एउटै मञ्चमा प्रचण्ड र बाबुरामको जुहारी
प्रचण्डले भने–पूर्व माओवादी एक होऔं, बाबुरामले भने–भावनामा नबगौं

काठमाडौं । दश वर्षे सशस्त्र युद्धमा सँगै लडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईको राजनीतिक यात्रा फरक फरक छ ।
फरक राजनीति बाटोमा हिडेका दुई नेता शुक्रबार एक कार्यक्रमको मञ्चमा सँगै रहे । प्रगतिवादी कवि दीलिपकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘सपनाको पाण्डुलिपी’ विमोचनका सन्दर्भमा दुई नेतालाई एउटै मञ्चमा उभ्याएका हुन् ।
कम्युनिस्ट राजनीतिक विचारबाटै टाढा भइसकेका भट्टराईलाई लक्षित गर्दै प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता औंल्याए ।
प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने तर्क गरे ।
सबै एक भए शासकीय स्वरुप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु¥याउन सकिने प्रचण्डको भनाई थियो ।
माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमिक्षा गर्नुपर्ने जरुरी रहेको प्रचण्डको भनाई थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफुहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्नेसमेत उल्लेख गरे ।
तर जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईलाई प्रचण्डको कुरा चित्त बुझेन । डा. भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे ।
उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए । ‘सबै पूर्वमाओवादी एकै ठाउँ आँउ भन्ने होइन, सबै पूर्वमाओवादीहरु नयाँ ठाउँमा जाँऊ भन्नुप¥यो क्या ।’–भट्टराईले भने ।
प्रतिक्रिया