सोमबार, फागुन १८, २०८२

संचय कोषका गौतमको बर्खास्तीले नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर रोकियो

मेरोन्यूज २०७८ भदौ १३ गते १५:१२

काठमाडौं । कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमको बर्खास्तीले नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरमा अन्यौलता देखिएको छ । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर हुँदा आफ्नो गरिमा बढ्ने देखेका गौतमको बर्खास्तीले मर्जर हुने सम्भावना घटेको स्रोतले बताएको छ । दुवै बैंकबीच मर्जर नहोस् भन्ने पक्ष बलियो भएको बताइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अहिलको अवस्थामा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर हुँदा शेयर स्वामित्व कम हुने र त्यसले अहिलेको स्ट्याटसमा नोक्सानी हुने शेयर सदस्यले निष्कर्ष रहेको छ । हिमालय बैंकमा बैंकका पूर्व अध्यक्ष मनोज बहादुर श्रेष्ठ र हाल संचालक समितिका सदस्यसमेत रहेका उनका भाई प्रचण्डबहादुर श्रेष्ठको झन्डै २० प्रतिशत प्लस शेयर रहेको बताइएको छ ।

मर्जरमा जाँदा बैंक अफ काठमान्डूको जस्तै अवस्था हुन सक्ने निष्कर्ष भन्दै श्रेष्ठ समुह हिमालयन बैंकको अस्तित्व कायम गरेर अगाडि बढ्नुपर्ने पक्षमा उभिएको बैंकमा कार्यरत कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा मेरोन्युजलाई बताएका छन् ।

तत्कालिन बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भए पश्चात सुरुवाती अवस्थामा बैंकको नाम बैंक अफ काठमान्डू लुम्बिनी राखिएको थियो । पछि बैंकको नाम लामो र नमिलेको भन्दै लुम्बिनी हटाएर बैंक अफ काठमान्डू राखिएको हो । यस्तै बैंकका पुर्व सीईओ अजय सीईओको पक्राउ प्रकरणले बैंक अफ काठमान्डू र लुम्बिनी बैंकबीच मर्जर हुँदा असन्तुष्ट उब्जिएको थियो ।

मर्जर पश्चात पनि आफ्नै परिवारको सेयर हिस्सा र दबदबा कायम रहने निष्कर्षसहित मर्जरलाई सफल बनाउँन लागि परेको राणा र पाण्डे समुहलाई बर्खास्तीमा परेका गौतमको पनि साथ रहेको थियो । तर गौतमको बर्खास्तीसंगै अब यो साथ पनि टुटेको छ ।

हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर छ । छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको शेयर रहेको बैंकले जनाएको छ ।

यी दुवै बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका थिए । दुवै बैंक १–१ को स्वापमा मर्जमा जाने भएका हुन् ।

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् । मर्जर सफल भयो भने मर्जर पछि बन्ने बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ ।

यसैबीच बर्खास्तीमा परेका कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमले सरकारको निर्णय बिरुद्द सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र संचयकोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दाएर गरेका हुन् ।

रिटमा उनले सरकारले आफूलाई ५ वर्षको लागि नियुक्त गरेकोले ५ वर्ष नपुगी बर्खास्त गर्न नमिल्ने जिकिर गरेका छन् । सरकारले २०७५ वैशाख ४ गते ५ वर्षका लागि आफूलाई कोषको प्रशासक नियुक्त गरेको र सो अवधि भर आफूले काम गर्न पाउनु पर्ने जिकिर उनले रिटमा गरेका छन् ।

प्रतिक्रिया