बुधबार, मंसिर १९, २०८१

वागमति प्रदेशमा मत विभाजन आज, विपक्षको सरकार बन्ने निश्चित

मेरोन्यूज २०७८ कार्तिक १० गते ८:०५

काठमाडौँ । वागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछन् । बुधबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वसको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि विश्वासको मत लिन लागेकी हुन् ।

Advertisement

अल्पमतमा परेपछि शाक्यले गत असोज २४ गते विश्वासको मत सम्बन्धिको प्रस्ताव प्रदेशसभामा पेश गरेकी थिइन् । मुख्यमन्त्री शाक्यले प्रस्तावमाथि गत विहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभा सदस्यसँग आफ्नो पक्षमा मत दिन आग्रह गरेकी थिइन् । सत्तारुढ दल एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारणले सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन दुई पटक सारेका थिए । आज हुने मतदानका लागि सत्ता पक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाएको बताइएको छ ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । यस्तै विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मत प्राप्त गर्न ५५ सांसद आवश्यक पर्छन् । प्रदेश सभाको अंक गणित अनुसार वाग्मती प्रदेशमा विपक्ष गठबन्धनको सरकार बन्ने निश्चित छ । गठबन्धनले आगामी मुख्यमन्त्रीका लागि एकीकृत समाजवादी वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सारेको छ । त्यहाँ एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आधा–आधा कार्याकाल सरकार चलाउने सहमति भएको थियो ।

मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा रहेका साना दलहरुले समर्थन गरेपनि विश्वसको मत पाउने देखिदैन । प्रदेशसभामा बहुमत रहेको एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा प्रदेशसभाका १३ सांसदले एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरेपछि अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री भएको दुई महिनामा पदमुक्त हुन लागेकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया