घनश्याम-शंकर सम्वन्ध
एमालेका दुई विचारक, यसरी पुगे फरक-फरक धारमा

काठमाडौँ । एमालेका दुई विचारक नेताहरू अहिले फरक-फरक धारमा रहेका छन् । एमालेका उपमहासचिव घनश्याम भुसाल र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल तीन दशकदेखि एउटै पार्टीमा छन्, तर उनीहरू फरक-फरक धारमा हिँडेका छन् ।
जनताको बहुदलीय जनवाद र संघीयताका व्याख्यता रहेका पोखरेल अहिले संस्थापन पक्ष केपी ओली र मुलुकलाई नयाँ कार्य दिशा र विचारमा नवीनपनसहित समाजवादको व्याख्यता भुसाल अहिले माधव नेपाल समूहमा रहेका छन् । माधव नेपाललाई साथ नछाडेका भुसालले नवौँ महाधिवेशनमा पार्टीको आधिकारिक लाइन पास गराएका थिए । उनले लिएको कार्य नीति र रणनीति नै एमालेको नवौँ महाधिवेशनको राजनीतिक प्रतिवेदन बनेको थियो ।
नवौँ महाधिवेशनमा दुवै नेताहरू उपमहासचिवमा उठेका थिए । जसमा भुसालले जिते शंकर पोखरेलले हारे । दुवै नेताहरू विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । पार्टीभित्र र बाहिर उनीहरू दुवै जनामा अध्ययन, अनुसन्धान, लेखनलगायत सबै हिसाबले राम्रो क्षमता रहेको विश्लेषण गरिन्छ । अहिले दुवै जना एमालेभित्रका थिङ्का ट्याङ्क हुन् ।
भुसालको ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति ’पुस्तकले नेपाली क्रान्तिबारे निकै जानकारी दिन्छ भने पोखरेलको ‘संविधानसभा र राज्यको पुन: संरचना’ पुस्तकले संघीयताको विषयमा जानकारी दिएको छ । एमालेभित्र सबैभन्दा पहिला संविधान सभामा जानुपर्छ भनेर उनै पोखरेलले कुरा उठाएका थिए । उनले सो कुरा उठाउँदा एमालेभित्र निकै ठूलो तरंग पैदा गरेको थियो ।
शुरुमा भुसाल र पोखरेल दुवै वैचारिक रुपमा एकै ठाउँमा थिए । विद्यार्थी संगठनमा पोखरेल उपाध्यक्ष र भुसाल महासचिव रहेका बेला विपरीत धारमा पुगका हुन् । खासगरी तुलबहादुर गुरुङ अनेरास्ववियूको अध्यक्ष हुँदा पार्टीले भुसाललाई रोक्ने नीति लिएपछि पोखरेललाई फाइदा भएको थियो ।
त्यसयता सधै संस्थापन पक्षको साथमा रहेका पोखरेलले अहिलेसम्म संस्थापन पक्षको साथ छोडेका छैनन् । भुसाल भने सिपी मैनालीलाई साथ दिएको आरोपमा कर्नरमा पारिए । त्यसपछि उनी संस्थापन विरोधी धारमा मात्रै देखिएका छन् । भुसाल र पोखरेल दुवै २०३६ सालको विद्यार्थी आन्दोलनको सेरोफेरोबाट राजनीतिमा सक्रिय भए पनि पार्टीमा तलमाथिको उत्तारचढावमा पोखरेलभन्दा बढी भुसालले दुःख पाए ।
पोखरेल अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष भएपछि पार्टीले उनलाई २०४३ सालमा काठमाडौँमा बोलायो । र, अनेरास्ववियूको बागमती अञ्चल कमिटीमा राख्यो । भुसाल भने त्यसबेला अञ्चल कमिटीका अध्यक्ष थिए । अनेरास्ववियूमा भुसाल धेरै कक्षा दोहोर्याउने नेतामा पर्छन् भने पोखरेल कक्षा उछिन्ने नेतामा गनिन्छन् ।
भुसालले धेरै वर्ष अखिलमा काम गरे । २०३६ सालको पाँचौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा पुगेका उनी आठौँसम्म आइपुग्दा केन्द्रीय सदस्यमा नै सिमित रहे । मालेभित्रको मदन भण्डारी र सिपी मैनाली विवादको छाया अखिलमा पर्याे । भुसाल सातौँ सम्मेलन बहिस्कार गर्ने समूहमा लागेपछि उनी संस्थापनको नजरमा विद्रोही देखिए । नवौँ सम्मेलनबाट तुलबहादुर गुरुङ अध्यक्ष हुँदा भुसाल र पोखरेल दुवै पदाधिकारी थिए । तर भुसाल अध्यक्ष हुनबाट रोकिए । २०४७ जेठमा पुल्चोकमा भएको सम्मेलनमा उनी अध्यक्षका मुख्य दाबेदार थिए ।

पार्टीको अनेरास्ववियू फ्याक्सनले निर्वाचनबाट अध्यक्ष छान्ने निर्णय गरिसकेको थियो । प्रतिनिधि आइसकेका थिए । अन्तिम समयमा पार्टीले अखिलमा हस्तक्षेप गर्याे । भुसाललाइ रोक्नकै लागि गुरुङलाई दोहर्यायाे । माले र मार्क्सवादी एकतापछि ११ औँ सम्मेलनबाट अध्यक्ष बनाइए, पोखरेल । त्यसपछि भुसाल भूगोलको राजनीतितर्फ लागे । उनी विद्यार्थी राजनीति छाडेर गृह जिल्ला रुपन्देही फर्किए । जिल्ला सचिव बनेर पार्टी राजनीति सुरु गरे । पार्टीभित्र विवाद शुरु हुँदा छैटौँ महाधिवेशनपछि २१ फागुन २०५४ मा एमाले विभाजन हुन पुग्यो । त्यतिबेला पोखरेल र भुसाल अलग-अलग धारमा लागे । पोखरेल एमालेमै रहे भने भुसाल मालेतिर लागे ।
माले–एमाले एक भई २०५९ मा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए । भुसाल त्यो परीक्षामा उत्तीर्ण भएनन् । महाधिवेशनमा माधव नेपाल र केपी ओलीका आ–आफ्नै प्यानल थिए । मालेबाट फर्किएका वामदेव गौतम केपीतर्फ लागे पनि भुसाल दुवै समूहमा परेनन् । चुनाव हारेपछि उनी पुनः जिम्मेवारीविहीन बने ।
महासचिव माधव नेपालले उनलाई केन्द्रीय प्रचार विभाग सदस्य बनाए । सातौँ महाधिवेशनमा पोखरेलले उग्रवामपन्थी आन्दोलनको अवतरणका लागि संविधानसभामा जानु पर्ने प्रस्ताव अघि सारे । त्यो पार्टीको तत्कालीन लाइनभन्दा भिन्न थियो । आठौँ महाधिवेशन बुटवलमा भुसाल र पोखरेल दुवैले पुरक प्रस्ताव पेस गरे ।
भुसालले अघि सारेको प्रस्ताव पारित नभए पनि त्यसले उनलाई प्रतिनिधिमाझ चिनायो र पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीमा पुर्यायो । पोखरेल भने अध्यक्षका दाबेदार केपी ओलीले अघि सारेको पार्टीको आन्तरिक सांगठनिक जीवनको लोकतान्त्रीकणको पक्षमा थिए । उनी सचिवमा निर्वाचित भए ।
आठौँ महाधिवेशनले ओलीको प्रस्ताव पारित गर्याे र एमालेलाई अध्यक्षात्मक बहुपदीय संरचनामा लग्यो । पोखरेल सचिवमा निर्वाचित भए । ०७१ असारको नवौं महाधिवेशन काठमाडौँसम्म आइपुग्दा पोखरेल र भुसालको प्रतिस्पर्धा थप रोचक बन्न पुग्यो । पोखरेल ओली प्यानलबाट र भुसाल माधव नेपाल प्यानलबाट उपमहासचिवका प्रत्यासी बनेर मैदानमा उत्रिए ।
अध्यक्षका उम्मेदवार ओली र नेपाल तल्लो स्तरमा आरोप-प्रत्यारोपमा उत्रिदा यी नेताहरु सैद्धान्तिक बहसभन्दा तल ओर्लिएनन् । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पनि वैचारिक लाइन भने भुसालकाे पारित भएको थियो ।
एमालेलगायत सबैजसो कम्युनिस्ट धारले स्थापना कालदेखि गर्दै आएको नेपाली समाजको वर्ग विश्लेषणलाइ चुनौती दिँदै भुसालले अब नेपालमा अर्ध सामन्तवाद र अर्ध उपनिवेशवाद नभएको, यो दलाल पुँजीपति चरित्रको रहेको तर्क दिए । आठौँ महाधिवेशनमा उनको विचार पराजित भए पनि नवौँसम्म उनी स्थापित भइसकेका थिए ।
फलस्वरुपः पोखरेललाई हराउँदै उपमहासचिव निर्वाचित हुन पुगे । अहिले भुसाल नेपाल पक्षमा रहेका छन् भने पोखरेल ओली पक्षमा । तर, दुवै नेता एक प्रकारले आफ्नो क्षमतामा अब्बल रहेको पार्टीभित्र चर्चा हुने गरेको छ ।

















साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया