आइतबार, फागुन १७, २०८२

सीप र रोजगारमूलक कार्यक्रम एकीकृत रुपमा सञ्चालन हुने

मेरोन्यूज २०७८ भदौ २१ गते १७:४५

काठमाडौँ । विभिन्न मन्त्रालय र निकायमार्फत अलग अलगे कार्यान्वयन भएका सीप र रोजगारमूलक कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थ मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्चपदस्थ अधिकारीले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरुपले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

श्रम, शिक्षा, कृषि तथा पशुपछी, सहकारी, युवालगायत मन्त्रालय र मातहतका निकायबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमलाई विषयगतरुपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने निचोड निकालिएकोे छ ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरूपले सञ्चालन गर्नेगरी नीतिगत तयारी गर्न निर्देशन दिए ।

‘एकै प्रकृतिका कार्यक्रम धेरै निकायबाट भइरहेको छ, यसरी काममा प्रभावकारिता नआउने भएकाले तिनलाई केन्द्रिकृत गर्ने गरी तयारी गर्नुस्,’ उनले भने, ‘हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ ।’

तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले सीपमूलक तालिम एकद्वार प्रणालीबाट सञ्चालन गनुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई विषयगत हिसाबले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाए ।

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायलाई आग्रह गरे । यसरी एकीकृत प्रणालीबाट कार्यक्रम सञ्चालन गर्दा लागत प्रभावीसमेत हुने उनको भनाइ छ ।

प्रतिक्रिया