सम्पत्ति सार्वजनिक गर्न किन पन्छिरहेका छन् न्यायाधीश ?

काठमाडौं । न्यायाधीशहरूले घूस लिने गरेको चर्चा वर्तमान परिप्रेक्ष्यमा नौलो कुरा रहेन । यससँगै जोडिएको अर्को चर्चा पनि न्यायवृत्तमा बारम्बार चल्छ, न्यायाधीशहरूको सम्पत्ति सार्वजनिकीकरणको ।
पछिल्लो पटक अधिवक्ता प्रवेश केसीले दायर गर्न चाहेको रिटले फेरि पनि न्यायवृत्तमा यसबारे चर्चा तिव्र भएको छ । केसी गत साउनमा न्यायाधीशको सम्पत्ति सार्वजनिक नभइ गोप्य राख्नुपर्ने कानूनी व्यवस्था बदरको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए ।
उनले रिटमा न्यायाधीश अन्य सरकारी कर्मचारीझैं सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनीहरुको सम्पत्ति पनि सार्वजनिक गरिनुपर्ने र यसलाई रोक्ने कानून तथा व्यवस्था बदर हुनुपर्ने माग दाबी लिएका थिए ।
नागरिककै करबाट तलब, सेवा सुविधा लिने भएकाले उनीहरुको सम्पत्ति गोप्य राख्ने प्रावधान कानूनसँगै बाझिने उनको तर्क थियो ।
तर उक्त रिट दर्ता भएन । मुख्य रजिष्ट्रार लालबाबु कुँवरले १९ साउनमा उक्त रिट दरपिठ गर्ने आदेश दिए ।
सार्वजनिक सरोकारको अधिकार क्षेत्रभित्र दर्ता हुन आएको उक्त रिटमा दाबी अनुसार कारण खुलाउन नसकिएको भन्दै दरपिठको आदेश भएको थियो ।
सर्वोच्च प्रशासनले दिएको आदेशमा छ, ‘सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १५(४) ले संविधानको धारा १३३(१) अन्तरगत दिइने निवेदनमा खुलाउनुपर्ने कुराहरुको सम्बन्धमा व्यवस्था गरेको देखिन्छ । निवेदकले उक्त व्यवस्था अनुसार न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा (३) मा भएको उपदफा (१) र (२) बमोजिमको सम्पत्ति विवरण गोप्य राखिनेछ भन्ने प्रावधानले मौलिकहकमा कसरी वा कस्तो अनुचित बन्देज लगाएको हो भन्ने कुरा नखुलाई निवेदन लिइ आएको हुँदा सर्वोच्च अदालत(संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम ६ को उपनियम (२) बमोजिम दरपीठ गरि दिइएको छ ।’
मुख्य रजिष्ट्रारको यस आदेशविरुद्ध अधिवक्ता केसीले इजलाससमक्ष् ानिवेदन दिएका थिए । दुई पटक पेसी चढे पनि यस निवेदनमाथि सुनुवाइ हुन सकेको थिएन ।
मंगलबार पेसी चढेपछि पनि यो रिट दर्ता गर्ने वा नगर्ने सम्बन्धमा टुंगो लागिसकेको छैन । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दरपिठको आदेश झिकाउन र दरपिठ गर्नुको कारण पेस गर्न सर्वोच्च प्रशासनलाई आदेश गरेको छ ।
पटक–पटक विषय उठ्दै सेलाउँदै
नेपाल बार एसोसिएसनले पनि न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने कुरा उठाउँदै आएको छ । यस विषयमा एक वर्ष अघि सर्वोच्च अदालतको ध्यानाकर्षण समेत गराइएको छ ।
गतवर्ष २५ साउनमा बारले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘न्यायाधीश र नेपाल बार एसोसिएसनको पदाधिकारीको सम्पत्ति पादरर्शी रूपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस् ।’
बारका महासचिव लीलामणी पौडेलले यसरी सम्पत्ति सार्वजनिक गर्न हालका लागि न्यायाधीशको नैतिकता मात्र विकल्प रहेको बताउँछन् । तर कानूनले बाध्य नपारेसम्म सार्वजनिक नहुने उनको भनाइ छ ।
‘हाम्रो माग कानून संशोधन गरी न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ भन्ने हो । अकूत सम्पत्ति देखिए कारवाही हुनुपर्छ,’ बारका महासचिव पौडेलले भने, ‘अहिले कानूनमा छैन भनेर पञ्छिन मिल्ने अवस्था छ । भएपनि त्यो गोप्य राखिने कानूनमा उल्लेख छ ।’
यस विषयलाई लिएर सर्वोच्च पुगेका अधिवक्ता केसी पहिला भएपनि यस अघि अधिवक्ता सुनीलरञ्जन सिंहले यस विषयम ानिवेदन दिइसकेका थिए ।
फागुन २०७४ मा सिंहले न्याय परिषद्मा निवेदन दिएका थिए । न्यायपरिषद् ऐन संशोधन गरिनुपर्ने उनको माग थियो ।
‘सबै न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने हिसाबले परिषद्ले सरकारलाई संशोधन गर्न भनोस् भन्ने माग थियो,’ सिंहले भने, ‘न्यायाधीशको सम्पत्ति कति छ आमजनताले पनि थाहा पाउनुपर्यो । सम्पत्ति गोप्य राख्दा न्यायाधीश दोषी देखिन्छ, जबकी दोषी ऐन हो ।’
उनका अनुसार न्यायाधीशले कताबाट के सम्पत्ति कमायो भनेर जान्न नपाउँदा नागरिकमा न्यायालयप्रति शंका गर्ने ठाउँ रहन्छ । मन्त्री, प्रधानमन्त्री, सांसदहरूको सम्पत्ति सार्वजनिक हुने भएकाले न्यायाधीशको पनि हुनुपर्ने उनको तर्क थियो ।
‘सर्वसाधारणलाई किन शंका गर्ने ठाउँ दिनु भनेर ऐन संशोधनका लागि परिषद्ले पहल गर्नुपर्यो भनेर निवेदन दिएको थिएँ । तर केही जवाफ प्राप्त भएको छैन,’ सिंहले भने ।
तर त्यसमाथि परिषदले कुनै जवाफ दिएन । हालसम्म पनि उनको निवेदन थन्किएकै छ ।
एक वर्ष अघि एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा वरिष्ठ अधिवक्ता शम्भू थापाले न्यायाधीशले घूस खाने र कानून व्यवसायीले ख्वाउने गरेको स्वीकारेका थिए । उनले भनेका थिए, ‘न्यायाधीश घूस खान्छन्, हामी घूस ख्वाउँछौं, झगडिया घूस ख्वाउँछन् ।’
के छ कानूनी प्रावधान ?
न्याय परिषद् ऐन, २०७३मा न्यायाधीशहरुको सम्पत्तिको विषयमा उल्लेख छ । यसको को दफा २९ (१), (२) र (३)मा यो विषय उल्लेख छ ।
ऐनले न्यायाधीशले सम्पत्ति विवरण बुझाउनु पर्ने भनेपनि त्यो विवरण गोप्य रहने उल्लेख छ । धारा २९ को (३) ले न्यायाधीशले बुझाएको सम्पत्ति विवरण गोप्य रहने बताउँछ । कतैबाट उजुरी नआएसम्म यसमाथि छानबिन हुँदैन ।
ऐनको उक्त प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले सो प्रावधानलाई बदर गर्न अधिवक्ता केसीले माग गरेका छन् ।
कानूनबाटै न्यायाधीशलाई सम्पत्ति सार्वजनिक गराउन बाध्य बनाउने गरी कानून ल्याउने तयारी विगतमा एकपटक भएको थियो । तत्कालीन कानूनमन्त्रीले यो विषयमा रुचि लिएका थिए ।
पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानून ल्याउने तयारीमा रहेको बताएका थिए । उनले न्यायाधीश समेतको सम्पत्ति सार्वजनिक गर्ने कानून ल्याउन लागेको र संसदमा पेश हुने बताएका थिए ।
तामाङले न्यायाधीशमात्र नभइ सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति सार्वजनिक गर्नेगरी कानून ल्याउन लागेको बताउने गरेका थिए ।
भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरूपयोग अनुसन्धान ऐन जस्तालाई संशोधन गर्ने र त्यसपछि उक्त ऐन ल्याउने उनको भनाई थियो । कानून मन्त्रालय सम्हालेपछि नै तामाङले ‘न्यायालयमा वार्षिक बजेटभन्दा धेरै भ्रष्टाचार हुन्छ’ जस्ता टिप्पणी गर्दै आएका थिए ।
तर उनको योजना कार्यान्वयनमा नआउँदै उनले राजिनामा दिनुपरेको थियो । त्यसपछिका कानूनमन्त्रीले यो विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
पूर्व न्यायाधीशको राय : न्यायाधीशले नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ
यस विषयमा पूर्व न्यायाधीशहरु भने आरोपबाट मुक्ति पाउन भएपनि न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताउँछन् । यसबाट न्यायालयमाथिको जनआस्था वृद्धि हुने उनीहरुको तर्क छ ।
सर्वोच्चकै पूर्व न्यायाधीश गिरिश चन्द्र लालले सार्वजनिक पद धारण गरेका जो कोहीको पनि सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताए ।
‘सार्वजनिक पद धारण गर्ने कसैको सम्पत्ति निजी मानिन हुँदैन र छानबिन हुनुपर्छ । राज्य र जनताले विश्वास गरेको मान्छेको सम्पत्तिमा गोपनीयताको हक लाग्दैन,’उनको तर्क छ, ‘सार्वजनिक पद धारण गर्नु अघि र पछिको विवरण पारदर्शी हुनुपर्छ । आचरण राम्रो छ भनेर मात्र हुँदैन, देखिनु पनि पर्छ ।’
न्यायाधीशले नागरिकलाई विश्वासमा लिन सक्नुपर्ने उनको धारणा छ । तर कतिपय स्थानमा सम्पत्तिकै कारण न्यायाधीशमाथि असुरक्षा देखिन सक्ने वा आक्रमण हुनसक्ने भएकाले यसतर्फ पनि ध्यान दिइनुपर्ने उनले बताए ।
‘नागरिकले अविश्वास गर्न थालेपछि विश्वास दिलाउनु र नैतिकताका आधारमा सम्पत्ति सार्वजनिक गर्नु न्यायाधीशको दायित्व हुन्छ । तर, सम्पत्ति विवरण सार्वजनिक गर्दा न्यायाधीशको सुरक्षाको पाटोमा ध्यान दिनुपर्छ,’ उनले भने ।
सर्वोच्चबाटै सेवा निवृत्त भएका अर्का न्यायाधीश बलराम केसी पनि लालको मतमा सहि थप्छन् । उनले पटक–पटक न्यायाधीशको सम्पत्तिबारे विवाद आएकाले यसको छानबिन हुनुपर्ने बताए ।
केसीले भने, ‘एउटा आयोग बनाएर निश्चित मिति तोकी त्यसपछि सेवानिवृत्त वा बहालवाला सबै न्यायाधीशको सम्पत्ति छानबिन हुनु जरुरी छ । अझ, न्यायाधीश आफैले सम्पत्ति सार्वजनिक गरेमा राम्रो हुन्छ । यस सम्बन्धि कानून पछि छिटै बन्नुपर्छ । अध्यादेशमार्फत भएपनि कानुन ल्याउनु आवश्यक छ ।’
अध्यादेशबाट नल्याइएमा कानून बन्ने सम्भावना निकै कम रहेको उनको आँकलन छ । उनले पनि लालले झैं सम्पत्तिका कारण न्यायाधीशमाथि असुरक्षा बढ्न सक्ने तर्फ सचेत हुनुपर्ने बताए ।
केसीले भने, ‘बढी सम्पत्ति देखिएमा अपहरणसम्मका घटना न्यायाधीशमाथि हुन सक्छन् । यस्ता जोखिम पनि समेट्ने हिसाबले कानूनी व्यवस्था हुनु आवश्यक छ । कानुनमै व्यवस्था भएपछि त्यो बाध्यकारी हुन्छ । अन्यथा यस विषयलाई गम्भीरतापूर्वक लिइन्न ।’
छिटो कानून नल्याउँदा न्यायालयकै छवि धमिलिएको उनको ठहर छ ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया