कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, थप सदस्यले धारणा राख्ने
काठमाडौं । पार्टीको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहान ११ बजे बस्ने बैठकमा बिहीबारकै एजेन्डामा छलफल केन्द्रीत हुने कांग्रेसले जनाएको छ । बिहीबार बोल्न बाँकी सदस्यले आज धारणा राख्ने नेता धनराज गुरुङले जानकारी दिए ।
बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए । बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याण कुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए ।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४ औँ महाधिवेशन पार्टीको क्रियाशील सदस्यता संख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
यसैबीच नेता गुरुङले पार्टीका शीर्ष नेताकै कारण १४ औँ महाधिवेशन अन्योलमा परेको आरोप लगाएका छन । कार्यविधि र नेताको शैलीका कारण क्रियाशील सदस्यतासम्बन्धी विवाद निरुपण हुन नसकेको उनको भनाई छ । महाधिवेशन गराउने इच्छा शक्ति भए क्रियाशील सदस्यता सम्बन्धी विवाद भएका निकायलाई बाहिर राखेर पनि प्रक्रिया अघि बढाउन सकिने गुरुङले बताए ।
मेरोन्यूजसँग कुरा गर्दै उनले भने, ‘६ हजार ७ सय ४३ स्थानीय तहमध्ये अब एक सय वटा जतिमा मात्र विवाद टुंगिन बाँकी छ त्यसलाई देखाएर रोक्न मिल्छ ? यसअघि पनि महाधिवेशनमा धेरै नजिर स्थापित भइसकेको छ ।’
उनले क्रियाशील सदस्यतालगायत विभिन्न बहाना देखाए पनि नेतृत्व कै कारण महाधिवेशन हुन नसकेको दाबी गरे ।
प्रतिक्रिया