आइतबार, फागुन १७, २०८२

काभ्रेमा ३३ करोड विद्युत बक्यौता

मेरोन्यूज २०७८ भदौ १५ गते ९:२२

काभ्रेपलाञ्चोक । नेपाल विद्युत प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा ३३ करोड विद्युत महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको १८ करोडभन्दा बढी विद्युत महसुल चुक्ता गरेका छैनन् ।

Advertisement
nepal life insurencenepal life insurence

बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणका काभ्रेपलाञ्चोकस्थित वितरण केन्द्रहरूले जनाएका छन् ।

ती स्थानीय तहले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत प्रयोग गर्दै आएका छन् ।

बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको पाँच करोड ९९ लाख ६६ हजार, धुलिखेल नगरको पाँच करोड ७७ लाख ७२ हजार र पनौती नगरको चार करोड ९८ लाख ३३ हजार विद्युत महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिको २७ लाख २१ हजार बक्यौता रहेको जनाइएको छ ।

बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत प्रयोगकर्ताबाट गत असार मसान्तसम्ममा ३२ करोड ९९ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ ।

केन्द्र प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार, गैरव्यापारिक क्षेत्रबाट छ लाख २३ हजार, व्यापारिक क्षेत्रबाट ५८ लाख ५९ हजार, औद्योगिकबाट दुई करोड ४१ लाख, खानेपानीबाट ११ लाख ३४ हजार, सिँचाइबाट चार लाख ८७ हजार बक्यौता छ ।

स्थानीय तहअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत प्रयोग गरेवापतको दुई लाख ५९ हजार, मठमन्दिर पाँच लाख २४ हजार, सामुदायिक क्षेत्रबाट आठ लाख ७८ हजार बक्यौता बाँकी छ ।

गैरग्राहस्थ ३२ लाख २६ हजार, सिनेमा हलको ३४ हजार, आन्तरिक खपत वापतको २४ हजार बक्यौता रहेको यादवले जानकारी दिए ।

पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको तीन करोड ८४ लाख ९१ हजार महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया