राति महिषासुरको प्रतिक खःमेय बध, आज बिहानैदेखि ब्रह्मायणीमा हजारौँको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले जात्रामा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आग्रह गरे पनि जात्रामा ब्रतालुको भीड लागेको हो ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा मंगलबार दिनभरि नै मेला लाग्ने गर्दछ ।
गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात राँगोलाई गए राति नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा शुरु हुने गर्दछ । यसैगरी नवमीको दिन मध्यराति मनाइने प्रसिद्ध खःमेय्अर्थात् राँगो जात्रा गएराति सम्पन्न भएको छ ।
धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई नवमीको राति बध गरी मनाइने परम्परा रहिआएको छ ।
महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ छ ।
नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् अर्थात् राँगोलाई गए राति तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभरि अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रह्मायणी मन्दिरमा पुर्याई देवीलाई चढाएर जात्रा मनाएका छन् । खःमेय् लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेय्सँगसँगै दौड्ने परम्परा रहेको छ ।
बध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ ।
यसअघि घटस्थापनाको रात ब्रह्मायणी, दोस्रो रात महेश्वरी, तेस्रो रात कुमारी, चौथो रात भद्रकाली, पाँचौँ रात बाराही, छैटौँ रात इन्द्रायणी, सातौँ रात चामुण्डा एवम् महाकाली, आठौँ रात महालक्ष्मी जात्रा मनाइएको छ भने नवौँ रात त्रिपुरासुन्दरीको पूजा एवम् आराधना गरी मनाइएको छ ।
लिच्छवीकालीन राजा आनन्ददेवले भादगाउँको सुरक्षाका लागि मध्यभागमा त्रिपुरासुन्दरी र चारैतिर अष्टमातृकादेवीको स्थापना गरिएको कथन रहेको संस्कृतिकर्मीको भनाइ छ ।
विजयादशमीमा प्रत्येक रात भक्तपुरका बासिन्दाले परम्परागत रूपमा बाजागाजासहित शक्तिपीठहरूमा गएर जात्रा मनाउने गर्दछन् ।

















अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया