शनिबार, फागुन ३, २०८१

‘एक जनाको मात्रै किन राजीनामा श्रीमान् ?’

मेरोन्यूज २०७८ कार्तिक ९ गते १४:०५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक जनाको मात्र किन राजीनामा श्रीमान् ज्यू ? भनेर सर्वोच्च अदालतका न्यायाधिशलाई प्रश्न गरेका छन् । एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको मात्र राजीनामा किन मागेको भन्दै प्रश्न गरेका हुन् ।

Advertisement
IMEnabil

ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा परमादेश दिने पाँचै जना न्यायाधिशहरुले राजीनामा दिए राम्राे हुने बताए । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा अदालतको मानमर्दन भएको बताए ।

उनले भने,‘न्यायाधीशहरू आफैं कसले के(के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा श्रमीन ज्यू ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

ओलीले न्यायाधिशको यस्तो हर्कतले सर्वोच्चको गरिमा घटेको बताए । ओलीले भने, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने, यो राखे आफू नबस्ने भन्ने, बारले इजलास गठन गर्ने, अधिवक्ताले इजलास गर्ने, पोल खोलाखोल गर्दै गर्ने, यो ठीक भएन ।’

गत असार २८ गते प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले देउवाको पक्षमा परमादेश दिएको थियो । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा भंग गर्ने कदम मिलेको नदेखिएको ठहर गर्दै त्यससम्बन्धी सबै निर्णय उत्प्रेषणका आधारमा बदर गरिदिएको थियो ।

सोही फैसलालाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनमतबाट नभई परमादेशबाट प्रधानमन्त्री भएको भन्दै आलोचना पनि गर्दै आएका छन् ।

प्रतिक्रिया