माडी पशु अस्पतालको सञ्चालनमा
काठमाडौँ । माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो ।
आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । आयोजना निर्देशक डा. उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गरेका थिए । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।
नेपालमा नै पहिलोपटक स्थानीय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले ९० लाख रुपैयाँको लागतमा निर्माण गरेको सो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ ।
साथै पशु पन्छीको बहिरंग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने उनले जानकारी दिए । अस्पतालमा एक जना पशु विज्ञ चिकित्सकसहित विभिन्न रोगका विशेषज्ञ व्यक्तिले सेवा दिने छन् ।
यस अस्पतालबाट निकट भविष्यमा नै रगत परीक्षण, भिडियो एक्सरे, कल्चर सेवालगायतका सेवा दिने तयारी गरिएको ढकालको भनाइ छ ।
प्रतिक्रिया