घनश्याम-शंकर सम्वन्ध
एमालेका दुई विचारक, यसरी पुगे फरक-फरक धारमा
काठमाडौँ । एमालेका दुई विचारक नेताहरू अहिले फरक-फरक धारमा रहेका छन् । एमालेका उपमहासचिव घनश्याम भुसाल र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल तीन दशकदेखि एउटै पार्टीमा छन्, तर उनीहरू फरक-फरक धारमा हिँडेका छन् ।
जनताको बहुदलीय जनवाद र संघीयताका व्याख्यता रहेका पोखरेल अहिले संस्थापन पक्ष केपी ओली र मुलुकलाई नयाँ कार्य दिशा र विचारमा नवीनपनसहित समाजवादको व्याख्यता भुसाल अहिले माधव नेपाल समूहमा रहेका छन् । माधव नेपाललाई साथ नछाडेका भुसालले नवौँ महाधिवेशनमा पार्टीको आधिकारिक लाइन पास गराएका थिए । उनले लिएको कार्य नीति र रणनीति नै एमालेको नवौँ महाधिवेशनको राजनीतिक प्रतिवेदन बनेको थियो ।
नवौँ महाधिवेशनमा दुवै नेताहरू उपमहासचिवमा उठेका थिए । जसमा भुसालले जिते शंकर पोखरेलले हारे । दुवै नेताहरू विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । पार्टीभित्र र बाहिर उनीहरू दुवै जनामा अध्ययन, अनुसन्धान, लेखनलगायत सबै हिसाबले राम्रो क्षमता रहेको विश्लेषण गरिन्छ । अहिले दुवै जना एमालेभित्रका थिङ्का ट्याङ्क हुन् ।
भुसालको ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति ’पुस्तकले नेपाली क्रान्तिबारे निकै जानकारी दिन्छ भने पोखरेलको ‘संविधानसभा र राज्यको पुन: संरचना’ पुस्तकले संघीयताको विषयमा जानकारी दिएको छ । एमालेभित्र सबैभन्दा पहिला संविधान सभामा जानुपर्छ भनेर उनै पोखरेलले कुरा उठाएका थिए । उनले सो कुरा उठाउँदा एमालेभित्र निकै ठूलो तरंग पैदा गरेको थियो ।
शुरुमा भुसाल र पोखरेल दुवै वैचारिक रुपमा एकै ठाउँमा थिए । विद्यार्थी संगठनमा पोखरेल उपाध्यक्ष र भुसाल महासचिव रहेका बेला विपरीत धारमा पुगका हुन् । खासगरी तुलबहादुर गुरुङ अनेरास्ववियूको अध्यक्ष हुँदा पार्टीले भुसाललाई रोक्ने नीति लिएपछि पोखरेललाई फाइदा भएको थियो ।
त्यसयता सधै संस्थापन पक्षको साथमा रहेका पोखरेलले अहिलेसम्म संस्थापन पक्षको साथ छोडेका छैनन् । भुसाल भने सिपी मैनालीलाई साथ दिएको आरोपमा कर्नरमा पारिए । त्यसपछि उनी संस्थापन विरोधी धारमा मात्रै देखिएका छन् । भुसाल र पोखरेल दुवै २०३६ सालको विद्यार्थी आन्दोलनको सेरोफेरोबाट राजनीतिमा सक्रिय भए पनि पार्टीमा तलमाथिको उत्तारचढावमा पोखरेलभन्दा बढी भुसालले दुःख पाए ।
पोखरेल अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष भएपछि पार्टीले उनलाई २०४३ सालमा काठमाडौँमा बोलायो । र, अनेरास्ववियूको बागमती अञ्चल कमिटीमा राख्यो । भुसाल भने त्यसबेला अञ्चल कमिटीका अध्यक्ष थिए । अनेरास्ववियूमा भुसाल धेरै कक्षा दोहोर्याउने नेतामा पर्छन् भने पोखरेल कक्षा उछिन्ने नेतामा गनिन्छन् ।
भुसालले धेरै वर्ष अखिलमा काम गरे । २०३६ सालको पाँचौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा पुगेका उनी आठौँसम्म आइपुग्दा केन्द्रीय सदस्यमा नै सिमित रहे । मालेभित्रको मदन भण्डारी र सिपी मैनाली विवादको छाया अखिलमा पर्याे । भुसाल सातौँ सम्मेलन बहिस्कार गर्ने समूहमा लागेपछि उनी संस्थापनको नजरमा विद्रोही देखिए । नवौँ सम्मेलनबाट तुलबहादुर गुरुङ अध्यक्ष हुँदा भुसाल र पोखरेल दुवै पदाधिकारी थिए । तर भुसाल अध्यक्ष हुनबाट रोकिए । २०४७ जेठमा पुल्चोकमा भएको सम्मेलनमा उनी अध्यक्षका मुख्य दाबेदार थिए ।
पार्टीको अनेरास्ववियू फ्याक्सनले निर्वाचनबाट अध्यक्ष छान्ने निर्णय गरिसकेको थियो । प्रतिनिधि आइसकेका थिए । अन्तिम समयमा पार्टीले अखिलमा हस्तक्षेप गर्याे । भुसाललाइ रोक्नकै लागि गुरुङलाई दोहर्यायाे । माले र मार्क्सवादी एकतापछि ११ औँ सम्मेलनबाट अध्यक्ष बनाइए, पोखरेल । त्यसपछि भुसाल भूगोलको राजनीतितर्फ लागे । उनी विद्यार्थी राजनीति छाडेर गृह जिल्ला रुपन्देही फर्किए । जिल्ला सचिव बनेर पार्टी राजनीति सुरु गरे । पार्टीभित्र विवाद शुरु हुँदा छैटौँ महाधिवेशनपछि २१ फागुन २०५४ मा एमाले विभाजन हुन पुग्यो । त्यतिबेला पोखरेल र भुसाल अलग-अलग धारमा लागे । पोखरेल एमालेमै रहे भने भुसाल मालेतिर लागे ।
माले–एमाले एक भई २०५९ मा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए । भुसाल त्यो परीक्षामा उत्तीर्ण भएनन् । महाधिवेशनमा माधव नेपाल र केपी ओलीका आ–आफ्नै प्यानल थिए । मालेबाट फर्किएका वामदेव गौतम केपीतर्फ लागे पनि भुसाल दुवै समूहमा परेनन् । चुनाव हारेपछि उनी पुनः जिम्मेवारीविहीन बने ।
महासचिव माधव नेपालले उनलाई केन्द्रीय प्रचार विभाग सदस्य बनाए । सातौँ महाधिवेशनमा पोखरेलले उग्रवामपन्थी आन्दोलनको अवतरणका लागि संविधानसभामा जानु पर्ने प्रस्ताव अघि सारे । त्यो पार्टीको तत्कालीन लाइनभन्दा भिन्न थियो । आठौँ महाधिवेशन बुटवलमा भुसाल र पोखरेल दुवैले पुरक प्रस्ताव पेस गरे ।
भुसालले अघि सारेको प्रस्ताव पारित नभए पनि त्यसले उनलाई प्रतिनिधिमाझ चिनायो र पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीमा पुर्यायो । पोखरेल भने अध्यक्षका दाबेदार केपी ओलीले अघि सारेको पार्टीको आन्तरिक सांगठनिक जीवनको लोकतान्त्रीकणको पक्षमा थिए । उनी सचिवमा निर्वाचित भए ।
आठौँ महाधिवेशनले ओलीको प्रस्ताव पारित गर्याे र एमालेलाई अध्यक्षात्मक बहुपदीय संरचनामा लग्यो । पोखरेल सचिवमा निर्वाचित भए । ०७१ असारको नवौं महाधिवेशन काठमाडौँसम्म आइपुग्दा पोखरेल र भुसालको प्रतिस्पर्धा थप रोचक बन्न पुग्यो । पोखरेल ओली प्यानलबाट र भुसाल माधव नेपाल प्यानलबाट उपमहासचिवका प्रत्यासी बनेर मैदानमा उत्रिए ।
अध्यक्षका उम्मेदवार ओली र नेपाल तल्लो स्तरमा आरोप-प्रत्यारोपमा उत्रिदा यी नेताहरु सैद्धान्तिक बहसभन्दा तल ओर्लिएनन् । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पनि वैचारिक लाइन भने भुसालकाे पारित भएको थियो ।
एमालेलगायत सबैजसो कम्युनिस्ट धारले स्थापना कालदेखि गर्दै आएको नेपाली समाजको वर्ग विश्लेषणलाइ चुनौती दिँदै भुसालले अब नेपालमा अर्ध सामन्तवाद र अर्ध उपनिवेशवाद नभएको, यो दलाल पुँजीपति चरित्रको रहेको तर्क दिए । आठौँ महाधिवेशनमा उनको विचार पराजित भए पनि नवौँसम्म उनी स्थापित भइसकेका थिए ।
फलस्वरुपः पोखरेललाई हराउँदै उपमहासचिव निर्वाचित हुन पुगे । अहिले भुसाल नेपाल पक्षमा रहेका छन् भने पोखरेल ओली पक्षमा । तर, दुवै नेता एक प्रकारले आफ्नो क्षमतामा अब्बल रहेको पार्टीभित्र चर्चा हुने गरेको छ ।
प्रतिक्रिया