जनकपुर भ्रष्टाचार प्रकरण
काठमाडौंमा कर्मचारीका पक्षमा: जनकपुरमा कर्मचारीविरुद्ध प्रदर्शन

काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाममा भ्रष्टाचार अभियोगमा खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयका कर्मचारीको बदनाम गरिएको भन्दै काठमाडौंमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।
निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र नेपाल इन्जिनियरर्स एशोसिएसनको आयोजनामा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचार गरेको अभियोगमा खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहालाई विहीबार नाङगो बनाएर हिलो छ्यापेर सडकमा डुलाएका थिए ।
उक्त घटनापछि प्रहरीले कर्मचारीलाई भ्रष्टाचारी भन्दै सडकमा डुलाउने काम गरेको भन्दै १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमविक्रम कुशवाहा, विजयकुमार यादव लगायत छन् ।
उक्त घटना कर्मचारीमाथि भएको नृशंस र अक्ष्यम्य आपराधिक कुकर्म भन्दै काठमाडौंमा कर्मचारीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
काठमाडौंमा कर्मचारीका पक्षमा प्रदर्शन भइरहँदा जनकपुरमा भने शुक्रबार भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उक्त आन्दोलन भ्रष्टाचार अन्त्यका लागि भएको भन्दै पक्राउ परेका सबैलार्य तत्काल रिहा गर्न माग गरेका छन् ।
भ्रष्टाचारी खुलेआम घुम्ने तर भ्रष्टाचारीको विरोध गर्ने जनतालाई पक्राउ गर्ने काम भएको भन्दै राउतले सरकारको निन्दा गरेका छन् ।
पक्राउ गरिएका १७ जनालाई रिहा नगरे जनआन्दोलनले भीषण रुप लिने राउतले चेतावनीसमेत दिएका छन् ।
पक्राउ गरिएकाहरुलाई रिहा गर्न दबाब दिनका लागि राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ ।
प्रतिक्रिया