३८ क्विन्टल सुन प्रकरण : ‘हात्ती आयो हात्ती आयो फुस्स’
गोरेसहित ४८ जनाले पाए सफाई

काठमाडौँ । मंगलबार जिल्ला अदालत मोरङले एउटा फैसला सुनायो । जुन फैसलाका कारण नेपालभर हलचल मचिएको छ । उक्त फैसला थियो सनम शाक्य हत्या प्रकरणमा संलग्न ६ जनालाई जन्मकैदको सजाय । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चुडामणी उप्रेती उर्फ ‘गोरे’सहितका ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ ।
नेपालको साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या एक अर्काेमा अन्तरसम्बन्धित छन् । सनम शाक्यको हत्यासँगै खुलेको साढे ३३ किलो सुन तस्करीको अनुसन्धानका क्रममा गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिले नेपालमा ३ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो ।
मंगलबार जिल्ला अदालत मोरङले गरेको फैसलामा सनम शाक्यको हत्यालाई मात्रै गोरेसहित ६ जनालाई जन्म कैदको फैसला गरेको हो र अन्य दुई जनासहित ८ जनालाई दोषी ठहर भएका छन् । तर सुन प्रकरणमा पक्राउ परेका ‘गोरे’सहित सबै जनाले सफाई पाएका छन् । अदालतले गरेको फैसला अनुसार ३८ क्वीन्टल सुन प्रकरण ‘हात्ति आयो हात्ति आयो फुस्स’ भनेझै भएको छ ।
४८ जनाले पाए सफाई
साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च प्रहरी अधिकृतसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमा गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएका छन् ।
डीआईजी (तत्कालीन एसएसपी) दिवेश लोहनी, एसएपपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, पूर्व डीआईजी गोविन्द निरौला, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्काले सफाइ पाए ।
विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, गोरेकी श्रीमती निरु भन्ने नर्वदा खरेल उप्रेती, चाचाजी भन्ने चेतनाथ भण्डारी, र प्रमोदबहादुर श्रेष्ठले सफाइ पाएका छन् ।
यसैगरी हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलौगे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले सफाइ पाएका छन् ।
त्यस्तै अमरमान ढंगोल, मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्काले सफाइ पाएका छन् । भने २१ जना अझै फरार छन् ।
४८ जनाले सफाई पाउनु र अन्य २१ जना फरार भएको चित्रले समेत यो घटनाबीचमै बिलय भएको भन्ने आकलन गरिइएको छ ।
सुन प्रकरण के हो ?
०७४ साल माघ ९ गते फ्लाई दुबईको विमानबाट चुडामणी उप्रेती ‘गोरे’को समुहले तस्करी गरेर ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट बाहिरिएको थियो । ०७४ फागुनमा काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट सुन लुटिएको तस्कर समूहलाई भरियाले ‘रिपोर्ट’ गरेका थए ।
भरियामध्येका थाई एयरवेजका बरिष्ठ टेक्निसियन सानु वनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । सुन गायब गरेको आरोपमा गोरेको समूहले ०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिई सनम शाक्यको हत्या गरेको थियो । उर्लाबारीको जंगलमा यातना दिएको भिडियो समेत सार्वजनिक भएको थियो ।
यातनाबाट शाक्यको मृत्यु भएको सूचना तस्कर समूहका ‘गोरे’ले अपराध महाशाखाका सई बालकृष्ण सञ्जेललाई दिए । धरानबाट सनमको शव बरामद गरेर बिराटनगर लगेको थियो ।
शव भेटिएको घटनास्थल परिवर्तन गर्न आदेश गरेको भन्दै समितीले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीको भूमिकामाथि प्रश्न उठाएको थियो । त्यसपछि लोहनी पनि विवादमा तानिएका थिए ।
०७५ वैशाख १९ गते सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम सुन अवैध रूपमा आयात गरिएको दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । मुद्दामा सोही बराबरको बिगो माग–दाबी गरिएको थियो ।
कहाँ पुग्यो सुन ?
गोरेले तस्करी गरेर ल्याएको करिब ७५ प्रतिशत सुन मोहन अग्रवालले खरिद गर्ने गरेको बताइएको थियो । त्यस्तै पोद्धारले लामो समयदेखि तस्करीको सुन जनकपुर हुँदै भारत पठाउने गरेको समितीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।
काठमाडौंको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको सुन २०७५ पुसमा भारतको कोलकतामा भेटिएको दाबी गरिइएको थियो । तर, सुन नेपाल ल्याउन कुनै पहल गरिएन ।
भारतीय डीआरआई (राजस्व अनुसन्धान विभाग)ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कोलकाता हाईवे स्थित दानकुनी टोल प्लाजामा ३३ किलो सुन बरामद गरेको थियो ।
मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको सुनसहित दुईजना नेपालीलाई पक्राउ गरिएको कलकत्तास्थित महावाणिज्य दूतलाई भारतले पत्र पठाएको थियो । तर यसबारे कुनै चासो देखाईएन । फलस्वरुप घटनामा संलग्न ४८ जनाले सफाई पाएका छन् । यदी सो सुन नेपाल ल्याईयो भने पुनः अनुसन्धानले तिव्रता लिने र फैसलाले दोषी ठहर गर्न सक्ने डरका कारण उक्त सुनलाई गुपचुप बनाइएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया