मंगलबार, फागुन १२, २०८२

शीर्ष नेताहरुलाई आफ्नै निर्वाचन क्षेत्र असुरक्षित !

कसैलाई गठबन्धनको आश, कसैलाई सर्वेन्द्रको त्रास

मेरोन्यूज २०७८ कार्तिक १२ गते १९:२८

काठमाडौं । नेकपा एमालले चितवनमा दशौं महाधिवेशन गर्ने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगे । चितवनमा उनी तीन दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा घुमिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भलाकुसारी गरिरहेको विकास निर्माणको अनुगमन गरिरहेको जस्ता चित्रहरु देखिन थालेका छन् । चितवनमा बसेर उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राम लक्ष्मण भिडाइदिएको जस्ता अभिव्यक्ति दिए । आफूले चितवनबाटै निर्वाचन लड्ने पनि बताए ।

एमालेलाई आफ्नो चिन्ता भन्दा पनि मेरो चिन्ता भएकै कारण चितवनमा दशौ महाधिवेशन गर्न लागेको भन्दै प्रचण्डले अर्को अभिव्यक्ति पनि दिए । जे–जे अभिव्यक्ति दिएपनि अहिले उनी आफ्नो निर्वाचन क्षेत्रको बारेमा चिन्तित रहेको प्रतीत हुन्छ ।

केही दिन अघि सुकुटे पुगेर आराम गरेका प्रचण्डले चितवनमै पुगेर अहिलेको सत्तारुढ गठबन्धनमा नेकपा विप्लव समूहलाई पनि ल्याउने दावी गरे । उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताउदै एमाले र केपी ओली एक्लिने संकेत गरे ।

जम्बो गठबन्धनको भोट बटुल्ने प्रचण्डको सपना

‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउनेछौ’, माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’

उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।

प्रचण्ड जानुअघि नै चितवनमा एमालेले दशौं महाधिवेशनको तयारी समिति बनाएर चहल पहल शुरु गरेको छ । २०६४ सालमा चितवनबाट निर्वाचित भएका रामबहादुर थापा बादललाई एमालले मूल व्यवस्थापन समितिको संयोजक बनाएर दशौं महाधिवेशनको तयारी थालेको छ । प्रचण्डका क्षेत्रमा बलिया प्रतिस्पर्धी रहेका राप्रपाका विक्रम पाण्डेको पनि चहलपहल कमजोर छैन । त्यसकारण चितवनमा प्रचण्डलाई आफ्नो क्षेत्र गुम्ने खतरा रहेको छ ।
२०७० सालको निर्वाचनमा काठमाडौबाट पराजित भएपनि सिराहबाट प्रचण्ड थोरै मतले विजयी भएका थिए । २०७४ सालमा चितवनबाट दुई दल मिल्दा पनि पाण्डेले प्रचण्डलाई बलियो चुनौति दिएका हुन् ।

ओलीलाई लिङ्देनको साथ नपाउँदाको भय

प्रचण्ड चितवन जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो निर्वाचन क्षेत्रमा तीन दिन विताएका थिए ।

कात्तिक ६ गते वडा अधिवेशन सकिए लगत्तै आफ्नो निर्वाचन क्षेत्र र झापा जिल्ला पुगेका ओलीले तीन दिन विताएर कार्यक्रम गरी काठमाडौ फर्किए ।

उनले त्यहाँ बस्दा ठूलो संख्यामा पूर्व माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराएको भन्दै प्रचारबाजी गराए । मेडिकल माफियाको रुपमा परिचय बनाएका प्रसाईँलाई पनि पार्टी प्रवेश गराए ।
झापामा राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेर आफ्नो क्षेत्रमा सबैभन्दा बढी मत बटुलेका ओलीलाई यसपटक पार्टी विभाजन भएकाले केही मत खस्केको अनुभूति भइरहेको छ ।

सरकारमा रहँदा सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा पठाएका थिए । ओली काठमाडौ आएपछि प्रचण्ड चितवन पुगेका हुन् ।

नेपालले एक वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रमा पाइला टेकेनन्

नयाँ पार्टी खोलेको माधवकुमार नेपाल भने एक सातादेखि काठमाडौबाहिर रहेका छन् । देशभर आफ्नै बलबुतामा एउटा पनि निर्वाचन क्षेत्रमा राम्रो उपस्थिति देखाउन नसक्ने अवस्थामा माधव नेपालले काग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीको गठबन्धन कायम हुनपर्ने अभिव्यक्ति दोहोर्याईरहेका छन् ।

देशदौडाहा रहेका नेपाल आफ्नो निर्वाचन क्षेत्र काठमाडौंमा २ मा नगएको करिब एक वर्ष भयो । पार्टीमा विग्रह आएदेखि नै उनी आफ्नो निर्वाचन क्षेत्रमा गएका छैनन् । तत्कालिन नेकपामा विग्रह नआउदासम्म नेपाल कुनै न कुनै बेला आफ्नो निर्वाचन क्षेत्र गइरहन्थे तर अहिले भने उनी गएका छैनन ।

रौतहटमा भने यसअघि नै छाडेर आएका नेपालका लागि आउदो निर्वाचन निकै कठिन हुने देखिएको छ । गठबन्धन दलहरुले सहयोग नगरेको अवस्थामा उनले चुनवा जित्न सक्ने आधार देखिदैन । त्यसकारण आउदो निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने सबैभन्दा बढी उनकालागि आवश्यक रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा मात्रै आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित रहेका देखिन्छ । उनी भने ढुक्क जस्तैछन् ।
कांग्रेसका अन्य नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला भने ढुक्क देखिदैनन । पौडेललाई आफ्नो क्षेत्रमा सधैं गोविन्दराज जोशीको पीडा खेप्दै आएका छन् । अहिले त नेकपा एकिकृत समाजवादीमा लागेका किसान श्रेष्ठले चुनौति दिइरहेका छन् । देउवा सरकारमा श्रेष्ठलाई मन्त्री बनाएकोमा पौडेललाई चित्त बुझेको छैन । उनले आफू विरुद्ध पार्टीभित्र बाटै षडयन्त्र शुरु भएको बताउदै आएका छन् ।

रामचन्द्र पौडेललाई सर्वेन्द्रको डर

तनहुँबाट निर्वाचन लड्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व आइजीपी सर्वेन्द्र खनाललाई एमालेमा प्रवेश गराउने भएपछि पौडेल झनै तनावमा रहेका छन् ।

कम्युनिष्ट पार्टी विभाजित अवस्थामा रहेको र राप्रपा एक भएको अवस्थामा सिन्धुपाल्चोकमा पशुपति शमशेरका लागि अनुकुल वातावरण तयार हुँदैछ । विगतमा थोरै थोरै मतले पराजित भएका राणाले यसपटक भने आफ्नो सक्रियता बढाएका छन् । उनले सिन्धुपाल्चोकका सबै दलका नेताहरु र आफ्ना कार्यकर्तासँग दिनहुँ भेटघाट गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ, युवराज दुलालको वा अन्य कोही कम्युनिष्टहरुबीच चुनावी भिडन्त हुँदा राणाका लागि अनुकुल हुने दावी छ । यद्यपि उनी आफै भने सिन्धुपाल्चोक आउजाउ गरेका भने छैनन ।

पार्टी विभाजनपछि रावलको शक्ति कमजोर

एमाले उपाध्यक्ष भीम रावल दुई महिनामा एक पटक सुदुरपश्चिम पुगिरहने नेता हुन् । पार्टी विभाजन भएपछि उनको शक्ति निकै कमजोर भएको छ । उनकै जिल्लामा पार्टीको अवस्था ज्यादै कमजोर रहेको छ । अछामका सांसद शेरबहादुर कँुवर नै अहिले माधव नेपालसँग छन् ।

सुदूरपश्चिमका धेरैजसो नेता कार्यकर्ता यसपटक रावलसँग छैनन । तर पनि शेरबहादुर देउवासँग मुकाविला गर्ने रावलबाहेक अर्को नेता पनि नभएकाले उनले आफ्नो साख कसरी जोगाउछन भन्ने प्रश्न उठिरहेको छ । हाललाई उनको निर्वाचन क्षेत्र पनि सुरक्षित नभएको अछामी नेता कार्यकर्ताहरुको दावी छ ।

मधेशबाट चुनाव जितेका नेताहरु पनि अलमलमै

तराई मधेशबाट निर्वाचन जितेका नेताहरु पनि अलमलमै रहेका छन् । विगतमा विभिन्न समिकरण बनाएर निर्वाचित भएका राजेन्द्र महतो र महन्थ ठाकुरका लागि पनि सुरक्षित निर्वाचन क्षेत्र छैन ।

सर्लाहीबाट धनुषा सरेका राजेन्द्र महत्तोलाई यसपटक निर्वाचन लड्ने क्षेत्रको खाँचो रहेको बताइन्छ । विगतमा विलेन्द्र नीधिलाई हराउन एमालेको अघोषित समर्थन पाएका महत्तोले यसपटक एमालेको साथ पाउने नपाउने निश्चित छैन ।
ठाकुरलाई कांग्रेसले सहयोग गरेको भएपनि वर्तमान सरकार बनाउने बेला कांग्रेसलाई असहयोग भएपछि ठाकुरसँग कांग्रेसका नेताहरु झस्किएका छन् । वाबुराम भट्टराईको पनि एकल मतले चुनाव जित्ने अवस्था छैन उनलाई पनि कांग्रेस लगायतको साथ चाहिन्छ ।

सबैभन्दा रमाइलो पक्षचाहिँ यसपटक वामपन्थी दलहरुको अवस्था र हैसियत के हुन्छ भन्ने प्रश्न उठेको छ । एमाले र माओवादी विभाजित भएपछि उत्साही बनेको कांग्रेसले गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, माधव नेपालको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादवको दललाई कति निगाह गर्छ भन्नेमै केन्द्रित हुनेछ ।

कांग्रेसहरुले एक्लै निर्वाचन जित्ने महत्वाकांक्षा राखेकाबेला गठबन्धन भत्कियो भने माओवादी र नेकपा एसका शीर्ष नेताहरु नै निर्वाचनमा पराजित नहोलान् भन्न सकिन्न ।

प्रतिक्रिया