आइतबार, वैशाख २८, २०८२

पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

मेरोन्यूज २०७८ असोज ३ गते १५:१३

बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढदै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो ।

लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रुपमा छलफल, बहस हुँदै आए पनि यसअघि कुनै पनि हवाई कम्पनीले आफनो व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो ।

सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर ग¥र्यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ ।

कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक अहप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि दैनिक रुपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए ।

नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए ।

कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगन्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ ।

यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए ।

रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् । -रासस

प्रतिक्रिया