मंगलबार, पुष १५, २०८२

नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गर्ने अभियुक्तलाई पोर्चुगलबाट नेपाल ल्याइयो

मेरोन्यूज २०७८ साउन ३० गते १७:२९

काठमाडौं । नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पोर्चुगलबाट पक्राउ गरेको छ ।

सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देवःविकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप लागेकामध्ये काभ्रे भुम्लु गाउँपालिका(१ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का अनुसार नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् ।

मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

उनीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंकका विभिन्न शाखा कार्यालयमा विभिन्न सवारी साधन सुरक्षण वापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रुपैयाँ लिएका थिए ।

प्रतिक्रिया