बुधबार, पुष २, २०८२

जिउँदो खसी बोकाको मूल्य निर्धारण

मेरोन्यूज २०७८ असोज १५ गते १३:०६

काठमाडौँ । दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यस वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी १५ र बोकाको खरिद मूल्यमा ४५ रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ ।

त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी ५४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखित रुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

दसैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोका खरिद गरी काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६ सय र दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो ।

लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

प्रतिक्रिया