कांग्रेस १४औं महाधिवेशन सार्ने तयारीमा, आज केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनको तयारी, विवादित विषय निरुपण लगायत एजेन्डामा छलफल हुने कांग्रेसले जनाएको छ । यस्तै बैठकमा महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदन लगायत विषयमा छलफल हुने कार्यालयसचिव प्रेम केसीले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पेश गरिने एजेन्डाका विषयमा साझा धारणा बनाउन बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजी निवासमा बुधबार बेलुका अबेरसम्म कांग्रेस शीर्ष नेताको बैठक बसेको थियो ।
उक्त बैठकमा शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । उक्त बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।
यद्धपी महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव आएको थियो । दुबै पष आ–आफ्नो प्रस्तावमा अडिग भएका छन् ।
देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।
तर, वरिष्ठ नेता पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए ।पौडेल विधानमा भएको व्.यवस्थालाई हेला गर्न र संविधानमा भएको व्यवस्थालाई उपेक्षा गर्न नहुने बताएका थिए ।
अघिल्लो वर्षको फागुनमा नै गर्नुपर्ने महाधिवेशन कांग्रेसले विधानमा भएको व्यवस्था अनुसार उक वर्ष पछि सारेको थियो । त्यसपछि पनि गत फागुनमा नै गर्नुपर्ने महाधिवेशन कांग्रेसले संविधानको व्यवस्था अनुसार ६ महिना सारेको हो ।
उक्त व्यवस्था अनुसार पनि आगामी भदौमा महाधिवेशन गरिसक्नुपर्ने थियो । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय भएपनि क्रियाशील सदस्यको विवाद निरुपण हुन नसक्दा प्रभावित भएको छ ।
संस्थापन र इतर पक्षबीच कसको पक्षका बढी कार्यकर्तालाई सदस्यता दिने भन्ने विवादले महाधिवेशन प्रभावित भएको हो । अधिकांश जिल्लाको क्रियाशील सदस्यता टुङ्गिए पनि केही जिल्लाको अझै बाँकी छ ।
नेता रमेश लेखक नेतृत्वको समितिले पनि ती जिल्लाको क्रियाशील विवाद टुङ्ग्याउन सकेको छैन । तल्लो तहका अधिवेशन प्रभावित भएसँगै महाधिवेशन पनि प्रभावित भएको हो ।
क्रियाशील सदस्यताको विवाद नटुङ्गिएकाले कांग्रेसले अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत समेत तोक्न सकेको छैन ।
प्रतिक्रिया