राजनीतिको चक्रव्यूहमा बुढीगण्डकी जलाशयुक्त आयोजना

काठमाडौं । राजनीतिक चपेटाका परेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई जग्गा दिएका स्थानीयबासी आन्दोलनमा छन् ।
सात वर्ष पहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको भएपनि हालसम्म आयोजना कुन मोडलमा निर्माण गर्ने भनेर कुनै निर्णय हुन सकेको छैन । सरकार बदलिएपछि फेरिने आयोजनाको हैसियतका कारण आयोजना करिब करिब कोमामा नै छ ।
विकास निर्माणका काममा राजनीति हुन नदिने प्रतिबद्धता राजनीतिक नेतृत्वले पटक पटक व्यक्त गरेपनि व्यवहारमा भने त्यस्तो देखिन सकेको छैन ।
सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको डीपीआर तयार पारेको थियो ।
आयोजनाको नाममा नेपाल आयल निगमले हालसम्म ७२ अर्ब रुपैयाँ उठाएको भएपनि सो रकम कहाँ कसरी र कुन प्रयोजनका लागि खर्च भएको छ भन्ने बारेमा कुनै पनि सरकारी अधिकारी बोल्न तयार छैनन् ।
अर्थ मन्त्रालयले पूर्वाधार कर मार्फत उठेको रकम सरकारको राजश्व खातामा जम्मा भएको बताउने गरेको छ ।
आयोजनाबाट प्रभावित स्थानीयले तत्काल आयोजनाको मोडल तय गर्न दबाव दिएको पनि लामो समय भयो । तर, सरकारले यसबारेमा कुनै सुनुवाई गरेको छैन ।
कम्पनी मोडलमा लैजाने हल्ला
कम्पनी मोडलमा आयोजना बनाउने हल्ला यसबीचमा चलाइएको छ । तर, त्यो हल्लाको आधिकारिताका बारेमा ऊर्जा मन्त्रालय केही बताउन तयार छैन ।
एकातिर आयोजना प्रभावित सुकुम्बासी भएको बताइरहेका छन्, अर्कोतर्फ सरकारी नीतिका कारण आयोजनाले कुनै गति लिन सकेको छैन ।
यस पटक कम्पनी मोडलमा आयोजना निर्माण गर्ने सम्बन्धी निर्णय भए आयोजनाका लागि यो पाँचौ टर्निङ प्वाइन्ट हुन जान्छ ।
तत्कालीन ऊर्जा एवम् हालका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर कामचलाउ हैसियतमा पुगिसकेको बेलामा नै एक विवादास्पद चिनियाँ कम्पनीलाई आयोजना जिम्मा दिने निर्णय गरेका थिए ।
कामचलाउ अवस्थामा पुगेको तत्कालीन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा तत्कालीन ऊर्जासचिव अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्न नमानेपछि मन्त्रीले कम्पनीका एक अधिकारीसँगै उभिएर प्रोटोकलको समेत ख्याल नगरी चिनियाँ कम्पनी गेजुवालाई आयोजना जिम्मा दिएका थिए ।
नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारले गरेको सो निर्णयको सम्बन्धमा चर्को आलोचना भएको थियो । प्रतिस्पर्धामा आयोजना दिनुपर्नेमा हचुवाको भरमा आयोजना दिइएको भन्दै आलोचना भयो ।
कामचलाउ हैसियतमा पुगेको सरकारले गरेको निर्णय हालका प्रधानन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा पुनः उल्ट्याइयो ।
एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा गठबन्धन गर्ने र पार्टी एकता समेत गर्ने निर्णय भएको सार्वजनिक भएपछि तत्कालीन सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रबीच खटपट भयो ।
सोही खटपटकोबीचमा माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता भए । ऊर्जा मन्त्रीमा कमल थापा नियुक्त भए । थापा नियुक्त भएसँगै सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्लेको संयोजकत्वमा एक अध्ययन समिति बनायो ।
समितिले आयोजना स्वदेशी लगानीमा नै कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गर्यो । त्यसमा कुन निकायले के कसति लगानी गर्ने समेत उल्लेख गरिएको थियो ।
राजनीतिक चक्रब्यूहमा आयोजना
प्रतिनिधिसभाको निर्वाचनको क्रममा काँग्रेसलगायतका दलले सोही विषयलाई राजनीतिक विषय बनाए । बुढीगण्डकीको हकमा गरिएको यो तेस्रो निर्णय थियो ।
२०७४ को मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भयो । निर्वाचन हुनु अगावै एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना पुनः चिनियाँ कम्पनीलाई दिने चिनियाँ अखबार ‘चाइना मर्निङ पोष्ट’लाई अन्तरर्वार्ता दिँदै सार्वजनिक गरेका थिए । जुन कुरा अन्तरर्वार्तामा उनले भनेका थिए, आखिर गरे पनि त्यही ।
आलोचकहरुका तालुकदार मन्त्रालयमार्फत प्रस्ताव भएर आउनुपर्नेमा नेपाली एजेन्टहरुको प्रभावका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव बुझाएर आयोजना चिनियाँ कम्पनीले त्यतिबेला हात पारेको थियो ।
पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले कूल १२ सय मेगावाट क्षमताको सो आयोजनालाई कम्पनी मोडलमा नेपाली नागरिकको समेत लगानी हुने गरी आवश्यक तयारी थालेको बताइन्छ ।
तर, त्यसका लागि यसअघि चिनियाँ कम्पनी गेजुवासँग भएको सम्झौता खारेज गर्नुपर्ने हुन्छ ।यो निर्णय भएको खण्डमा बुढीगण्डकीमाथि सरकारकै पाँचौ निर्णय हुन जान्छ ।
बुढीगण्डकी आयोजनाको हकमा डा वाग्ले नेतृत्वको प्रतिवेदन नै हालसम्मकै सबैभन्दा राम्रो र उपयुक्त प्रतिवेदनका रुपमा लिइन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायतलाई आयोजना कम्पनी मोडलमा लैजाने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको सार्वजनिक भएको छ । ऊर्जाका कुनै पनि अधिकारी यसबारेमा बताउन चाहँदैनन् ।
उनीहरुको एउटै भनाइ छ– आयोजनाको आवश्यक तयारी भइरहेको छ । स्थानीय भने आयोजनाको शीघ्र निर्णयको प्रतिक्षामा छन् । बुढीगण्डकी सरोकार समितिका संयोजक हरेराम ढकालले शीघ्र आयोजनाको मोडालिटी तय गर्न र स्थानीयलाई मुआब्जा वितरण हुनुपर्ने बताए ।
नेपालको ऊर्जा सुरक्षाका लागि समेत महत्वपूर्ण
नेपालको ऊर्जा सुरक्षाका लागि समेत महत्वपूर्ण मानिएको आयोजनामा भूराजनीतिक चलखेल पनि उत्तिकै छ । आयोजनामा जम्मा हुने पानीको विषयमा भारतले केही बताएको छैन ।
सेतो सुनको रुपमा लिइएको पानी आयोजनामा जम्मा हुँदा त्यसबाट भारतले नेपाललाई उचित मूल्य तिर्नुपर्ने जानकारहरुको भनाइ छ ।
तर, यसबारेमा नेपालले हालसम्म भारतसँग बुझिने गरी कुनै पनि प्रस्ताव राखेको छैन । आयोजनामा पानी जम्मा भएर बस्दा हिउँदमा समेत बर्षाकालमा जत्तिकै पानी उपलब्ध हुन जान्छ ।
नेपालले पानी उपलब्ध गराए वापत भारतबाट उचित रकम माग गर्नुपर्ने विषय प्रखर रुपमा उठेको छ । तर, यसबारेमा कुनै छलफल भएको आफूलाई थाहा नभएको ऊर्जा मन्त्रालयका एक पूर्व सचिवले जानकारी दिए ।
विशेषगरी लोड सेन्टरको रुपमा काठमाडौं, पोखरा, नारायणगढ जस्ता शहर नजिक भएकाले पनि आयोजना महत्वपूर्ण रहेको छ । तर, निर्माणको मोडालिटी तय हुन नसक्दा लागत भने बढ्दै गएको छ ।
शुरुवाती लागत (सात वर्ष पहिले) १ खर्ब ६२ अर्ब हुने भनिएको थियो । डा वाग्लेको समितिले दिएको प्रतिवेदनमा १ खर्ब ९० अर्बको हाराहारीमा लागत लाग्ने भनिएको थियो ।
पछिल्ला दिनमा लागत बढेर २ खर्ब माथि पुगेको बताउन थालिएको छ । आयोजनाको मोडालिटी तय नभएकाले लागत अझै बढ्ने देखिन्छ ।
यसबाट आयोजनाको लागत बढी भयो र सम्भाव्य भएन भने आयोजना पुनः नबनाउने खेल पनि हुन सक्ने स्थानीयबासीको आशंका छ ।










उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया