सोमबार, फागुन १८, २०८२

भदौ पहिलो साता बजेट संशोधन गर्दै सरकार

किरण अधिकारी २०७८ साउन ३१ गते १६:०२

काठमाडौं । अर्थ मन्त्रालयले भदौ पहिलो साता बजेट संशोधन गर्ने तयारी गरेको छ । सरकारमा रहेका सबै पार्टीसँगको सहमतिमा अर्थ मन्त्रालयले बजेट संशोधन गर्ने तयारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई संशोधन गरेर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रयोग बजेट ल्याउने तयारी गरेको हो ।

क्षेत्रगत खर्चको आधारमा ओली सरकारले ल्याएको बजेटलाई संशोधन गरेर समयानुसार बजेट खर्च गर्न प्रयोग विधि बजेट ल्याउन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

आय, व्ययबीचको सम्बन्धका लागि बजेट ल्याउने भएपनि सरकार परिवर्तन भएपछि आफ्नो कार्यक्रम अनुसार बजेट ल्याउन लागेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

आफ्नो स्वार्थ, गठबन्धनको न्युनतम साझा कार्यक्रमलाई ध्यानमा राखेर प्रयोग बजेट ल्याउन लागेको अर्थ मन्त्रीको सचिवालयका गोविन्द रोका ‘सचिन’ले जानकारी दिए ।

उनले ओली सरकारले ल्याएको बजेटलाई निरन्तरता दिएपनि संशोधनको आवश्यकता देखिएकाले पहिलो त्रैमासिकभित्र प्रयोग बजेट ल्याउने बताए ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अर्थ मन्त्रालयले संशोधन गर्न लागेको भन्दै उनले यसमा सहयोगीदाता, क्रिणीदाता उत्साहित भएको रोकाले बताए ।

उनले भने, ‘कोरोनाको तेस्रो लहर आउँदै छ । यसमा थप बजेटको आवश्यकता हुन सक्छ । विभिन्न शिर्षकमा प्रयोगको माग भएकाले प्रयोग बजेट आवश्यकता भएको छ ।’

यसअघि अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको संसदमा जानकारी दिएका थिए । उनले सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेकोले देशको वर्तमान आर्थिक अवस्थाको अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने संकेत दिएका थिए ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिएका थिए ।

उनले देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने कुरालाई महत्व दिदै बजेट प्रतिस्थापन आवश्यक रहेको प्रत्येक्ष संकेत गर्न विधेयक ल्याउने संकेत गरेका थिए ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पनि सार्वजनिक गरेको छ । मौद्रिक नीति पनि कोरोना केन्द्रित गरेर ल्याइएको छ । कोरोनाबाट प्रभावित व्यापार व्यवसायलाई मध्येनजर गर्दै राष्ट्र बैकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

ओली सरकारले ल्याएको बजेटमा ठुलो परिवर्तन नभएपनि सरकारको बाहुल्यता देखाउन बजेट परिवर्तन गर्न खोजेको अर्थविद्ले बताएका छन् ।

पूर्व अर्थसचिव एंव अर्थका जानकार रामेश्वर खनालले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै केही बुँदा र रकम परिवर्तन गरेर आफू चर्चामा आउन कामभन्दा पनि प्रचारमा अर्थ मन्त्रालय देखिएको बताए ।

बजेट संशोधन गर्नु अघि सबै बुँदामा बहसको आवश्यक रहेको भन्दै उनले बजेट संशोधन गर्न सहज नहुने भएकाले बजेट कार्यान्वयन गर्न सुझाव दिए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया