सेप्टेम्बर ११ को हमलाको २० वर्ष : युद्ध निम्तियो, आतंकवादको ग्राफ बढ्दो

११ सेप्टेम्बर, २००१ अर्थात २० वर्षअघि आजकै दिन । अमेरिकामा पर्ल हार्बर हमलापछिकै सबैभन्दा त्रासदीपूर्ण हमला भयो । न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टर, अमेरिकी रक्षा विभाग पेन्टागनमा भएको हमलामा तथा पेन्सिलभेनियामा आतंकवादीले अर्को हमलाका लागि गरेको विमान अपहरण असफल पार्ने क्रममा भएको दुर्घटनासहित सेप्टेम्बर ११ को घटनामा २ हजार ९७७ जनाले ज्यान गुमाए । करिब चार जना प्रहरी र अग्नि नियन्त्रकहरु समेत मारिएका थिए ।
यो घटनामा २ वर्षीय बालक क्रिष्टिन ली हेन्सनदेखि ८२ वर्षीया रोबर्ट नोर्टनले समेत ज्यान गुमाए। हेन्सन आफ्ना बाबु पिटर र आमा सुसँगै विमान थिए भने भने रोबर्ट श्रीमती ज्याकलिनसँगै एउटा विवाह समारोहका सहभागी हुन जाने क्रममा विमान अपहरणमा परेका थिए । अमेरिकाको ट्विन टावरमा हमला भएको यो नै पहिलो घटना भने होइन । सन् १९९३ मा भएको हमलामा ६ जना मारिएका थिए ।
चर्चित किताब ‘द ओन्ली प्लेन इन द स्काई द ओरल हिस्ट्री अफ ९/११’ मा गारेथ एम ग्राफ लेख्छन्, ‘९/११ मा भएको हमलामा ३ हजारभन्दा बढी बालबालिकाले आफ्ना बाबुआमा गुमाएका थिए । यिनीहरुमध्ये करिब १ सय जना बच्चा यस्ता थिए, जो हमलाको केही महिनापछि जन्मिएका थिए र उनीहरु आफ्ना बाबुको मुख देख्न पाएनन् । संख्याको कुरा छाडौं त्यसदिन अमेरिकामा रहेका हरेक जीवित अमेरिका र संसारभरका मानिसहरुको जीवनमा असर पा¥यो। जसले यो समाचार सुनेका थिए ।’

हमलाको निशाना
आतंकवादीले अपहरण गरेका चार अमेरिकी विमान एक पछि अर्को गर्दै भवनहरुमा ठोक्काइएको थियो । दुई वटा विमानले वल्ड ट्रेड सेन्टर, एउटा विमान पेन्टागनमा ठोक्काइएको थियो भने र एउटा विमान पेन्सिलभेनियामा दुर्घटना भएको थियो ।
पहिलो विमान स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा र दोस्रो विमान ९ बजेर ३ मिनेटमा ठोक्काइएको थियो । भवनको करिब मध्यभागमा विमान ठोक्काएपछि तीभन्दा माथिल्लो तलामा भएका मानिसहरु फसेका थिए ।
करिब २ घन्टामा ११० तले भवन भग्नावशेषमा परिणत भयो । बिहान ९ बजेर ३७ मिनेटमा पेन्टागनमा हमला गरियो । जसले सैनिक मुख्यालयको पेश्चिमी मोहडामा क्षति पुग्यो । अमेरिकी संसद भवनमा हमलाको लक्ष्य राखेको अनुमान गरिएको चौथो विमान भने पेन्सिलभेनियामा यात्रुहरुले प्रतिरोध गर्दा दुर्घटना भयो ।
सेप्टेम्बर ११ को हमलामा ७७ देशका नागरिकहरु मारिए । हजारौं मानिसहरु घाइते भए भने हमलाका कारण बनेको घातक भग्नावशेषका कारण धेरैको स्वास्थ्यमा जटिल समस्या देखा प¥यो ।
यो हमलाका प्रमुख दोषी ओसामा बिन लादेनलाई मानिन्छ । उनी अमेरिकी कारबाहीमा सन् २०११ मे २ मा पाकिस्तानको एबोटाबादमा मृत्यु भइसकेको छ । अफगानिस्तानमा बसेर लादेनले नै यो घातक योजना बनाएको विश्वास गरिन्छ । लादेन नेतृत्वको अलकायदा मुस्लिम देशहरुमा चलेका द्वन्द्वमा अमेरिका र उसका सहयोगी देशहरु जिम्मेवार रहेको ठान्छ । यसैको बदला लिन अलकायदाले अमेरिकामा शृङ्खलाबद्ध हमला गरेको थियो ।
हमलाका लागि प्रयोग भएका १९ जनामध्ये ५/५ जनाको तीन र ४ जनाको एउटा टोली थियो । हरेक समूहमा विमान चलाउन सक्ने व्यक्तिहरु थिए । त्यतिमात्रै होइन विमान चलाउने तालिम पनि अमेरिकामै लिइएको थियो । ओसामा बिन लादेनसहित १५ जना हमलाकारी साउदी नागरिक थिए भने दुई जना संयुक्त अरब इमिरेड्स, एक जना इजिप्ट र एक जना लेबनानका नागरिक थिए ।
यो हमलामा सबैभन्दा बढी साउदी नागरिकहरु संलग्न रहेकाले हमलामा साउदीको संलग्नतालाई लिएर प्रश्न उठेको थियो । तर पनि अमेरिका र साउदीबीचको सम्बन्धमा दरार भने देखिएन । अझै पनि अमेरिकामा सेप्टेम्बर ११ को हमलामा साउदीको संलग्नताबारे अनुसन्धानको माग बेलाबेला उठ्ने गर्छ ।
बमजस्तै शक्तिशाली विमान हमला
दुई वटा विमान ठोक्काइएको ट्विन टावर हमलामा सबैभन्दा धेरै भौतिक र मानवीय क्षति भयो । आधिकारिक तथ्यअनुसार प्रत्येक विमानमा करिब १० हजार ग्यालेन अर्थात ३७ हजार ८५० लिटर इन्धन थियो । मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का सिभिल एन्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ विभागबाट रिटायर्ड भएका प्राध्यापक एडुवार्डो कौसेल भन्छन्, ‘यो आफैंमा एक उडिरहेको बम थियो ।’
विमानमा भएको अधिकांश इन्धन विमान ठोक्किदा निस्किएको आगोसँगै जलेको थियो । तर धेरै इन्धन भवनको तल्ला तलाहरुसम्म खसेको थियो । जसले गर्दा भवनको तलैसम्म आगो लाग्न पुगेको थियो । जसका कारण सिंगो ट्विन टावर २ घन्टाभित्रै खरानी बन्यो ।
अमेरिकाको आक्रामक कारबाही
सेप्टेम्बर ११ को हमला सिंगो अमेरिकी सभ्यतालाई त्रसित पार्ने घटना थियो । त्यसैले अमेरिका यसको बदला लिन हतारियो । सेप्टेम्बर ११ को हमलाको एक महिनाभित्रै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अलकायदा र ओसामा बिन लादेनलाई समाप्त पार्नका लागि अफगानिस्तानमा हमला गरे ।
अमेरिकालाई यो हमलामा नेटोका अन्य देशहरुले पनि साथ दिए । करिब १० वर्षपछि २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको एबोटाबादमा हत्या ग¥यो । ११ सेप्टेम्बरको हमलाका योजनाकार मानिएका खालिद शेख मोहम्मदलाई पाकिस्तानमा सन् २००२ मा हिरासतमा लिइयो । त्यसबेलादेखि नै ग्वान्टानामो बन्दीगृहमा रहेका उनको अहिलेसम्म सुनुवाइ भएको छैन ।
अलकायदा अहिले पनि सक्रिय छ र अफ्रिकाको सब–सहारा क्षेत्रमा केही बलियो उपस्थिति छ । यद्यपि अझै पनि अलकायदा अफगानिस्तानमा समेत छ । २० वर्षपछि अमेरिका ३१ अगस्टमा अफगानिस्तान छाडेर फर्किएको छ । अमेरिका फर्किएसँगै अफगानिस्तानमा अमेरिकी आक्रमणसँगै ढलेको तालिबान सत्ता पनि फर्किएको छ ।
अमेरिकाले अफगानिस्तानमा ७ अक्टोबर, २००१ मा हमला गरेपछि ३१ अगस्ट, २०२१ सम्म १९ वर्ष, १० महिना, ३ हप्ता, २ दिन अमेरिकी सेना अफगानिस्तानमा रहे । यो युद्धमा सबैभन्दा बढी अफगान नागरिक पिल्सिए । अफगान युद्धमा करिब ५ लाख अफगानी सर्वसाधारणले ज्यान गुमाए भने झण्डै ७० हजार अफगान सुरक्षाकर्मी, २४ सय अमेरिकी सेनासहित गठबन्धनका ३ हजार ५ सयको हाराहारीमा विदेशी सेना मारिदाँ ५२ हजारभन्दा बढी तालिबान लडाकू, २ हजारको हाराहारीमा अलकायदाका लडाकु र २४ सयभन्दा बढी आईएसआईएस–के का लडाकूहरु मारिएका छन् ।
सुरक्षा कडा, जोखिम उस्तै
पछिल्ला दुई दशकभन्दा लामो समयदेखि विश्वभर नै आतंकवादी गतिविधि बढेको छ । विश्वमा आतंकवादविरोधी अभियानले आतंकवादीलाई निरुत्साहित गर्नुको साटो झनै आतंकवादाको खतरा उत्पन्न भएको छ ।
अमेरिका र युरोपेली देशमा यस्ता घटनाहरु २ दशकअघि भन्दा बढेका छन् । ११ सेप्टेम्बरको हमलापछि संसारभरी सुरक्षा सुदृढ पारियो । अमेरिकामा विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना भयो ।
ट्विन टावर भग्वावशेषमा परिणत भएको ‘ग्राउन्ड जीरो’ सफा गर्न मात्रै आठ महिनाभन्दा बढी समय लागेको थियो । जहाँ अहिले एउटा स्मृतिकेन्द्र र संग्रहालय बनाइएको छ । नवनिर्मित वल्र्ड ट्रेड सेन्टर वा ‘फ्रीडम टावर’ १ हजार ७७६ फिट अग्लो छ । पेन्टगनको पुनर्निर्माणमा झण्डै एक वर्ष लागेको थियो ।
अमेरिकाले आतंकवादी हमलापछिको पुनर्निर्माण छिटो गर्नुका साथै अफगानिस्तानसहित केही देशमा हमला गरेर आफ्नो शक्ति मजबुत रहेको र अमेरिकामा हमला गर्ने जो कोहीलाई सबक सिकाउने सन्देश दिन खोजेको अमेरिकासहित पश्चिमा राष्ट्रमा त्यसपछि आतंकवादी हमलाको ग्राफ बढेको देखिन्छ ।
प्रतिक्रिया