आइतबार, माघ १३, २०८१

माओवादीको केन्द्रीय कमिटी बैठकमा आज समूह नेताले धारणा राख्ने

मेरोन्यूज २०७८ साउन ३१ गते ८:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । काठमाडौंको बत्तिसपुतलीस्थित एक बैंङ्क्वेटमा विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले शनिबारको बैठकमा पेश गरेका एजेन्डामाथि छलफल हुने छ ।

Advertisement

शनिबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न माआवादीले केन्द्रीय सदस्यलाई ८ समूहमा विभाजन गरेको छ ।

समूहमा भएको छलफलमा निस्केको निष्कर्ष समूह नेताले आजको बैठकमा पेश गर्ने नेता युवराज चौंलागाईंले जानकारी दिए । समूहगत छलफल हिजो नै सकिएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले अहिलेको सत्ता गठवन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् । केन्द्रीय समिति बैठकमा पेश भएको प्रतिवेदनमा दाहालले लोकतान्त्रिक, संविधान र राष्ट्रियताको रक्षा तथा आर्थिक समृद्धि र स्थायित्वका लागि गठबन्धन बनेको उल्लेख गरेका छन् ।

यस्तै, कोभिड नियन्त्रण तथा जनताको जीवन स्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्ने गठवन्धन सरकारको प्राथमिकता भएको उनको प्रतिवेदनमा समावेश गरिएको छ ।

दाहालले अहिले चौतर्फी बहस भइरहेको अमेरिकी सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे स्पष्ट रुपमा उल्लेख गरेका छैनन् ।

प्रतिवेदनमा भनिएको छ– ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कुटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’

अध्यक्ष दाहलाको प्रतिवेदनमा भएका यिनै विषयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्न माओवादीले जनाएको छ ।

प्रतिक्रिया