खाना खाएको पैसा तिर्न नसक्दा सञ्चालकलाई तर्साउन बम
बुद्धचित्तको माल बेच्न आएका थिए नविन
काठमाडौँ । शनिबार भक्तपुरको मध्यपुर ठिमीस्थित दिव्येश्वरी गेष्ट हाउसका सञ्चालक साँझ ६ बजेतिर गेष्ट हाउस सरसफाई गर्न निस्किए । उनले गेस्ट हाउसको कोठामा पुरानो प्रेसर कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु फेला पारे ।
उनले उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंका गर्दै प्रहरीलाई खबर गरे । खबर प्राप्त भएसँगै नेपाली सेनाको बम डिस्पोजल टोली र महानगरीय प्रहरी परिसर भक्तपुरका टोली घटना स्थल पुग्यो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुलाई निस्क्रिय पार्दा विस्फोटक पदार्थ फेला नपरेको, होक्स बम भएको उक्त कुकरभित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको थियो ।
बमजस्तो बनाएर तर्साउने मनसायले गेष्ट हाउसभित्र कसले यस्तो हर्कत गरे भनेर प्रहरीले अनुसन्धान गर्यो । प्रहरीले अनुसन्धानका लागि गेष्ट हाउसमा बसेका एक ग्राहकलाई पक्राउ गरेर प्रहरी परिसर लग्यो ।
प्रहरीले पक्राउ गरेको ग्राहक हुन्, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका २ डाडाँगाउँ स्थायी घर भएका वर्ष ३२ का नविन तामाङ । पक्राउ परेका उनीसँग प्रहरीले सोधपुछ गर्यो । उनले गेष्ट हाउसका सञ्चालकलाई तर्साउन सो नाटक रचेको प्रहरीले पत्ता लाग्यो । उनीसँग गेष्ट हाउस सञ्चालकले पैसा मागेपछि त्यहाँबाट भाग्न बम राखेको नाटक रचेको बयानमा बताएका छन् ।
प्रहरीका अनुसार दिव्येश्वरी गेष्ट हाउसका सञ्चालकले खाएर बसेको रकम ४० हजार रुपैयाँ पटक–पटक मागेको र तामाङसँग पैसा नभएकाले गेष्ट हाउस सञ्चालकलाई तर्साउन उक्त होक्स बम बनाएर राखेको खुल्न आएको छ । गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनको बयानलाई उदृत गर्दै एक प्रहरीले भने, ‘गेष्ट हाउसमा धेरै पैसा तिर्न पर्ने रहेछ, साथमा पैसा नभएपछि तर्साउन कुकर बम जस्तो बनाएर होक्स बमले अलमल्याउँछु, गेष्ट हाउसबाट भाग्छु भन्ने सोचेका रहेछन् ।’
पक्राउ परेका तामाङ सञ्चालकसँग चिनजानमा थिए । उनी सोमबार गेष्ट हाउसमा बस्न आएका थिए । गेष्ट हाउसका सञ्चालकले मेरोन्यूजसँग भने, ‘मेरो गेष्ट हाउसमा रङ्ग लगाउने मान्छेको भाइ हुन्, आज भन्दा ४ वर्षअगाडि आएका थिए, यो पाली पनि मलाई फोन गरेर दाइ म मेरो मिसेससँग केही समयको लागि आउँदै छु भनेका थिए, तर यो पाली अलि डर लाग्दो काम गर्यो ।’
बुद्धचित्तको माल बेच्न आएका थिए नविन
सोमबार गेष्ट हाउसमा आएका तामाङ बुद्धचित्तको माल बेच्न काठमाडौँ हिडेका थिए । उनी सोही गेष्ट हाउसमा बसेर व्यापारको सञ्जाल फैल्याउने सुरमा थिए । उनले गेष्ट हाउसका सञ्चालकसँग पनि व्यापारका साझेदारी गर्न प्रस्ताव गरेका थिए । तर सञ्चालकले अस्वीकार गरेका थिए ।
गेष्ट हाउसका सञ्चालकले नविनसँग यस्तो गैर कानुनी काम नगर्ने बताएका थिए । सञ्चालकले भने, ‘बुद्धचित्त माला लिएर आएको छु दाइ, व्यापार गर्न पर्यो, मैले यस्तो गैर कानुनी काम हो भने यहाँ बसेर नगर है, भनेर कराएँ, तर उनले रुखमा फलेको फल हो, त्यस्तो खासै असर गर्दैन भनेका थिए ।’
प्रहरीको अनुसन्धानबाट उनी बुद्धचित्तको माला व्यापार गर्न आएको पुष्टि भएको छ । प्रहरीले यस घटनाको विषयम थप अनुसन्धान गरिरहेको छ ।
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया