प्रधानमन्त्रीले मागे मन्त्री बन्ने नेताहरूको नाम, साँझ पुनः गठबन्धन दल बैठक बस्ने

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनका नेताहरूसँग मन्त्री बन्ने नेताहरूको नाम आफूलाई दिन आग्रह गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको करिब दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका देउवाले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने दलहरूसँग पार्टीभित्र छलफल गरी मन्त्रीहरूको नाम दिन आग्रह गरेका हुन् ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्रीले सत्ता सहयात्री दलहरूसँग मन्त्रीको नाम माग गरेको पुष्टि गरिन् । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार हुन नसकेको र त्यसले नकारात्मक सन्देश मात्र गइरहेको छ, अब ढिलो गर्नु हुँदै हुन्न, तपाईहरूले मलाई पार्टीभित्र छलफल गरेर नाम दिनुस्, म तत्कालै मन्त्रिपरिषद् विस्तार गर्छु भन्नु भएको छ,’ प्रधानमन्त्री देउवाको भनाई उदधृत गर्दैै जनमोर्चा नेतृ पौडेलले मेरोन्यूजसँग भनिन्, ‘साँझ फेरि ६ बजे बैठक बस्ने कुरा भएको छ, गठबन्धनको । सकभर प्रधानमन्त्रीले साँझको बैठकमा आउँदा नाम टुंगो लगाउन चाहनु भएको होला ।’
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
अन्य दलका नेताहरूले पनि पार्टीभित्र आन्तरिक परामर्श गर्ने बताएका थिए । आजको बैठकमा एमसीसीका उपाध्यक्ष फातिमा सुमारसँग भेट गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल र जसपाका अध्यक्ष यादवले भेटबारेमा बिफ्रिङ गठबन्धन दलको बैठकमा गराएका थिए ।
प्रधानमन्त्री देउवाले पनि आफूले ४ बजे सिंहदरवारमा भेट्न लागेको र भेटपछि यस विषयमा थप छलफल गरौँला भनेको पौडेलले बताइन् । उनका अनुसार दलहरूको बैठकमा संसदमा पेश गर्नु पर्ने अध्यादेश, विपक्षी दल नेकपा एमालेले सदन अवरोध गरिरहेको विषयमा पनि छलफल भएको थियो । सदन आज दिउँसो १ बजेका लागि बोलाइएको छ । मन्त्री परिषद्को बैठकअगाडि देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।
‘अहिले अध्यादेशहरू टेबल गर्ने तयारी छ, ती नै विषयमा छलफल भयो, साथै संसद्लाई निरन्तर बिजनेस दिनु पर्ने छ, त्यसका लागि सरकारले कस्ता विधेयकहरूलाई अघि बढाउने ? भन्ने विषयमा पनि सामान्य छलफल भयो,’ पौडेलले भनिन् ।
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया