बिहीबार, मंसिर २७, २०८१

अन्तर्वार्ता

‘नाकाबन्दीमा कतार आत्मनिर्भर बन्यो, नेपाल परनिर्भर’-मोहम्मद रमजान अली मियाँ, प्रोफेसर

नरेन्द्र रौले २०७८ असोज १६ गते १९:३२

प्रोफेसर मोहम्मद रमजान अली मियाँको व्यक्तित्व बहुआयामिक छ । लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रुपमा उनी क्रियाशील छन् । राष्ट्रिय मानव अधिकार समिति कतारमा पनि आवद्ध छन् । काठमाडौंको डाँछीमा जन्मिएका मियाँले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरे । बिगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् । उनी फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषा राम्रोसँग बोल्न सक्छन् । कतारमा बिभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग र उद्धारको काममा उनले योगदान पु¥याउँदै आएका छन् । उनी छिटै नै कतार बसाईको अनुभव समेटेर लेखिएको पुस्तक सार्वजनिक गर्ने क्रममा छन् ।

नेपाल आएकाबेला लेखक रमजानसँग मेरोन्यूज डट्कमका लागि नरेन्द्र रौलेले गरेको संक्षिप्त कुराकानी ः

लामो समय कतारमा बस्नुभयो, पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

लामो समय कतार बस्दा संगालेका अनुभव, कतारमा सफल नेपाली, मैले भेटेका उद्यमीहरुसँगको कुराकानीमा आधारित पुस्तक सार्वजनिक गर्ने तयारीमा छु । ५ सय पेजको यो पुस्तक अहिले नेपाली भाषामा छ । पछि अंग्रेजी, अरेविक भाषामा पनि प्रकाशित गर्ने योजना छ ।

कतारले कसरी यति छिट्टै विकासको फड्को मा¥यो भन्ने कतार बसाइको अनुभव केही छ ?

कतारी जनताहरुमा बलियो राष्ट्रियता छ । सबैमा एकरुपता छ । कतारले बिगत १० वर्षमा चमत्कारिक विकास गरेको देखेको छु । पश्चिमा देशहरुका प्रतिष्ठित विश्वविद्यालयका ब्राञ्चहरु यहाँ स्थापना गरिएका छन् ।

कतारका शासकहरुमा साझा धारणा छ– आधुनिक बन्नु पर्छ, विकास, प्रगति गर्नुपर्छ, कतारीले विश्वमा चिनिनु पर्छ भन्ने । त्यहाँको सरकारले आफ्नो देशका प्राकृतिक स्रोत, साधनको सहि सदुपयोग गरेको पाइन्छ । सरकारमा बस्नेहरुले भ्रष्टाचार गरेको कमै सुन्न पाइन्छ ।

Advertisement

केही समयअघि मात्रै अर्थमन्त्री अलि शरिफ अल इमाधिलाई भ्रष्टाचारको मामिलामा घरबाटै पक्राउ गरियो । मलाई लाग्छ, कतारको इतिहासमै यो नै पहिलो घटना होला । भ्रष्टाचारको शंका मात्र लागेको हो । पुष्टि भने भइसकेको छैन । उनी सक्षम मन्त्री थिए । तैपनि अनुसन्धान गरिदैछ । भ्रष्टाचारमा शून्य सहनसिलता यसलाई भनिन्छ ।

सूचना तथा प्रविधिको विकास भए पनि कतारले हुलाक सेवालाई झन् बलियो र प्रभावकारी बनायो । पासपोर्ट जस्ता डकुमेन्टहरु हुलाककै माध्यमबाट मगाउने प्रवन्ध मिलाइयो । कतारका छापा माध्यमहरुलाई झन् शसक्त बनाइयो । पुरै देश प्रविधिमय छ । देशभरी सीसीटीभी क्यामेरा लगाइएको छ । एउटा क्यामेराले १० जना व्यक्ति बराबरको काम गर्छ ।

सन् २०१७ मा कतारमाथि नाकाबन्दीमा लगाइँदा कसरी सामना ग¥यो होला ?

कतारमा चारैतिरबाट नाकाबन्दी लाग्यो । संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरब सबैतिरबाट चौतर्फी कठोर नाकाबन्दी लाग्यो । मानवीय संकट निम्तियो । यद्यपि संकटकाबीच पनि कतारले नयाँ नीति अपनायो ।

आफ्नो देश बाहिरबाट कुनै पनि उत्पादनहरु आयात गरेन । औषधि, दुध, कपडा, खाद्यान्न जस्ता कुनै पनि सामान आयात गरेन । प्लेनमै २४ हजार गाई ल्याएर आफ्नै देशमा गाई फार्मको सुरुवात गयो । यस्तै तरकारीका लागि ७ सय वटा कृषि अर्गानिक फार्मको सुरुवात ग¥यो ।

संसारमै दोस्रो ठूलो पानीको भण्डार पनि कतारमै सुरु गरियो । त्यसैगरी विशाल अस्पताल, एलपीजी ग्यासको उत्पादन धमाधम सुरु भयो ।

कतारले नाकाबन्दीबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने पाठ सिक्यो । रातारात द्रुत गतिमा प्रगति ग¥यो । जुन विश्वका लागि नै अनुकरणीय बनेको छ ।

कतार सरकारले आफ्ना नागरिकका लागि गरेका राम्रा कामका उदाहरणहरु के हुन् ?

कतार आफ्ना नागरिकको सहयोगका लागि हरदम तयार छ । एकदमै सस्तोमा अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

कतारमा एक रियालमा दही, एक रियालमै ८ वटा रोटी किन्न पाइन्छ । सन् १९९५ पछि यो मूल्य बढेको छैन । गरिब मानिस भोकले नमरोस्, बेरोजगार मानिस पनि थोरै मूल्यमा किनेर खान सकोस् भन्ने उद्देश्य हो ।

नेपालले कतारबाट कसरी फाइदा लिन सक्ला ?

कतारबाट हामीले पर्याप्त मात्रामा पर्यटक भित्र्याँउन सकेमा नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । नेपालमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । कतारीहरु सिकार खेल्नकै लागि पाकिस्तान, मोरक्को, ओमान लगायतका देशहरुमा पुग्छन् । नेपालमा पनि ढोरपाटनमा सिकार खेल्ने ठाउँ छ, त्यसको प्रचार–प्रसार गर्न सक्ने हो भने पर्यटकको ओइरो लाग्छ ।

यस्तै जल पर्यटन, पदयात्रा, शाहसिक खेलका क्षेत्रमा पनि प्रशस्त सम्भाबनाहरु छन् । अचेल गाउँ–गाउँमा होम स्टेहरु खुलेका छन् । त्यहाँ पनि पर्यटकहरुलाई पु¥याउन सक्ने हो भने गाउँको पनि जीवनशैली फेरिन्छ ।

कतारमा नेपालीहरुको उपस्थिति ठूलो छ, नेपालीहरु कतिको सफल रहेको देख्नुहुन्छ ?

कतारमा नेपालीहरुको जनसंख्या अहिले तीन लाख छ । अझ नाकाबन्दी लाग्नु अगाडि त हामी ४ लाख ५० हजार थियौं ।

कतारमा कतारीहरुको जनसंख्या ३ लाख ३० हुँदा नेपालीहरुको जनसंख्या तीन लाख ६५ पुगेको थियो । नेपालीहरुले हरेक क्षेत्रमा राम्रो प्रगती गरेका छन् । कामदारकै रुपमा कतार पसेकाहरु मालिक बनेका छन् । कैयौंलाई रोजगारी दिएका छन् ।

सफलताका प्रशस्त उदाहरण छन् ।

कतारमा समस्यामा परेका नेपालीहरुले के अपेक्षा गर्न सक्लान् तपाईँबाट ?

श्रमिकको हक, हितका लागि लडिरहेको छु । श्रमिकहरुले बिभिन्न समस्या भोगिरहेका छन् । नेपाली हेल्प डेस्कको म संयोजक, प्रमुख छु । अफ्ठ्यारोमा परेका, जस्तोसुकै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने गरेको छु ।

कतारको श्रम ऐन २०१६ अरेविकबाट नेपालीमा अनुवाद गरेको छु । मानव अधिकारमा म स्वंयसेवक छु । पछि नेपाल फर्केर आफूले जानेको, सिकेको काम यतै सुरु गर्ने योजना छ ।

प्रतिक्रिया