कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
महाधिवेशनको मितिमा संस्थापन र इतर पक्षबीच मतभेद
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज तेस्रो दिन पनि बस्दैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदनमाथिको छलफलले निरन्तरता पाउने नेता प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन ।
भदौ १६–१९ का लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र विवाद छ । विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको मत दुई धारमा विभाजन देखिएको छ ।
संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।
संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ ।
बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले बताए । उनका अनुसार आजको बैठकमा नयाँ कार्यतालिका आउने सम्भावना छ ।
काँग्रेस नेताहरुका अनुसार भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना छ । विहीबार र शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरुले महाधिवेशनको कार्यतालिका बैठक पेस नगरेकोमा विरोध जनाएका थिए ।
प्रतिक्रिया