वर्षौपछि सवारी साधन भेटिदा पनि सन्तुष्ट छैनन् सवारीधनी
अधिकांश मोटरसाइकल र स्कुटर चोरी
काठमाडौं । बिहिबार दिउँसो नवराज बस्नेतको मोबाइलमा घण्टी बज्यो, नवराजले फोन उठाए, फोनबाट आवाज आयो ‘नवराजजी, म महानगरीय ट्राफिक महाशाखाबाट बोलेको । हजुरको मोटरसाइकल फेला परेको छ ।’ उनी केहीबेर अत्तालिए र प्रतिप्रश्न गरेँ, ‘कहिले भेटाउनुभयो ?’ उताबाट आवाज आयो, भोलि महाशाखामा आउनुस्, सबै कुरा त्याहाँ नै भनौँला ।
उनको मोटरसाइकल चार वर्षपछि कसरी फेला पर्यो होला ? उनको मनमा प्रश्न दोहोरिरह्यो । उनी शुक्रबार महाशाखा पुगे र ४ वर्ष अगाडि हराएको आफ्नो मोटरसाइकललाई देखेर खुसी भए अनि दुःखी पनि भए । ०७२ साल असार १० गतेका दिन भक्तपुरको साबिक सिपाडोलबाट हराएको उनको मोटरसाइकलको अवस्था र चोरी गर्ने व्यक्तिको पहिचान हुन नसक्दा उनी दुःखी भएका हुन् ।
०७२ साल असार १० गतेका दिन भक्तपुर जिल्लाको साबिक सिपाडोलबाट बा ६० प ३१७९ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल पार्किङ गरेको अवस्थामा हराएको थियो । सवारीधनी नवराजले मोटरसाइकल हराएको केही घण्टामा नै प्रहरीलाई खबर गरेका थिए । त्यसको चार वर्ष चार महिनापछि मोटरसाइकल भेटिएको हो ।
उनी आफ्नो मोटराइकल भेट्दा खुसी त छन् तर आफ्नो मोटरसाइकल चोरी गर्ने व्यक्तिको पहिचान हुन नसक्दा र आफ्नो सवारीको अवस्थालाई देख्दा उनी धेरै दुःखी भएका छन् । उनले प्रहरीलाई धेरै धन्यवाद दिएका छन् । उनले प्रहरीको कामप्रति तारिफ गर्दै मेरोन्यूजसँग भने,‘ प्रहरीले यस्तो मेहनत गरेर आफ्नो सवारी फिर्ता गरेको छ त्यसको लागि धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु र नेपाल प्रहरीको अनुसन्धान त्यति फिका छैन भन्ने कुरा याहाँबाटै प्रमाणित हुन्छ ।’
उनले दुखी हुँदै भने– ‘प्रहरीको यो काम निकै उत्कृष्ट हो, आश मारिसकेको सवारीलाई ढिलै भएपनि ल्याउनु भयो तर पनि सवारीलाई चोरी गर्ने चोरलाई समेत फेला पार्न सकेको भए धेरै खुसी हुन्थेहोला । अब सवारीको खर्च धेरै निस्किन्छ । इन्स्योरेन्स हुनेहरुले त सहजै सुधार गर्न सक्छन् तर इन्स्योरेन्स नभएकाहरुका लागि त साह्रै गाह्रो पो हुन्छ ।’
सवारी साधान भेटिन्छन्, चोर भेटिदैनन्
सुदूरपश्चिम प्रदेश कञ्चनपुर घर भएका धिरजकुमार गिरीको ०७७ साल मंसिर १७ गतेका दिन काठमाडौंको चाबहिलबाट मोटरसाइकल हराएको थियो । मोटरसाइकल हराएको आधा घण्टा पुग्दा नपुग्दै उनले प्रहरीमा मोटरसाइकल हराएको निवेदन दिए । उनले निवेदन दिएको झण्डै एक वर्षको अवधिमा उनले आफ्नो सवारी फेला पारेका छन् ।
हराएको मोटरसाइकल फेला पर्दा खुसी त भएका छन् तर उनी सन्तुष्ट भने छैनन् । उनले आफ्नो सवारी हराए लगत्तै सीसीटीभीबाट हेरे तर सीसीटीभीमा सवारी लानेको अनुहार नदेखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए । सवारी चोरी भएको प्रमाणित हुँदाहुँदै पनि प्रहरीले केही गर्न नसकेको उनको गुनासो छ ।
उनी सवारी पाएकोमा खुसी त छन् तर आफ्नो सवारी चोरी गर्न पत्ता लगाउन नसक्दा प्रहरीप्रति असन्तुष्ट रहेका छन् । आफ्नो सवारीलाई पुरानो बनाएको र सवारी नम्बर प्लेट नै परिवर्तन गरेको उनले बताए । उनले मेरोन्यूजसँग भने,‘मोटरसाइकल पुरै थोत्रो बनाइदिएछन्, नम्बर प्लेटपनि फेरिदिएछन्, चोरलाई समातेको भए अझ धेरै खुसी हुन सकिन्थ्यो होला तरै पनि प्रहरीको सफल्तालाई सलाम गर्नु नै पर्छ ।’ ब्लुबुक भएको सवारीहरुलाई मात्रै छोड्न उनले आग्रह गरेका छन् ।
चार महिनामा १ सय ७१ मोटरसाइकल भेटियो, १९ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोमवार हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन् ।
उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया र निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सञ्जिव शर्मा दासले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागि पठाएको समेत छ ।
किन हराउँछन् सवारी साधन ?
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सवारी धनी आफै सजग र जिम्मेवारी नभएका कारणले सवारी हराउने गरेको बताएका छन् । उनले सवारी हराउनुमा उचित प्रविधि र सवारी धनीको हेल्चेक्राईँको कारणलाई देखाएका छन् ।
उनले विशेषगरि सवारी धनी थप सजग एव जिम्मेवार नभएको कारणले सवारी हराउने गरेको बताएका हुन् । एसएसपी भट्टराईले सवारी हराउनुको प्रमुख कारण सवारी चालक वा धनीको लापरबाही रहेको कुरामा बढी जोड दिएका छन् ।
एसएसपी भट्टराईको कुराप्रति समर्थन जनाउँदै सवारी धनी धीरेन्द्र थापाले भने, ‘उचित प्रविधिको कमि र सवारी धनिको हेल्चेक्राईका कारणले नै सवारीहरु हराएको हो भन्ने कुरामा कुनै दुविधा छैन ।’
पछिल्लो समय स्कुटर चोरीका निवेदनहरु बढ्न थालेको महाशाखाको तथ्याङ्कले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकहरुले सवारी दर्ता किताव (ब्लुबुक) डिक्कीमै राख्ने गरेको हुन्छ । कतिपय अवस्थामा चाबीसहित स्कुटरहरु हराउने हुँदा चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरि निर्बाध रुपमा चलाउन, चेकिङ्गमा सोही ब्लुबुक देखाई छुट्न समेत सजिलो हुने गरेको महाशाखाको बुझाई रहेको छ ।
जथाभावी पार्किङ्ग नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ्ग नगर्न र थप अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।
बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिने र चोरीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ ।
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया