शनिबार, माघ १२, २०८१

सरकारले एक महिनमा १ खर्बभन्दा बढी राजस्व संकलन गर्‍यो

मेरोन्यूज २०७८ भदौ २ गते १५:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना (साउन)मा मात्र सरकारले १ खर्ब ५ अर्ब ९३ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

Advertisement

कोभिड–१९ महामारीका कारण अस्तव्यस्त भएको आर्थिक क्षेत्र सुधारतर्फ लागेकाले राजस्व संकलनमा हरियो संकेत देखिएको हो ।

साउन मसान्तसम्ममा राजस्व असुली वार्षिक लक्ष्यको ८.७२ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

महालेखाको तथ्यांकअनुसार कर राजस्वतर्फ ७६ अर्ब १८ करोड ८० लाख र गैर कर राजस्वतर्फ १७ अर्ब ७ करोड ३२ लाख रुपैयाँ बराबर संकलन भएको छ । त्यस्तै, अन्य प्राप्तिबाट सरकारको खातामा १२ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबर जम्मा भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्व विभागको राजस्व संकलन ३४ अर्ब २३ करोड ९५ लाख रुपैयाँ बराबरको राखेकोमा लक्ष्यभन्दा ४ अर्ब बढी अर्थात ३८ अर्ब २ करोड ९८ लाख रुपैयाँ बराबर छ ।

यो मासिक लक्ष्यको १ सय ११ दशमलब ७ प्रतिशत बराबर हो । यो अवधिमा आयकर, मूल्य अभिवृद्धि र अन्तःशुल्क तीनवटै शीर्षकमा लक्ष्यभन्दा बढी कर उठेको छ ।

विभागले साउन महिनामा ११ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बराबर आयकर असुली गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ४७ करोड ७५ लाख अर्थात् १ सय २८ प्रतिशत आयकर संकलन भएको जनाएको छ ।

मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ११ अर्ब ५५ करोड १६ लाख अर्थात १ सय ९ दशमलब १३ प्रतिशत र अन्तःशुल्कतर्फ ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबर असुली लक्ष्य राखिएकोमा ६ अर्ब ३६ करोड २ लाख अर्थात १ सय १२ दशमलब १९ प्रतिशत कर असुली भएको छ ।

चालु आर्थिक वर्षको पहिलो १ महिनामा १ खर्ब बढी राजस्व संकलन गरेको सरकारको बजेट खर्च १० अर्ब ४९ करोड २५ लाख रुपैयाँ रहेको महालेखाले जनाएको छ ।

प्रतिक्रिया