बिगारेर कमाउ धन्दा चलाइरहेका कर्मचारीको जालो भत्काउन खोज्दा उनलाई कर्मचारीवाटै त्यसवेला असहयोग थियो । त्यसबेला पनि कर्मचारीसँग रुदै मलाई काम गर्न दिनुस् मैले गर्ने सहयोग गर्छु भनेपछि कर्मचारीले उनको समर्थन गरेका थिए ।
को हुन् कुलमान ?
जन्मः २०२७ मंसिर १० गते बुधबार
जन्म स्थानः रामेछापको दुर्गम गाउँ बेथाम
शिक्षाः कक्षा ५ सम्म बेथामकै विद्यालयमा । ५ पासपछि दाजुहरुसँग काठमाण्डौं आइ बालसेवा माध्यमिक विद्यालयमा अध्ययन । एसएलसी अमर आस बोर्डिङ स्कूलबाट । ठमेलस्थित लेखनाथ मार्गको अस्कल क्याम्पसबाट आइएससी । छात्रवृत्तिमा भारतको जस्मेदपुरबाट विद्युतिय इन्जिनियरिङ । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एमई (मास्र्टस अफ इन्जिनियरिङ) इन्डिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्टमा थेसिस । पोखरा विश्वविद्यालयबाट इएमबिए (एक्च्युकेटिभ मास्र्टस अफ बिजनेश म्यानेजमेन्ट) ।
पेशाः २०५१ सालमा भारतबाट इन्जिनियरिङ सकेपछि, नेपाल फिर्ता । त्यहि वर्ष विद्युत प्राधिकरणमा सातौ तहको इन्जिनियर ।
रसुवाको चिलिमे हाइड्रोपावरको चिलिमे जलविद्युत कम्पनीमा २०६७ साउनदेखि २०७१ असारसम्म ४ वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी ।
२०७३ भदौ २९ गतेदेखि २०७७ भदौ २९ सम्म विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ।
२०७७ भदौ २९ देखि हालसम्म स्वअध्ययनमा व्यस्त ।
जल तथा ऊर्जा आयोगमा शाक्य
वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ । त्यहाँ रहँदा उनले अहिले विधुत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पाएको सेवा सुविधा नै पाउने गरी सरुवा गरेर पठाईएको उर्जा मन्त्रालय स्रोतले बताएको छ ।
शाक्यले यस अगाडीको सरकारले आफूलाई ४ वर्षका लागि नियुक्ति दिएकोले सरकारले अन्य उपयुक्त कुनै जिम्मेवारी दिए राजीनामा दिन तयार रहेको बताएका थिए ।
मन्त्रिपरिषदको बैठकले कुलमानलाई कार्यकारी निर्देशक र शाक्यलाई ऊर्जा आयोगमा राख्ने निर्णय गरेको हो ।
किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया