सोमबार, मंसिर १७, २०८१

कथा

हृदयको गित

अस्मिता सुवेदी २०७८ असोज २९ गते १५:५०

यसपालीको विजया दशमीमा घरमा टिका थाप्ने कार्यक्रम नभएकोले फुर्सदमै थिए । अफिसमा त मैले पहिल्यै बिदा स्वीकृत गराएकोले धेरै वर्षपछिको दशैमा आनन्दले घरपरिवारसंग फुलटाइम रमाउने योजना बनाएको थिए । सप्तमीको दिन घरमा भएका कागजात तथा सानो पुस्तकालय व्यापक सरसफाई गर्ने योजना मुताविक काम चल्दै थियो । यस्तैमा मेरो दराजको एक साईडमा कलात्मक हस्तलिखित चिठी फेला प¥यो । खोलेर हेरे, ओहो यो त मेरो मास्र्टस गर्दाको साथि जर्मन साथि जयाको पो हो त !

Advertisement

मलाई करिब एक वर्ष पहिला जर्मनीमा मास्र्टसको ग्राजुएसन डे को दिन उसले यो पत्र हातमा थमाउदै दिएकी थिई । भन्थी तिम्रो न्यारेसन स्किल मन पर्छ भ्यायौ भने राम्रो गरी पिूर्नलेखन गर है । उसबेला हस् भने पनि पछि मैले यो कुरा भुसुक्कै बिर्सेछु । मेरो दुईवर्षे जर्मन बसाईमा उ एकदम राम्रो साथि बनि । एक दिन मैले तिम्रो अगाडिको नाम त नेपाली नाम हो, तिम्रा मातापिता पक्कै नेपाली मुलको हुनुपर्छ भन्दा उसले अनभिज्ञता जनाई । त्यसअघि उसले हेक्का नगरेको हुनुपर्छ, घरमा सोधिछ क्यारे । खसागरी, मेरो नाममा त मिस्ट्री जोडिएको रैछ नि । तिमीसंग सेयर गर्छु कुनै एकदिन भनेकी थिई पछि अनुकुल मिलेन । मैले पनि याद गरीन, उसलाई सम्झाउने । हाम्रो ग्राजुएसन सकिएपछि सबै आ आफ्नो बाटो लाग्यौ । कहिलेकाँही सामाजिक सञ्जालमा हेल्लो हाई चल्छ । एकफेरी नेपाल आउँछु, तिम्रो देश घुम्न भनेकी थिई । सम्झे तिमी अक्टोवरमा समय मिलाउ, हाम्रोमा फेस्टिभलको समय हुन्छ, तिमीलाई म नेपाल घुमाई दिउला ।


उसको अर्को योजना किताव प्रकाशन गर्ने थियो । त्यो पनि बहुभाषामा, नेपाली भाषामा पनि प्रकाशन गर्ने हो, भन्दै मलाई सहयोगको अपेक्षा गरकी थिई । खै कस्तो के खालको किताब हो त्यो त थप कुरा हुन पाएको थिएन । अस्ति पनि एउटा इमेल गरेकी थिई लामै । इमेलमा आफ्नो नेपाल आउने चाहना भएको दोहो¥याएकी थिई । ओहो म त मेरो साथि अर्थात जया मिलर स्मिथको यादमा पो डुवेछु !
दराजबाट उक्त चिठीको खाम खोलेर हेरे —

प्यारी विजया,
आकाश जत्तिकै माया अनि शुभाषिस ।
यस धरतीमा संगै पाइला टेकेकी दिदीको तर्फबाट न्यानो माया स्विकार गर है ।
हामी एउटै मूहानबाट संगै संसार देखे पनि एकले अर्कोलाई कहिल्यै देख्न पाएनौ ।
नियतीले अझ भनौ हाम्रो (अ)भाग्यले तोते बोली आमाको भाषामा सिक्न पाएनौ, संसारमा सबै भन्दा धेरै पूजिने आमाको त मूखै देख्न पाएनौ । बाबाको माया र स्नेह के हो भोग्न पाएनौ ।
अनि नाता गोता, छरछिमेकी तथा आफन्तको बोली ब्यवहार क्यै बुझ्न पाएनौ । एउटै नदीको दूइ किनारा जस्ता भएर बाच्यौ । सायद एकले अर्को लाइ नचिनेपनि वर्षायाममा झोक्किदै आउने बाढीले झै एक अर्कालाइ रुझाएर लाग्यो । त्यक्तिन्जेल पनि हामी आकाशलाइ फर्केर हेर्यौ तर हामीलाइ भिजाउने त एउटै पानि रहेछ । आखिर पानि संगै जोडिएको संम्बन्ध भएर होकी ।
विजया,
प्यारी बैनी ।
यसरी तिमीलाई बैनी भनी सम्बोधन गर्नेे दिनको खूशी सायद म शब्दले बर्णन गर्न सक्दिन होला । तर पनि अन्जान शहरको कुनै अर्पाटमेन्टको पचासौ तलाबाट आफ्नो जन्मथलो अनि जन्मदाताको याद आएको बेला रेशमी पर्दा उघारेर आकाशमा हेर्नु टलल घामले छोडेको किरणको स्पर्शलाइ आमाको ममता संग तौलनु जसरी मैले आमाको यादमा आकाशमा भएका घामजुनलाइ हेर्ने गर्छु । आखिर घाम त संसारमै एकै त हो नी जता बाट हेरेपनि । तिमी र म जन्मिएको एकाध घण्टामै हाम्री आमाले हामीलाइ सदाको लागि छोडनुभएको कुरा जब पहिलोपटक अरु कसैको मुखबाट सुने त्यो दिन मेरो लागि अत्यन्तै दुखदायी र र्ददनाक थियो । त्यसपछिका केही महीना मैले डिप्रेसनको बिमारीको औषधिलाइ साथ दिनुपर्यो । पछि बिस्तारै आफै सम्हालिदै गए । अझ मजस्तै अभागी यो दुनियामा अरु पनि कोहि छ भन्ने थाहा भएपछिका केही बर्ष पानिमा हेर्दा देखिने आफुजस्तै तस्बिरसंग तिमे अनुहार कल्पन्थे अनि कुनै जुनिमा भेट होला की नहोलाको अन्धकारमा रुमल्लिए आफै निसासिन्थे ।

बैनी,
हाम्रो परिस्थितिले आपसमा जोडिएर पनि टाढिन परेका बाध्यता अरुका लागि रमाइलो किस्सा होला । तर हामीलाइ विगत झल्यास्स पारीदिने तितो यर्थाथ अनी आफ्नी आमाको अभाव ब्युताइदिन्छ । विषमबेलामा पनि अबोध हामी चिचिला लाई आफ्नै कोपिला छानेर माया ममताको कत्ति कमि नगराउन खटिएका हाम्रा आफ्ना आफ्ना परिवारको स्नेहले सधैभरी आभारी गराउनेछ । संसारमा आफुलाइ भन्दा बढी माया गरिरहेका बाबुआमा आफ्ना बायोलोजिकल अभिभावक नभएको थाहा अचानक पाउदाको क्षण कस्तो हुन्छ, मैले जस्तै तिमीले पनि थाहा पाएकी छयौ होला यतिबेलासम्म । मेरो मनमा अचेल हमेशा एउटै कुराले डेरा जमाएको छ, जस्लाई मैले मेरो जीवनकै एक अभिन्न लक्ष्य बनाएको छु । आशा गर्छु म जुन उदेश्य लिएर अघि बेढेको छु, त्यो प्राप्त हुनेछ ।

म आफ्नो वास्तविक अस्तित्वको खोजीमा असाध्यै तड्पिएकी छु । मेरा लक्ष्य उदेश्य र प्राप्ति नै मेरो वास्तविक अस्तित्वको खोजि हो बैनि । जसमा मेरा नन बायोलोजिकल बुबाआमाको साथ पाएकी छु । उहाँहरुको सहारा मेरो जिवनमा कति ठूलो छ भन्ने कुरा मात्र तिमी बुझ्न सक्थ्यौ, किनकी खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ ।
प्यारी बैनि,

तिमीलाई सम्बोधन गरेर राखेका अनगिन्ती चिठीहरुले मेरो मनको कोठामा महत्वपुर्ण स्थान बनाएका छन । तिमीलाई सम्वोधन गरेर मैले लेखेका हरेक चिठिलाई मैले संग्रह गरेर राखेकी छु । जसलाई मैले ह्दयको गित शिर्षकमा लिपिबद्द गर्ने गर्दछु । आशा गर्छु यिनै लिपिबद्ध ह्दयका गितले तिमी र मेरो मिलनको कथा लेख्नेछन । जसले तिम्रो र मेरो सुरुवाती दिन देखिकै कथा खोजेर भन्नेछ । मैले मेरो जानकारीमा आएजती सत्य तथ्य सबै सुरक्षित गरेकी छु, ता की त्यसले म जस्तै अस्तित्वको खोजीमा रहेकी प्यारी बैनिको पनि जननी र जन्मभुमिको प्यास मेटोस् । म आफ्नो उदेश्य प्राप्तीको करिब करिब नजिक पुगेको मेरो अति बृद्धअवस्थामा रहनु भएका हालका मातापिताले आफ्नो धमिल स्मरणमा रहेको कुरा अनुसार स्पष्ट हुन्छ ।

हाम्रो बिगतमा फर्किन आजभन्दा करिब चौतिस बर्ष अगाडीको समयमा पुग्नुपर्ने हुन्छ । जतिबेला नेपालीहरुको महान चाड बडादशैको आगमनले पहाडी गाउघर रमाइलो बनाएको हुन्छ । गाउका बाटाघाटा सफासुग्घर पारेर परदेशिएका गाउलेको स्वागतमा पर्खिएका हुन्छन । न गर्मी न जाडो सफा मौसम अनि कञ्चन आकाशले धर्तीको हराभरा नियालेको हुन्छ । वर्षाको पानिले भत्काएका घरगोठ रातो र सेतो कमेरो माटोले पोतेर टलक्क टल्काइएको हुन्छ । बच्चाहरु वर्षमा एकफेर नया नाना जीउमा उनेर दंग पर्ने समय पनि यहि हुन्छ । गाउठाउमा रोटे पिङ र लिंगे पिङ मा मच्चिदै वर्षमा एकदिन जमिन छोडनुपर्ने प्रचलनले युवाहरुमा बाबियोको डोरी बाट्ने कला सधै ताजै रहेको हुनुपर्छ । साथै खेतबारीमा पाक्नै लागेका अन्नबाली हेरेरै प्रफुल्लित हुदा चाउरी परेका किसानका मुहारमा हर्षका डोरा ल्याउने बेला पनि यहि नै हुन्छ । ठिक यस्तै बेलामा पश्चिम नेपालको एक पहाडी गांउमा तिमी र मेरी आमा दोजिया भएकोले घरमा एउटा रोजा च्याङ्ग्रा ३रमा ठिक्क पारीएको थियो रे । सुत्केरी भएपछिको आमाको खान्कीलाई । मोटरबाटोले नछुएको उक्त गाउदेखि अस्पताल अथवा प्राथमिक स्वास्थ्य केन्द्र पुग्नै दुई दिनको यात्रा गर्नुपर्ने अवस्थामा हाम्री आमालाई व्यथाले चापेको रैछ । सुरुमा त सकेसम्म आफै खटाएर बसेकी आमा अत्यधिक रक्तश्रावले नाजुक भएपछि बल्ल बल्ल आमाको कोखबा६ तीन वटा सन्तान एकसाथ निकालिएछौ । जसमध्ये एकजनाहाम्रो एक दाजुको गर्भमै मृत्यु भएको रहेछ, बाकी हामी दुई जिउदै जन्मिएका रहेछौ । यसरी स्वास्थ्यसेवाको पहुचबेगर तिम्ल्याहा सन्तान जन्माएकी आमा आफु सकी नसकि हामीलाई दुध चुसाउदा चुसाउदै चिसो बनेको कथा सुन्दा म अझै सम्हालिन सक्दिन । सधै सफा र कञ्चन रहने त्यस बेलाको मौसम पनि अनौठो गरी बदलिएको रैछ । घनघोर वर्षाले गर्दा कुनै स्वास्थ्य संस्था पुग्न नपाई हाम्री आमालाई हामीबाट टाढा गराउन सायद भाविले यो सब संयोग जुटाएको हुनुपर्छ । सुन्दै मन रुवाईदिने यो घटना अब म थप सुन्न सक्दिन होला बैनि, यो सब लेख्न जरुरी छ जसले तिमी र मेरो साझा कथा बोक्छ । अनि हाम्रो मिलनबिन्दु बन्न सक्छ । हाम्रो जन्मलाई उल्लास बनाउन पर्खिएको परिवारमा नवजात एक शिशु र आमाको मृत्यु तथा अन्य दुई कलिला चिचिला जन्मिदै टुहुराभएको बिस्मात । यस्तो बज्रपातको सामना तत्कालिन हाम्रो परिवार र पलिे कसरी सम्हाल्नुभयो होला ? सम्झदा पनि जीउ सिरीगं हुन्छ । झन आमाबिनाका दुइ दुइ नवजातको पालनपोषण गर्नुपर्ने जिम्मेवारीवाट हाम्रा पिता अतालिएको अवस्थामा दशै मनाउन गाउ गएका कसैले हाम्रा पितालाई हाम्रो राम्रो भरणपोषण गर्ने संस्थाको नाउ सुझाएछन । त्यस्ता संस्थाको खोजिमा रहेका पिता बाल संगठन भन्ने संस्थाको जिम्मामा छाडेपछि तिमी र म छुटटाछुटटै बाबुआमाले हामीलाई आफ्नो सन्तानको रुपमा स्विकार गरी हामी आफ्नो असली पहिचान मेटाएर नया पहिचान र परिवारमा हुर्किन पुगेका रहेछौ ।

बैनि मेरा बयोबृद्द पिताले आफ्नो जिवनको उत्तराद्र्धमा मेरो वास्तविकता सुनाउदा मैले आफुलाई सम्हाल्नै सकेको थिईन । तर उहाको त्यो मायालु दयालु छत्रछायााबाट आफुले संसारकै उत्कृष्ट मध्येका शिक्षालयबाट उच्च शिक्षा हासिल गर्न सम्भव भएको तथा राम्रो संस्कारयुक्त वातावरणमा हुर्किन पाएको सत्य म कदापि भुल्न सक्दिन । साथै मलाई यस संसारमा ल्याईदिने आमासंग भेट नभएपनि जन्मदाता बुवासंग भेट होला कि भन्ने सानो आशा लिएर सम्पुर्ण तथ्य बटुल्दै हिडेकी छु । साथसाथै मेरी बैनि तिमीसंगको भेट पनि कसो नहोला भन्नेमा म विश्वस्त छु ।
बैनि आजलाई मेरो ह्दयको गित यत्ति नै थप अर्को भागको पत्रमा ।

उहि तिमीलाई देख्न र भेट्न नपाएकी जुम्ल्याहा दिदी
जया मिलर स्मिथ, बर्लिन ।

चिठी पढेपछि पो जयाको नामको रहस्य यही नै रहेछ की भनेर अनुमान गरे । अनि फटाफट ल्यापटप खोलेर उसलाई ईमेल गर्न थाले ।

प्रतिक्रिया