बिहीबार, पुष ३, २०८२

सम्झनामा कमला भासिन

मिडियाहरू महिलालाई ‘तन्दुरी मुर्गी’ देख्न किन रुचाउँछन् ?

कमला भासिन २०७८ असोज ९ गते १३:११

‘जेन्डर’ अर्थात् ‘लैङ्गिकता’ हामीले व्याकरण पढ्दा उहिल्यै सुनेको शब्द । स्त्री लिङ्ग र पुरुष लिङ्ग । समाजले जसरी केटा र केटीको परिभाषा दिन्छ, त्यो नै ‘जेन्डर’ हो । केटा र केटीको सामाजिक÷सांस्कृतिक परिभाषा नै जेन्डर हो । मानौं, मेरो दुपट्टा मलाई भगवान वा कुनै सृष्टिकर्ताले दिएको होइन कि म यसलाई लगाउँ । यो समाजले नै मलाई ओढाइदिएको हो।

‘तँ महिला होस् यसर्थ, तैंले आफूलाई यसले ढाकेर राख्’ भनेर प्रकृतिले मलाई निर्देस गरेको छैन। यो समाजले पुरुषलाई कहीँ पनि गएर पिसाब गर्न छुट दिएको छ तर महिलाले त्यसो गर्नूपूर्व दर्जनौं पटक सोच्नुपर्छ । पुरुषलाई लजाउनुपर्ने कुनै कारण छैन । महिलालाई त ‘तिमीहरू लजाउनुपर्छ’ भनेर सिकाइएको छ। यही सिकाइ हो जेण्डर। समाजले दिएको यही परिभाषा हो जेन्डर । प्रकृतिले बनाएको महिला–पुरुषलाई समाजले भिन्न ढंगले व्यवहार गर्‍यो, महिला पुरुषलाई बेग्लै तरिकाले हेरियो।

जस्तैः म छु, मेरो दुई परिभाषा छन् । शरीरले म महिला हुँ। मेरो शरीरमा बच्चा हुर्काउन म सक्छु, बच्चालाई दुध पिलाउन सक्छु । तर त्यो काम मेरो भाईले गर्न सक्दैन । उ महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने तागत राख्छ तर बच्चा जन्माउनै चाहिँ सक्दैन। यो प्रकृतिले बनाएको कुरा भयो। अपरिवर्तनीय। पूरै दुनियाँमा महिला र पुरुषका प्राकृतिक भूमिका एउटै छ।

यसर्थ, जैविक रूपले महिला र पुरुष देखिने र चिनिने गरी बेग्लै छन्। त्यो लिंग हो । तर समाजले महिला र पुरुषलाई फरक ढंगले व्यवहार गर्छ, त्योचाहिँ जेन्डर हो । महिला–पुरुषको प्राकृतिक परिचयलाई हामी लिंग भन्छौ, सामाजिक–सांस्कृतिक रूपको परिचयलाई चाहिँ जेण्डर। बायोलोजीकली सेक्स र सोसियो– कल्चरल्ली जेन्डर । हाम्रो समाजले केटीलाई अधिकार र जिम्मेवारीहरू छुट्टयाएको छ तर त्यो कुरा प्रकृति वा सृष्टिकर्ताले यसै गर्नुपर्छ भनेर पठाएको होइन।

केटाले ‘रुनु हुँदैन’ भनेर सिकाएको छ समाजले। मानौँ, कोही पुरुषको आमा बितेको छ। उसलाई चिच्याएर रुन मन लाग्छ। तर उ रोएमा समाजले उसलाई काँतर भन्छ । यही हो जेन्डर । आमासँगै भान्सामा काम गर्न चाहन्छ छोरा । आमाकै जस्तो रङको लुगा लगाउन मन लाग्छ तर समाजले ‘के भन्लान्’ भनेर उसलाई अप्ठ्यारो लाग्छ। महिलालाई जस्तै छोरा मान्छेलाई पनि रातको समयमा घर बाहिर निस्किन डर लाग्छ। रातमा सबै मान्छे बाहिर जान डराउँछन्।

मलाई मेरो शिक्षाका लागि लगानी गर्न बाआमा डराउनुहुन्छ। तर मेरा बुवा मेरो भाईका लागि अमेरिका जानकै लागि ऋण लिनुहुन्छ। के मेरो परिवारले मेरा लागि ऋण लेला ? लिँदैन। मेरो भाई राती अबेर घर आउन सक्छ तर म त लाइब्रेरी पनि जान सक्दिनथेँ बेलुका ७ बजेपछि।

तर केटा मान्छेलाई ‘छोरो मान्छे भएर पनि डराउँछन्’ भनेर प्रश्न गरिन्छ । यही हो जेन्डर।


जबसम्म महिला मुक्त हुन्नन् तवसम्म पुरुष पनि मुक्त हुन सक्दैन । किनकी महिला र पुरुष एक दोस्रोमा अलग होइनन् । हामी सँधैका लागि साथ रहनुपर्छ । यसर्थ, कसैले पनि आफ्नो बहिनी र छोरीहरूको चौकिदार नबनुन् । कहिलेसम्म तिमीहरू बहिनी र छोरीको चौकिदारी गछौँ ? अब त मुक्ति देऊ । उनलाई आफैंमा सक्षम बनाउ । ख्याल राख, भोलि तिमी कुनै दुर्घटनावशः असक्षम भयौँ भने त्यतिबेला तिमीलाई दुखि हुनुपर्ला। जब कुनै छोरी भारतमा जन्मन्छे अर्थात् म जन्मन्छु, मानिसहरू निराश हुन्छन् । लाखौँ परिवारहरूमा गर्भमै मजस्ता छोरीहरूको लिङ्ग परीक्षण हुन्छ अनि मलाई मारिदिन्छन् । अनि ठाउँ–ठाउँमा समाज र घरले मलाई भन्छ–तेरो यो घर तेरो होइन, तँ पराईको धन हो । तर छोरालाई भनिन्छ – तँ कुलको दीपक हो।

इकनमिक सर्वे अफ इन्डियाले नि भनेको छ कि भारतमा केटीहरूको संख्या घट्दै गइरहेको छ । उनीहरूको शंख्या घट्दैछ किनकि उनीहरू गर्भमै मारिन्छन्। उनीहरूलाई पैदा हुन नै दिइँदैन । अनि भनिन्छ,–‘यो देवीहरूको देश हो, यहाँ देवीको पूजा गरिन्छ ।’ मारिने लाखौं बच्चीहरूका लागि एक दिन मात्र पनि संसद बन्द हुन्छ त ? हत्या गरिएका हरेक बच्चीका लागि एक सेकेण्डमात्रै भएपनि मौन बस्ने हो भने थाहा छैन, कति दिन मौन रहनुपर्ला हामी ? तर, कसैलाई केही मतलव छैन।

सबैभन्दा बढी आर्थिक विकास भएका राज्यहरूमै छोरीहरू गर्भमै मारिन्छन्। संयुक्त राष्ट्र संघले भनेको छ कि तीनजनामध्ये एक महिला हिंसाको शिकार भएका छन्। योभन्दा ठूलो युद्ध अर्को के हुनसक्छ ? करोडौं मानिसलाई तल दबाउँदा के होला ? हत्या, बलात्कार, घरेलु हिंसा र मनोवैज्ञानिक हिंसाका रूपमा महिलामाथि अत्याचार जारी छ । र, सबैभन्दा बढी दुःखको कुरा के छ भने यस्ता अपराध सबैभन्दा बढी परिवारभित्र हुन्छ ।

प्रकृतिले अहिलेसम्म भनेको छैन कि गुलाब ज्यादा सुन्दर छ । गुलाब पनि सुन्दर छ र सयपत्री पनि उत्तिकै सुन्दर छ । हामीले भनेको छौँ कि हामीलाई लैङ्गिक समानता चाहियो । ‘सेक्स इक्वलिटी’ चाहिएको छैन। न त्यो हुन सक्छ।

महिला वा पुरुष मध्ये एक ठूलो हो भनेर सृष्टिकर्ताले कहिले पनि भनेको छैन। बरु वैज्ञानिक तथ्यका आधारमा हामी भन्न सक्छौं कि प्रकृतिले दुबैलाई बराबरी बनाएको छ । र, यो दुनियाँ तबसम्म चल्छ जब यी दुबैले काम गर्छन् । प्रकृतिले अहिलेसम्म भनेको छैन कि गुलाब ज्यादा सुन्दर छ । गुलाब पनि सुन्दर छ र सयपत्री पनि उत्तिकै सुन्दर छ । हामीले भनेको छौँ कि हामीलाई लैङ्गिक समानता चाहियो । ‘सेक्स इक्वलिटी’ चाहिएको छैन। न त्यो हुन सक्छ।

यो अवधारणा यसकारण चाहिएको हो कि मान्छेहरू नबुझीकनै बहस गरिरहेका छन्। जब हामी लैङ्गिक समानताको कुरा गछौँ, उनीहरू भन्नेछन् कि हामी पुरुषजस्तो बन्न खोज्दैछौँ। त्यस्तो होइन, हामी समान अवसर, समान अधिकार र समान जिम्मेवारी चाहन्छौँ । जेण्डरका कारण हुने विभेद चाहन्नौं। आजका दिनमा पनि थोरै मिडियाहरू समानताको पनि कुरा गर्छन् । गहिरो गरेर हेर्दा आज पनि ८०÷९० प्रतिशत मिडिया रुढीग्रस्त धारणाले जेलिएका छन्, जुन दुखद हो। फिल्महरू नै हेरौं न, टिभि सिरियलहरू हेरौं न ः– एकाध फिल्म आउँछन्, जहाँ केटीहरू कमाल गर्छन्। बाँकी ७०÷८० प्रतिशत फिल्म हेर्‍यौं भने उही रुढीग्रस्त धारणा व्याप्त छ। यदि पोर्नोग्राफीलाई पनि मिडिया मान्ने हो भने त त्यसले कति नोक्सान गरीरहेको होला ?

हलीवुड र बलीवुडका विज्ञापन नै हेरौं :-


अहिले पनि कति वासिङ मेसिनको विज्ञापनमा पुरुषलाई देखाइन्छ ? परिवर्तन त अलिअलि भइरहेको छ तर १०÷१२ प्रतिशतमात्रै। केही विज्ञापन यस्ता हुन्छन् जहाँ श्रीमानले श्रीमतीलाई माया गरेर प्रेसर कुकर उपहारस्वरुप दिन्छ । त्यसैले, प्रेसर कुकरचाहिँ महिलाको र मोटरसाइकलचाहिँ पुरुषको रहँदै आयो। यदि मेरो छोरी ५÷६ वर्षकी छे भने उसले आफ्नै मोटरसाइकलमा घुम्ने सपना पनि देख्न नपाउनु ? उसलाई पनि प्रेसर कुकर वा वासिङ मेसिन नै चाहिने ?

बारबार महिलाहरूलाई रोनाधोनामा संलग्न देखाइन्छन्। रियालिटी सोहरूमा त्यस्तै देखाइन्छ। मिडियाको तागत यति हुन्छ कि मिडियाले तपाईंको दिमाग विहानदेखि बेलुकासम्मै बदल्न सक्छ। भारतको संविधानले महिला र पुरुष एक हो भन्छ। त्यसो हुँदा मिडियाको स्टेरियोटाइपिङ (रुढीग्रस्त धारणा) स्वयं संविधानविरुद्ध छ । जति पनि रुढीग्रस्त धारणा हुने मिडिया छन्, यी सबै संविधानविरुद्ध छन् ।

म एउटा रियालिटी सो हेर्दैथिए, त्यसमा ‘शिला कि जवानी, मुन्नी बदनाम हुई, फेविकलसे तन्दुरी मुर्गी हुँ, मुझे विस्कीसे घट्काले’ जस्ता गीतमा केटीहरू एक्साइटेड भएर नाचिरहेका थिए। मलाई यी नाचहरू नरम नग्नफिल्म (सफ्ट पोर्न) जस्तो लागिरहेको थियो। उनीहरूको ‘वस्तुकरण’ भइरहेको थियो । उनीहरू एउटा यौन वस्तु हुन् र उनीहरू गाना गाउँदैछन् कि ‘में तन्दुरी मुर्गी हुँ, मुझे विस्कीसे घट्काले।’ मतलव, मलाई क्वाप्पै खाउ, सुलुक्क निल। यो मेरो औकात हो । मिडियाहरू एउटी महिलालाई एउटा चिज अथवा वस्तु अथवा ‘तन्दुरी मुर्गी’ देख्न किन रुचाउँछन् ?

यी मिडियाहरू बराबरी देख्न किन मन पराउँदैनन् ? महिला केबल शरीरमात्रै होइन भनेर मिडियाहरू किन बुझ्दैनन् ? हामी विचार÷मष्तिस्क पनि हौं। भोलि नास भएर जाने यो शरीररमा सुन्दरतामात्रै छैन । हाम्रो सुन्दरता हाम्रो विचार, आचरण र काम पनि हो । मिडियाले यो पनि बुझुन्।

(महिला अधिकारकर्मी कमला भासिनको विभिन्न सञ्चार माध्यमहरुमा उपलब्ध अन्तर्वार्तामा आधारित सामाग्री । केही महिनाअघि क्यान्सरको लक्षण देखिएकी कमला भासिनको शनिवार विहान निधन भएको छ । उनको सम्झनामा सञ्चारमाध्यमहरुमा उपलब्ध सामाग्री साभार गरि प्रकाशित गरेका हौं । स. )

प्रतिक्रिया