कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ ।
बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो ।
आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ ।
यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् ।
दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले व्यवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।
आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी संघ संस्थालाई अनुरोध गरिएको छ ।
मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।
यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौं जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तीर्न बाँकी छ । कर नतिर्ने अर्धसरकारी संस्थाले आफूहरु पनि सरकारी रहेकाले तिर्न नपर्ने जिकिर गर्दै आएका छन् ।
तीन करोड बक्यौता असुल
सूचना सार्वजनिक गरेपछि हालसम्म करिब तीन करोड बक्यौता रकम असुल भएको छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा एक करोड ५३ लाख राजस्व बुझाएका छन् ।
यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वर्ल्ड ट्रेड सेन्टर)ले एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हीराचनले आगामी १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन् ।
वडा नं १४ को नेशनल हस्पिटलले २४ लाख, वडा नं १४ कै शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा नं ११ को एनआरटी क्लबले १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने लक्ष्य लिएको छ ।
समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ तर महानगरले विगतका दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवानामा छुट दिएको छ ।
सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ ।
सेवा बन्द गरिँदै
कर नतिरी सम्पर्कसम्म नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।
राजस्व महाशाखा प्रमुख डा. अघिकारीले भने, “अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो । ”
करदाताकै सहजताका लागि महानगरले गत वर्ष असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गर्दै आएको छ । हाल अनलाइनमा १६० करदाता जोडिएका छन् ।
















रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया