बाँसुरी बजाउन विश्व घुमेका प्रताप
टंगाल, काठमाडौँका प्रताप केसीले बाँसुरीमा धुन भर्न थालेको तीन दशक नाघ्यो । उनी बाँसुरी बजाउन वर्षमा ८ महिना विदेश पुग्छन् । बाँकी चार महिना स्वदेशमा हुन्छन् ।
पहिले त प्रतापले रहर लागेर बाँसुरी बजाउँथे । पछि गएर मुख्य पेशा बन्यो । बाँसुरीको धुन सुनाउन उनी पहिलोपटक फ्रान्स पुगेका थिए । १५ वर्षअघि उनले विदेशमा बाँसुरी बजाएर एक लाख रुपैयाँ कमाएका थिए । त्यसपछिका दिनमा उनका लागि विदेश जाने बाटो खुल्न पुग्यो । १५ पटकभन्दा बढी फ्रान्स पुगेका उनले त्यति नै पटक जर्मनी पुगेका छन् ।
प्रतापले युरोपका सबैजसो देश घुमिसकेका छन् । एकपटकको यात्रामा झण्डै ७ लाखसम्म पारिश्रमिक लिएको उनी बताउँछन् । केही वर्षयता कार्यक्रमका सिलसिलामा विदेश जाँदा उनले नयाँ प्रतिभाहरूलाई अवसर दिँदै आएका छन् । उनको समूहले विदेशीहरूमाझ बाँसुरीसँगै तवला, मादल, सारंगी, सितार, टुङ्नाजस्ता नेपाली बाजाको धुन सुनाउँछन् ।
बाँसुरीवादक प्रतापका अनुसार बाँसुरीको संगीत सुन्न रुचाउनेको संख्या नेपालमा भन्दा विदेशमा ठूलो छ । बाँसुरीको धुन विदेशीहरूले यति रुचाउँछन् कि एकपटक प्रस्तुती दिन जाँदा उनीहरूको धित मर्दैन । उनीहरू नयाँ–नयाँ कार्यक्रमको योजना बुनिहाल्छन् ।
यस्तै, कार्यक्रममा भाग लिएपछि प्रतापको सञ्जाल फैलिदै गएको छ । विदेशका कुनाकाप्चामा उनले नेपाली मौलिक लोक भाका, झ्याउरे गीतहरू बाँसुरीको धुनमा सुनाउँछन्, विदेशीहरू मन्त्रमुग्ध हुन्छन् ।
प्रतापले सन् २०१२ यता ‘प्रणामुण्डी’ नामक सांगितिक ब्यान्ड स्थापना गरेका छन् । बाँसुरीले उनलाई ‘नाम र पहिचान’ दिएको छ । एउटै क्षेत्रमा निरन्तर लगाव भए सफलता मिल्छ भन्ने उनी राम्रो उदाहरण हुन् । विदेशमा बाँसुरी बजाएको कमाईले उनी उच्च स्तरको जीवन बाँचिरहेका छन् ।
पुर्ख्याैली घर टंगालमा भए पनि प्रतापका बुवा जनकपुर चुरोट कारखानाका इञ्जिनियर थिए । बुवाको जागित उता भएपछि उनी पनि उतै जन्मिए । बुवा रिटायर्ड भएसँगै उनको परिवार काठमाडाैँ फर्किए ।
जनकपुरमा बस्दा नामी बाँसुरीवादक जेवी लामाका छिमिकी भएका उनले उहीसँग बाँसुरी बजाउन सिके । गाउँघरमा हुने कार्यक्रममा सधै पुग्थ्ये । बाँसुरी बजाउने लामाको कला देखेर प्रताप पनि प्रभावित बने । त्यही देखेर उनले बाँसुरीलाई साथी बनाए ।
पछि संगीत सिक्न उनी पटना पुगे । उस्ताद फैमुल्लाखानको घरमा एक वर्ष बसेर बाँसुरी बजाउने कला र शास्त्रीय संगीतबारे ज्ञान सिके । रेडियो पटनाका जागिरे फैमुल्लाखान स्थापित बाँसुरीवादक र सहनाइबादक थिए । उनीसँग एक वर्षको संगतले केसीले धेरै कुरा सिक्ने मौका पाए ।
०४६ सालतिर नेपालमा बाँसुरी बजाउनेहरूको संख्या कमै थियो । कतै कार्यक्रम आयोजना हुँदा प्रताप सहभागी हुन्थे । रानी ऐश्वर्यको जन्मदिनमा उनी तीनपटक सहभागी भएर बाँसुरी बजाएका थिए । त्यसबेला देशका विभिन्न स्थानबाट नाँचगान गर्न कलाकारहरू काठमाडौँ आइपुग्ने गर्थे । रानीको जन्मोत्सव नेपाल प्रज्ञा भवन र राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम हुन्थे । उनले पनि रानीको जन्मोत्सवमा भाग लिने अवसर पाए ।
प्रतापले बाँसुरी बजाएर पहिलोपटक ४० रुपैयाँ पारिश्रमिक पाएका रहेछन् । लोक गायक कृष्णविक्रम थापाले बर्दिवासमा एक कार्यक्रमका लागि उनलाई बोलाएका थिए । ‘त्यही कार्यक्रममा मैले ४० रुपैयाँ पारिश्रमिक पाए,’ उनले त्यो बेला स्मरण गरे ।
त्यसपछिका दिनमा उनी नेपालका केही स्थानहरूमा सांगीतिक कार्यक्रमका सिलसिलामा पुगे । उनी पश्चिमको धनगढीदेखि पूर्व काँकडभिट्टासम्म आफ्नो प्रस्तुतिका लागि पुगेका छन् ।
विगत पन्ध्र वर्षयता त नेपालभन्दा बढी विदेशकै कार्यक्रममा केसीको व्यस्तता छ । विदेशमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमभन्दा विदेशीले आयोजना गर्ने कार्यक्रममा उनको माग बढी छ ।
सन् २०१६ मा लक्जेम्बर्गमा उनको प्रस्तुति हेर्न युवराज र त्यहाँका प्रधानमन्त्री आएको देख्दा उनलाई गर्व लागेको थियो । घुमेकामध्ये स्वीजरल्याण्ड उनलाई एकदमै मन परेको देश हो । ‘त्यहाँको वातावरण, दृश्यले उनलाई निकै लोभ्यायो । जता हेरे पनि पोलिस गरे जस्तो, टिलिक्क टल्काए जस्तो लाग्यो,’ उनी सुनाउँछन् । बाँसुरीवादक प्रताप घुम्नमा अत्यन्तै रूची राख्छन् । उनी प्रायः एक्लै यात्रा गर्न रुचाउँछन् ।
उनले अहिलेसम्म बाँसुरीका लागि २ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । एक सेटमा २४ वटा बाँसुरी हुन्छन् । जसको मूल्य ४५ देखि ५० हजार रुपैयाँ पर्छ । उनी जता पुगे पनि एक सेट बाँसुरी उनको साथमा कहिल्यै छुट्दैन ।
कोरोना महामारी नभइदिएको भए यतिखेर उनी युरोपका देशमा सांगीतिक कार्यक्रममा व्यस्त हुन्थे । धेरै कार्यक्रमहरू कोरोनाका कारण उनले गुमाए । अलि सहज वातावरण हुने बित्तिकै उनी फेरि युरोप यात्रामा निस्किने सुरसारमा छन् ।
प्रतिक्रिया