शनिबार, फागुन ३, २०८१

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध सडक

मेरोन्यूज २०७८ असोज २५ गते ९:३६

काठमाडौँ । बाढी र पहिरोले जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिनापछि खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुले पनि लामो समय चल्न सकेका थिएनन् ।

Advertisement
IMEnabil

स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन् । स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो । वर्षाले अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगर पालिकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रघुगंगा गाउँपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । “केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन”, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने ।

अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा पनि कुनै समस्या नभएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मंगला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमित रुपमा सञ्चालनमा छ ।

अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडक खण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

त्यसैगरी बेनी–रत्नेचौर–बागलु, बागलु–रत्नेचौर–भकुण्डे, बेनी–मालढुंगा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया