शुक्रबार, वैशाख २६, २०८२

केशव भट्टराईको सहयोगमा म यसरी अभिनयमा लागें

सम्झना पौड्याल (विद्रोही) २०७८ भदौ ५ गते ९:१९


नसक्छु भन्न दुःखका कुरा नसके लुकाउन
जीवनको घाउ आँसुको सागर सकिन सुकाउन
……….
यो कविता हो धेरै वर्षअघि लेखेको । टेलिसिरियलदेखि चलचित्रमा अभिनय गर्ने म कलाकार सम्झना पौड्याल (विद्रोही) को ।

विराटनगरमा जन्मेकी हुँ म । सानैदेखि चञ्चल स्वभाव, नाच्न, गीत सुन्न र कविता लेखन रुची भएकी मान्छे म । साहित्य सृजना सँग सँगै लेखन पत्रकारिता र कलाकारितालाई सँगै लिएर अघि बढेकी हुँ । नयाँ कोत पर्व दैनिकमा कार्य गरी ३ वर्ष लगातार सह सम्पादकको कार्यभार समेत सम्हालेको अनुभव पनि छ म सँग । अहिले पनि कहिले काहिँ कुनै न कुनै पत्रपत्रिकामा कविता र लेखहरु लेख्छु । रेडियो नेपालबाट प्रसारण हुने नाटकहरुमा अभिनय गरिरहेकी छु मैले ।


विद्रोही उपनाम

विद्रोही उपनाम कक्षा ९ मा पढ्दा बाल श्रम भन्ने शिर्षकमा विराटनगर उपमहानगरपालिकाको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा भाग लिँदा निर्णायक व्यक्तिहरुले एकजना बालकले ल्याएर आएको चिया, खाजा खाए । मैले त्यहिलाई उदाहरण मानेर तर्क गरे । मेरो स्कूलको प्रिन्सिपलले विद्रोहीको उपनाम दिएपछि यसैलाई प्रयोग गर्न थाले । त्यो दिनदेखि विद्रोही विद्रोही भन्दै अहिले पनि सबैले मलाई, सम्झना भन्दा विद्रोही नै भन्छन् । विद्रोही भनेर चिन्छन् र मलाई पनि सहज मेरो नाम विद्रोही भन्न ।


स्व. चलचित्रकर्मी केशव भट्टराईको सहयोगले कलाकार

विराटनगरमा मेरो मामाको फोटो स्टुडियो थियो । त्यहाँ एकमात्र फोटो स्टुडियो मामाको भएकाले काठमाडौंबाट विराटनगर सुटिङका लागि जाने सिनेकर्मीलाई सहज भएको थियो । सिनेकर्मी स्व. केशव सर मामाको साथी भएकाले पनि मलाई कलाकार बन्ने हौसला भयो । मामाले मध्यस्तकर्ताको भूमिका खेलेपछि, केशव सरले अभियनको यात्राका लागि सहयोग गर्नुभयो ।


उहाँको सहयोगले मलाई टेलिसिरियल ‘झ्याई कुटी झ्याई’ टेलि सिरियल हुँदै यहाँसम्म पुर्याएको हो । केशव सर संसारबाट विदा हुनुभयो तर मेरो मन मस्तिष्क र पाइलामा केशव सरको स्थान कसैले लिन सक्दैन । वादविवाद, ब्यक्तित्व, कविता, स्कुलका नाटकमा रमाएकी बालिकालाई पाइदा देखाउने र टेकाउनमा सहयोग उहाँकै छ ।


‘झ्याई कुटी झ्याई’, ‘थोरै भए पुगि सरी’, ‘भद्रगोल’,‘जीवनचक्र’, ‘स्वच्छ जीवन, स्वच्छ वातावरण’, ‘स्वाबास’, ‘अमिलो पूरी’ टेलिसिरियल हुँदै अहिले सुटिङ भइरहेको नयाँ सिरियलमा पनि अनुबन्धित छु । टेलिसिरियल हुँदै एभरेष्टश्वर बोहराको ‘ठूली’ नेपाली चलचित्र र ‘हिम्मतवाली’ नामक भोजपूरी चलचित्रमा समेत अभिनय गरेकी छु ।

कला क्षेत्रमा धेरै विद्रोह गर्नुपर्यो

नाम विद्रोही भएकाले पनि चित्त नबुझेकोमा विद्रोह गर्नुपर्छ । अभिनयमा विद्रोहको भूमिका हुन्छ नै । त्यो कलाकारिता हो तर अवसरको बाटोमा यौन हिसाको संकेत पाउनेवित्तिकै अवसर धेरै त्यागेकी छु, जस्तो नाम त्यस्तै काम भनेर धेरै निर्माता, निर्देशकले मलाई अवसर दिएका छैनन्, मैले हजुर पनि भनेकी छैन ।


केही समयअघि सामाज्ञ्री शाहले कलाकार भुवन के.सी.लाई ह्यारेसम्यान्टको जुन आरोप लाउनु भयो, यसको अनुसन्धान हुनुपर्छ । उहाँ मारमा परेको हुनसक्छ, यसलाई सबैले पहिला आउँदा हिंसामा परेको देखाइन । अहिले सिनेमा पारिश्रमकको मोलमोलाईमा लागेर हिंसाको आरोप लगाई भनेर साम्राज्ञीलाई दोष दिन्छन्, त्यो होइन ।


वास्तवमा भन्ने हो भने महिला कलाकारले आफ्नो ईच्छा विपरित कसैले शोषण गर्छ भने, चलचित्र विकास बोर्ड देखि मानव अधिकार आयोग सबै ठाउँमा निवेदन दिन सक्नुपर्छ । मैले विद्रोह गरेका कारणले पिडित हुनुपरेन । शुरुमा स्व. केशव सर, मामाको साथी मामाले जस्तै व्यवहार गर्नुभयो, म कलाकार भएर चिनिएपछि अवसर राख्दै उमेर, हाइट सोध्नेको कमी भएन तर म चनाखो व्यवहारमा भएकाले नामजस्तै विद्रोही प्रदर्शन गर्न सके र कसैबाट दबिनुपरेन ।


सानो पर्दाका निर्देशक निर्माताले ठगि खाने भाँडो बनाएकाले धेरैले निर्माणमा पैसा लगाउन, महिलालाई यौन शोषण, एउटा रोल भन्दै धुलिखेल, नगरकोट, चितवन, पोखरा कुनै विदेशी मुलुक घुम्ने निहुँले सताउँछन् । जानकार हुनुपर्छ । सिने क्षेत्रमा नयाँ आउने कलाकारलाई पनि चनाखो हुनुपर्ने र सहि कुन बेठिक कुन छुट्टाउँदा आफ्नो घर, परिवार र साथीबाट सिक्नुपर्ने बताउन चाहन्छु ।

मन पर्ने कलाकार

सबैजना कलाकार मनपर्छ । एउटाको नाम लिदा अर्काको छुट्छ तर गाइजात्रामा खेल्दा सँगै हुने साथीदेखि टेलिसिरियल, चलचित्रका सबै कलाकार मन पर्ने हुन् । जोसँग अभिनय गरिन्छ त्यहि मनपर्छ । तीन जनाको मात्र नाम लिनैपर्नेमा सबैसँग माफ माग्दै दमन रुपाखेती, महजोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य) र स्व. श्रीकृष्ण श्रेष्ठ मनपर्छ ।


मनपर्ने निर्देशक/ निर्माता

जति फिल्म, टेलिसिरियलमा आवद्ध भए, उनैका निर्देशक निर्माता मनपर्छ । महजोडी, प्रदिप भट्टराई र रविन्द्र बराल मनपर्ने निर्देशक निर्माता हुनुहुन्छ । उहाँहरुमा व्यक्तिगत स्वार्थ नभएर कार्यलाई प्राथमिकता दिनुहुन्छ, अभिनयमा नयाँ कुरा बुझाउनुहुन्छ, उत्प्रेरणा दिनुहुन्छ ।

काम गर्दा प्रशंसा र गाली


काम गर्दा सबैबाट प्रशंसासँगै गाली पाइन्छ । राम्रो काम ठिक र बिग्रिदा यसरी गरम भनेर सल्लाह दिनेमा महजोडी जस्तो अरु भेट्न सकिन । गलत गर्दा नरिसाइकन, ठिक गर्दा फुरुक्क नपारी प्रशंसा गर्ने महजोडी नै हुनुहुन्छ ।


कोरोना र लडकाउनले गारो

सरकारले कोरोनाको बेला लकडाउन गर्दा भएकालाई सजिलो छ । तर सिने क्षेत्रमा लागेर दुख्ख गरिरहेका साना कर्मचारी, लाइट ब्याय, कुक, मसान्जर, मेकअप पर्सन लाइट पर्सनजस्ता साना व्यक्ति काम ठूलो भएकालाई कसैले हेर्न सकेन । सरकारले लकडाउन गरेर रत्नपार्कमा खाना बाडेर हुँदैन । सिने क्षेत्रमा कसले दुख्ख पाएका छन् भनेर चलचित्र बोर्डलाई निर्देशन दिएर पिडितलाई स्थान दिनुपर्छ । सहजकर्ताको काम चलचित्र बोर्ड, निर्माता, कलाकार, निर्देशक संघले गर्छन् ।


सिनेमाबाट धेरै आत्मनिर्भर भएका छन् । सिनेमा हल बन्द हुँदा समस्या देखिएको छ । अन्तर्राष्ट्रिय सिनेमा हलिउड, बलिउड जस्तै लकडाउनमा पनि नेटबाट रिलिज गर्न ‘एक’ नामक चलचित्रका मनोज पण्डितले गर्दै हुनुहुन्छ । यो राम्रो हो । हामी पनि विदेशी चलचित्रजस्तै डिजिटलमा रिलिज हुन्छौं भन्दै उहाँले असोज महिनामा डिजिटलमा रिलिज गर्न थाल्नुभएको छ । त्यसैले नेपालमा भर्खर अनलाइन सेवाको विकास हुँदै गर्दा अन्तराष्ट्रिय स्तरमा पुग्ने कोशिशमा छौ‌ अवस्य पूरा हुन्छ । कोरोना र लकडाउनले समस्या ल्याउँदा गाहेसँगै उपाएपनि खोज्दै छ ।

(मेरोन्युजका किरण अधिकारीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया