एमालेको विधान महाधिवेशन आज सकिने

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै एमालेले विधान महाधिवेशनको समापन गर्ने भएको हो ।
गत शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी महाधिवेशन आजको अन्तिम दिन हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदनमाथि समूहगत छलफल सकिएसँगै प्रतिवेदन प्रस्तुतकर्ताले त्यसको जवाफ दिने भएका छन् । यससँगै विधान महाधिवेशनको समापन गरिने छ ।
पार्टीका तीन नेताहरूले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न क्षेत्रबाट १० समूहमा प्रतिनिधिहरूलाई विभाजन गरिएको थियो । त्यसमध्ये पाँच समूहले शनिबार समूहगत निष्कर्ष सुनाएका थिए ।
त्यसमध्ये आज बाँकी ५ समूहको निष्कर्ष सुनेपछि प्रतिवेदन प्रस्तुतकर्ताहरु त्यसको जवाफ दिने कार्यक्रम रहेको छ । विधान महाधिवेशनमा देशभरबाट कूल ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया